ट्राफिक व्यवस्थापनका लागि सीताराम हाछेथुका १० सुझाव

 पुस ११, २०७६ शुक्रबार ९:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

दिनहुँजसो गाडी दुर्घटनाको खबरले सबैलाई चिन्ता बढाएको छ । साँघुरा सडक, पैदल यात्रुमा चेतनाको कमी, सवारी चालकको लापरबाहीसँगै सुरक्षित सडकका लागि आवश्यक पूर्वाधारको अभावले ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । यातायातको क्षेत्रमा भएको विकाससँगै नयाँ–नयाँ चुनौती र जटिलता थपिँदै गएका छन् । 

समग्र यातायातको अवस्था र यात्रुले प्राप्त गरिरहेको यातायात सेवा सन्तोषजनक छैन । यातायात सेवा गुणस्तरीय, व्यवस्थित र यात्रुमैत्री हुन नसक्दा दैनिकजसो गाडी दुर्घटना भइ मानवीय र भौतिक क्षति हुने क्रम बढ्दो छ । 

पछिल्लो समय काठमाण्डौको ट्राफिक व्यवस्थापनका लागि केही सकारात्मक प्रयास भैरहेका छन् । तर यातायात सेवा गुणस्तरीय हुन अझ धेरै सुधार गर्न बाँकी छ । पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले दुर्घटना कम गर्न सडकमा ट्राफिक पूर्वाधार निर्माण र ट्राफिक व्यवस्थापनका लागि सरकारलाई सुझाव दिनुभएको छ–   

१. यातायात व्यवस्थापनमा सहज तुल्याउन काठमाण्डौ उपत्यकाका ८७ वटा चोकमा ट्राफिक बत्तीको व्यवस्था गर्न आवश्यक छ । ट्राफिक बत्तीले उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्यालाई समाधान गर्न सक्छ ।

२. सडक डिभाइडर राख्दा फराकिलो सडकमा पैदल यात्रुलाई बाटो काट्न सजिलो हुन्छ, यसले दुर्घटना घटाउँछ । 

३. आकाशे पुल र जेब्रा क्रसको सङ्ख्या बढाउनुपर्छ ।

४. सडक बत्ती राख्न जरुरी छ ।

५. सरकारले इन्धन कर बापत लिएको रकमको सानो अंश मात्र दुर्घटना कम गर्नको लागि छुट्याइने हो भने दुर्घटनाबाट हुने मृत्युदर र अङ्गभङ्ग हुने दरमा कमी ल्याउन सकिन्छ । 

६.सडकमा गाडीको चाप बढेका कारण बाटो फराकिलो पार्ने काम भइरहेको छ । तर फराकिलो सडकमा गाडी पार्किङ गर्ने प्रवृत्तिले समस्या निम्त्याएको छ ।     त्यसैले सडकमा पार्किङ खारेज नै गर्नुपर्छ ।

७. खोला किनारमा ‘करिडोर’ निर्माण गर्ने र सहायक बाटो बिस्तार गर्नुपर्छ, जसले गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा धेरै सहज हुन्छ ।

८. दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन वर्षका रुपमा हरेक वर्ष ट्राफिक शिक्षा दिने र विशेष कार्यक्रम गर्न जरुरी छ ।

९. सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । बस बिसौनी भएका ठाउँमा पनि सडकबाट पाँच फिट बाहिर निकालेर बनाउनुपर्नेमा त्यसो गरिएको छैन । जसले सवारी जाम गराउने हुँदा बस बिसौनी बनाउन सरकारले ध्यान दिनै पर्छ ।

१०. सरकारले यातायात क्षेत्र सुधारका लागि राम्रो र प्रभावकारी काम गर्ने व्यक्तिलाई उचित मूल्याङ्कन गरी राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्नुपर्छ ।

(हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ)

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया