कतारबाट फर्किएर दुई वर्ष नेपाल घुमेपछि फेरिएकाे पारसको जिन्दगी

 पुस ११, २०७६ शुक्रबार १६:५८:५१ | सन्जिता देवकोटा

झापा – कतारमा महिनाकै ९० हजार कमाइ हुने काम छाडेर नैपालमै केही गर्ने सोच लिएर नेपाल फर्किनु ।

नेपालमा थालेको काममा सफलता नमिलेपछि फेरि कतार जानु । तर तीन महिना पनि नपुग्दै दुर्घटनामा परेर एक महिना अस्पताल र ७ महिना क्याम्पमै आराम गरेर नेपाल फर्किनु । यो इलामका पारस काफ्लेको परदेश यात्रा हो । 

अनि, सम्भावना खोज्न एउटा झोला बोकेर पूर्वदेखि पश्चिमसम्म नेपालका भूभागमा एक्लै पुग्नु । र, सम्भावना बुझेपछि स्वदेशमा थालेको काममा छाेटो समयमै सफल हुनु । यो चाहिँ उहाँले स्वदेशमा पाएको सफलता ।

परदेशमा भएको काम छाडेर आउनु, फेरि परदेश जानु अनि दुर्घटनामा परेर फर्किनु । र स्वदेशमा सफल व्यवसायी बन्नु । पारस भन्नुुहुन्छ, ‘मेरो भागमा स्वदेशकै माटोमा पसिना बगाउनु थियो ।’

पारसलाई लाग्छ, पहिलो पटक विदेश जाँदा भएको कमाइमै मन भुलेको भए सायद आज एक सफल व्यवसायी बन्ने थिइनँ । आफ्नो मालिक आफैं बन्दाको अनुभूति गर्न पाउने थिइनँ । 

जेठ असारको घाममा त्यसमाथि पनि ग्यास प्लान्टको सुरक्षाको काममा खटिंदा पारस सोच्नुहुन्थ्यो, ‘जिन्दगी भन्नु यति नै रहेछ ।’ तर जिन्दगी त्यति मात्र कहाँ रहेछ र ? आज सोच्नुहुन्छ, पलपल गन्दै बाँच्दाको त्यही पलले त आज आफूलाई दुःख बुझ्ने मानिस बनाएको छ । ४३ जनालाई रोजगारी दिने, देशभरीका १० लाख किसानको मन जित्ने पौरखी किसान बनाएको छ ।

प्रायः मानिस जिन्दगीका सुखदुःख सुनाउँदा भावुक बन्छन् । आँखा आँसुले भरिन्छन् । तर झापाको बिर्तामोर्डमा रहेको एभरेष्ट कृषि कन्सलटेन्सीमा बसेर जिन्दगीका कथा सुनाउँदा पारस खुशी देखिनुहुन्थ्यो ।

दुःखी हुनुपर्ने कारण पनि के छ र ? उहाँसँग आज सबैथोक छ । विगतलाई सम्झेर दुःखी हुनु पनि किन र ? ‘सायद त्यति दुःख सहन परेको थिएन भने के हुन्थ्यो होला...,’पारस अनुमान लगाउन सक्नुहुन्न । 

कतार मेरा लागि विश्वविद्याल बन्यो

अकबरे खुर्सानी, चिया, कागती, अलैँची इलामको चिनारी नै हो । एसएलसी दिएपछि पारस पनि खुर्सानी र कागतीको व्यापारमा लाग्नुभयो । इलाम र पाँचथरका उत्पादन उहाँ, इलामकै फिक्कल, बिर्तामोर्ड, मोरङको विराटनगरदेखि भारतको दार्जलिङ, मिरिक र सिलगुढीसम्म लगेर बेच्नुहुन्थ्यो ।

खुर्सानी आफैं उत्पादन पनि गर्नुहुन्थ्यो । यो व्यवसायले लय लिइरहेको थियो । तर २०६२/०६३ को आन्दोलनले व्यवसाय गर्न अप्ठ्यारो पार्‍यो । गाउँमा बसेर काम गर्ने वातावरण बिग्रियो । 

गरिखाने विकल्प खोज्दा सबैले भने यस्तो बेला विदेश गएकै जाति । दार्जलिङभन्दा टाढा नगएको मानिस एक्कासी कमाउन परदेश जाने कुरा अत्यासलाग्दो थियो । तर देशको परिस्थितिभन्दा त परदेश नै सुरक्षित होला भनेर पारसले पनि विदेश जाने निर्णय गर्नुभयो । 

‘गाउँको मानिसलाई सहर त यसै बिरानो हुन्छ, त्यसमाथि विदेश कस्तो हुन्छ भन्ने त कल्पनामा पनि थिएन, ’ उहाँ परदेश लाग्दाको त्यो क्षण सुनाउनुहुन्छ ।

२०६२ सालमा कतार गएका पारसलाई काम म्यानपावरले भनेअनुसारकै मिल्यो । ग्यास कम्पनीमा सुरक्षा गार्डको थियो काम । तर न सुरक्षा गार्डसम्बन्धी कुनै तालिम, न अनुभव । काममा खटिइसकेपछि पो आपत आइलाग्यो । 

‘ग्यास प्लान्टको सुरक्षाको काममा खटाइयो, आएका गाडी र प्लान्टमा काम गर्ने श्रमिकको रेखदेख गर्नु, केही खतरा भएमा साइरन बज्छ भाग्नु भनिएको थियो,’ पारस सम्झनुहुन्छ, ‘कहाँ भाग्ने कहाँ जाने के थाहा, कति बेला ग्यास लिक हुने हो, कतिबेला मरिने हो जस्तो मात्र लाग्थ्यो ।’

देशमा आन्दोलनमा मरिन्छ कि भनेर परदेशिए पनि विदेशमै मरिने भइयो भन्ने चिन्ताले औधी सताउँथ्यो त्यो बेला । जेठ असारको भतभति पोल्ने घाम । अनि जतिबेला पनि मृत्युको घण्टी बज्न सक्ने ठाउँमा सुरक्षा दिनुपर्ने काम । अब त भागेर जाने ठाउँ पनि थिएन । 

ज्यानकै बाजी राखेर काम गर्दा कस्तो हुन्छ ? काम नजान्दा पनि सही तरिकाले काम गर्दाको चुनौती कस्तो हुन्छ अनि परिवार र देशबाट टाढा रहेर भविष्यका लागि एक्लै लड्दाको दुःख कस्तो हुन्छ ? पारसलाई लाग्छ, एकपटक परदेश जानेले यी कुराको अनुभूति गर्छ । 

‘यी सबै कुरा किताब बोकर कलेज गएको भए बुझ्ने थिइनँ, तर कतारले बिनाकिताब जिन्दगी पढाइदियो,’ पारस कतार आफ्नो लागि विश्वविद्यालय ठान्नुहुन्छ । 

परदेश जाँदा काँधमा ऋण हुन्छ । कमाउनैपर्ने बाध्यता हुन्छ । तर त्यहाँ भनेजस्तो वातावरण हुँदैन । अप्ठ्यारा अनेकन हुन्छन् । काम गर्न गएको मानिसले कामै नजान्दा के गर्ला, नजानेको कुरा सोध्न भाषा नै नजान्दाको कति उकुसमुकुस होला । 

‘छटपटीले नै मानिसलाई छिटो सिकाउने रहेछ,’ पारस भन्नुहुन्छ, ‘मैले ६ महिनाभित्र काम र भाषा सिकिसकेको थिएँ, त्यसपछि त कामको मेसो पाउन थालें नि ।’
 दुःख र सुख त एकै सिक्काका दुई पाटा न हुन । एकातिर फर्काउँदा दुःख त अर्कोतिर फर्काउँदा सुःख । पारसले सक्दो मेहनत गर्नुभयो ।  उहाँको मेहनतको कदर गर्दै कम्पनीले ग्यास प्लान्टबाट अफिसमा सारिदियो । अब त दुःख भए पनि जोखिम त कम भयो । 

४ सय २५ कतारी रियाल थियो बेसिक तलब । तर बिस्तारै कामसँगै तलब पनि बढ्दै गयो । पारसको कामप्रतिको लगाव र मेहनतले नै उहाँलाई एउटा लोकेशनको सुरक्षाको जिम्मेवारी दिइयो ।

उहाँसहित ९ जना सुरक्षा गार्ड थिए । समूह प्रमुखको जिम्मेवारी थियोे पारसको । फर्किने बेलासम्ममा उहाँको मासिक तलब २६ सय ५० कतारी रियाल भएको थियो । ओभरटाइम सबै गर्दा ९० हजार रुपैयाँ त मासिक हातमा पथ्र्यो ।

पारसकै शब्दमा भन्दा, कमाउन परदेश लागेको मानिसको सपना पूरा हुँदै थियो । तर पारसले यो बाटो बीचैमा छाडेर घर फर्किंनुभयो । पैसा नकमाउदा चाहिँ अनेकन दुःख सहेर कमाइ हुने दिन आएपछि घर फर्किनुको एउटै कारण थियो, ‘कतारले दिएको आत्मबल ।’

कम्पनीमा काम गर्दा सिकेको व्यवस्थापन र खटाइले उहाँलाई नेपालमा यति खट्दा धेरै गर्न सकिन्छ भन्ने लागेको थियो । नेपाल फर्किएपछि त्यही व्यवस्थापन र त्यही स्तरको सुविधा दिनेगरी सुरक्षा गार्डकै कम्पनी खोलौं भन्ने पनि लागेको थियो पारसलाई । तर साथीभाइ र आफन्तको सुझावमा उहाँको मन बहकियो । 

गाईबस्तु पाल्नुभयो । साथीभाइसँग मिलेर काठ व्यापारको काम पनि थाल्नुभयो । तर तरिका नजान्दा यो काममा घाटा व्यर्होन पर्‍यो । 

गाईबस्तुबाट त ठिकै थियो तर काठको काममा घाटा व्यर्होनुपरेपछि पारसको पाइला फेरि कतार नै मोडियो । सन् २०१३ मा उहाँ सुरक्षा गार्डकै काममा कतार जानुभयो । तर पहिले भन्दा कम्पनी फरक थियो । 

त्यो दुर्घटना.......

कम्पनी राम्रो थियो । सेवासुविधा पनि । तीन महिना पछि जाँच हुन्थ्यो । जाँचमा राम्रो गरेमा उहाँको पदोन्नति हुन्थ्यो । तर त्यसको अघिल्लो दिन कार्यस्थलमै गाडीले खुट्टाका पाँचै औंला पेलिदियो । त्यसपछि भने कतारमा कमाउने उहाँका सपना मात्र हैन ज्यान नै अपाङ्ग जस्तो भयो । 

त्यसपछिका एक महिना कतारको हमाद अस्पतालको बेडमा बित्यो । १० महिना आराम गर्नुपर्छ भनेका थिए डाक्टरले । 

‘चार चार दिनमा अस्पताल जानु पर्ने, के सोचेर गएको के भयो भयो,’ त्यो कहालीलाग्दो  क्षण सम्झँदै पारस भन्नुहुन्छ, ‘त्यसपछि मैले विदेशको सपना देख्न छाडिदिएँ, जे जति थियो त्यो त्यसैदिन गाडीसँगै पेलियो ।’

पहिले कतार जाँदा नै गरेको इन्स्युरेन्स कार्ड उपचार गर्न सजिलो भयो । कति खर्च भयो जान्नुहुन्न पारस, तर कम्पनीले पनि खर्च व्यर्होन परेन । 

तर यसपटक भने पारसलाई औधी पछुतो भयो । चाेट लाग्न त खुट्टामा लागेको थियो । तर महिनौं खाटमै दिनरात बिताउँदा त्योभन्दा चर्को घाउ मनमा लागको थियो । तर भइसकेका कुरामा सोचेर फेरि किन आफूलाई कमजोर बनाउने ।

‘त्यो दुर्घटनाले नै मलाई नेपालमा काम गर्न प्रेरित गर्‍यो, मलाई नेपालमै काम गर्न लेखेको थियो होला,’ पारस अहिले चित्त बुझाउनुहुन्छ । उहाँ रित्तो हात  सन् २०१४ मा नेपाल फर्किंभयो ।

अनि, झोला बोकेर सम्भावना खोज्न हिँडे

नेपालमा के काम गर्ने अन्यौल थियो । काठमाण्डौमा झण्डै पाँच महिना बिताउनुभयो । तर उपलब्धि शून्य रह्यो । मानिसपिच्छे कामका कथा र योजना हुन्थे । तर कुनै पनि योजना सफल भएन । 

कामभन्दा बढी कुरा हुने शहरमा बसेर के सफलताको सपना देख्नु ? शहरमा ठूला सपना थिए । तर सम्भावना कम । त्यसपछि पारस कसैले सम्भावना नदेखेको ठाउँ कर्णालीमा सम्भावना खोज्न एउटा झोला बोकेर निस्कनुभयो । 

पारसको योजनाबिनाको यात्रामा पनि योजना थियो । नेपाल घुम्ने र सम्भावना खोज्ने योजना । 

‘मानिसका चाहना के छन्, नेपालमा के सम्भावना छ मलाई यही बुझ्नुथियो,’ पारस सम्झनुहुन्छ, ‘तर मेरो यात्रा चाहिँ बिना योजनाको थियो, एउटा झोला बोक्यो, जहाँ पुगिन्छ त्यहीँ बस्यो, मानिसका कुरा सुन्यो बस् ।’ 

एक पटक निस्केपछि उहाँ ४० देखि ५० दिनसम्म लगातार हिँड्नुहुन्थ्यो। त्यो पनि एक्लै । 

मुगु, डोल्पा र रसुवा बाहेक सबै जिल्लादेखि गाउँ गाउँमा किसनाका घरदेखि खेतीसम्म पुग्नुभयो । दुई वर्ष लाग्यो उहाँलाई आफ्नो गन्तव्य भेट्न ।

‘के रहेछ, के गर्न नसकिने रहेछ र मैले गर्ने के हो भनेर मैले यही दौडानमा भेटें,’ पारस खुशी हुँदै भन्नुहुन्छ, ‘म त पहिले पनि किसान मान्छे मैले किसानलाई भेटें, उनीहरुका कुरा सुनें र त्यही कुरामा सम्भावना पनि देखें ।’

पूर्वी इलाममा अलैँचीको सम्भावना राम्रो थियो । इलामकै जस्तै हावापानी भएका पश्चिमका ठाउँमा अलैँचीको सम्भावना देख्नुभयो ।  दुई वर्ष हिँड्दा उहाँले गाउँका किसान र जिल्ला कृषि विकास कार्यालयको पनि विश्वास लिएर आउनुभएको थियो । त्यसैले फर्किएर उहाँले कम्पनी दर्ता गरेर काम सुरु गर्नुभयो । 

पहिलो काम पश्चिमका किसानलाई अचैँलीका विरुवा पुर्‍याउने थियो । उहाँले त्यो काम पूरा गर्नुभयो । किसानको विश्वासले नै उहाँलाई काममा थप उर्जा दियो । 

‘विरुवा पठाइदिनुस्, हामी काम गर्छौं भनेर मलाई दैलेखदेखिका किसानले आँखा चिम्लेर पैसा पठाउनुभएको थियो, मैले त्यही विश्वासलाई शक्ति मानेर काम गरेँ,’ पारस भन्नुहुन्छ । 

जबकी त्योबेला पारसको आफ्नो नर्सरी थिएन । बिरुवा कहाँबाट ल्याउने र सप्लाइ गर्ने भन्ने योजना पनि थिएन । तर भन्छन् नि, तँ आँट म पुर्‍याउँछु । त्यस्तै भयो पारसको हकमा पनि । 

किसानको आकर्षण देखेपछि उहाँले २०७३ सालदेखि आफैंले नर्सरी खोल्नुभयो । पहिलो नर्सरी बाग्लु्ङमा खोलेर विरुवा उत्पादन गर्न थाल्नुभयो । त्यही वर्ष उहाँले दैलेख र रुकुममा पनि नर्सरी खोल्नुभयो । 

बिस्तारै उहाँको नर्सरी व्यवसाय फस्टाउँदै गयो । जिल्ला कृषि विकास कार्यालयसँग पनि समन्वय गरेर उहाँले काम अघि बढाउनुभयो । 

अहिले उहाँको जम्मा ८ वटा नर्सरी छन् । ३ वटा बाग्लुङमा, ३ वटा प्युठानमा एक वटा रुकुममा र एक इलाममा छ । उहाँले इलामको नर्सरी चाहिँ अनुसन्धानका लागि प्रयाग गर्ने गरी बनाउनुभएको छ । 

हिजोआज त पारस किसानलाई खेतबारीमै गएर तालिम पनि दिनुहुन्छ । ‘मानिसले मनदेखि रुची भएको काम गर्नुपर्ने रहेछ, नत्र जति गरे पनि सफलता मिल्दैन,’ पारस आफ्नो अनुभव सुनाउनुहुन्छ । 

अलैँची, चिया, कागती, खुर्सानीसँग पारसको बाल्यकाल जोडिएको छ । मन बसेको छ । २०७५ सालतिरै उहाँले अलैँची उत्पादनका विषयमा दुईवटा तालिम पनि लिनुभएको थियो । त्यसपछि आफैंले काम पनि गरेकाले बाटोहरु चाहेर पनि बदल्न सक्नुभएन उहाँले । 

देशभरीका किसानसँग जोडिने योजना

पारस आफैं किसान । उहाँको योजना नै देशभरीका किसानसँग जोडिने छ । अहिले कागती, अलैँची लगायतका विरुवा उत्पादन गरिरहनुभएको छ । अब विभिन्न नयाँ नयाँ फलफूल र बोटबिरुवा उत्पादन गर्ने उहाँको लक्ष्य छ । 

अहिले उहाँ झापाको बिर्तामोडमा बसेर काम गर्नुहुन्छ । अरु जिल्लाका नर्सरी स्थानीय सहयोगीसँग सहकार्य गरेर चलाइरहनुभएको छ । उहाँका अनुसार अहिले देशभरीका झण्डै १० लाख किसान पारससँग जोडिएका छन् ।  

मासिक हिसाब किताब राख्नुहुन्न । तर कतारको ९० हजारको जागिर छाडेर फर्किनुभएका पारस वर्षभरीमा अहिले लागभग ३० लाख रुपैयाँ बचत गर्नुहुन्छ । 

उहाँको काम गर्ने आफ्नै तरिका छ । कुनै पनि काम थाल्नुअघि त्यसका बारेमा अध्ययन गर्नुहुन्छ । थोरै मात्रामा प्रयोगमा ल्याउनुहुन्छ । सफल भएमा मात्र उहाँ अघि बढ्नुहुन्छ । 

‘म कुनै पनि काम सुरु गर्दा ६ महिना अध्ययन गर्छु, मैले विद्यालय गएर पढेको छैन, तर त्यसैले आफैले व्यवहारमा लागू गरेर पढ्छु’ पारस आफ्नो काम गर्ने तरिका सुनाउनुहुन्छ । 

उहाँको योजना अब १० वटा हाइटेक नर्सरी बनाउने छ । १० वटा नर्सरीबाट उत्पादन गरेर देशभरीका किसानलाई  फोरेस्टिक र एग्रिकल्चरका सबै प्लान्टसिट पुर्‍याउन सक्थें भन्ने लागेको छ पारसलाई । अहिलेसम्म उहाँको लगानी डेढ करोड रुपैयाँ पुगेको छ ।

पारसले यो काम अघि बढाएपछि थुप्रै बाँजो जमिन प्रयोगमा आएको छ । कतिपय युवा वैदेशिक रोजगारीमा जानबाट रोकिएका छन् । ‘मलाई योभन्दा बढी के चाहियो र,’ पारस भन्नुहुन्छ, ‘देशमा बसेर पेट पाल्न सकुँ भन्ने थियो तर आज मसँग देशभरीका किसानको विश्वास छ ।’

काम गर्दा कहिले पनि अरुको भर पर्न हुँदैन । आफ्नो मेहनतमा विश्वास गर्नु पर्छ । पारसको सफलता र सन्तुष्टीको राज यही हो । 

‘धेरैको बानी विदेशमा विभिन्न सपना बुन्ने, घरमा आएपछि ती सपना बिर्सने र फेरि विदेश जाने हुन्छ,’ पारस सुझाव दिँदै भन्नुहुन्छ, ‘जुनसुकै काममा होस् सफलता पाउन इच्छाशक्ति र आत्मबल चाहिन्छ ।’

नेपालमा अथाह सम्भावना देख्नुहुन्छ पारस । नेपालमा गर्ने हरेक कामलाई ब्राण्ड बनाएर अघि बढ्न सकिन्छ भन्नुहुन्छ । 

‘समस्या त हजारौं हुन्छन्, नाफा घाटा त भइनै रहन्छ तर बिचलित हुन हुँदैन,’ पारस मुस्कुराउँदै भन्नुहुन्छ,‘सफलता हाम्रै हातमा छ ।’

अन्तिम अपडेट: भदौ २८, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया