नारायणगढ मुग्लिन सडकखण्ड २२ गतेसम्म दिउँसो बन्द हुने

 पुस ११, २०७६ शुक्रबार १७:२०:५५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ । सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको समयमा बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।  

गएकाे मंसिर २७ गतेदेखि पुस ११ गतेसम्मका लागि बन्द गरेर काम भएकाे भए पनि काम नसकिएपछि फेरि समय थप गर्ने निर्णय भएकाे हाे । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर आवश्यक ८ स्थानमा पहिराे राेकथामकाे लागि काम गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । 

सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुँदैछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम गरिरहेकाे खनालले बताउनुभयो । 

सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको खनालले जानकारी दिनुभयो । विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो राेकथामका लागि आवश्यक संरचना निर्माणकाे काम बाँकी रहेको थियो । 

पहिरोको जोखिम क्षेत्रबाट ढुंगा झार्ने काम ७० प्रतिशत सकिएको जानकारी दिँदै खनालले काम गर्ने अवधि छ महिना तोकिएको भए पनि यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा काम सकिने बताउनुभयो । 

नारायणगढबाट मुग्लिनतर्फ आउने सवारीसाधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारी ट्रक, लरी, टेलर, टिप्पर र ट्यांकरलाई दासढुङ्गामा रोकिने खनालले बताउनु भयो । 

आयोजनालाई यस अगाडि दुई हप्ताको समय दिइएकाे भए पनि काम नसकिएपछि र फेरि ११ दिनको म्याद थप गरिएकाे चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । आयाेजनाले दुई हप्ताको  समय माग गरेको थियाे । 

मुख्य राजमार्ग भएकाले थप भएको समयभित्रै काम सक्नेगरी स्रोत, साधन प्रयोग गरेर काम गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । पोखराबाट काठमाण्डौ आवतजावत गर्ने सवारी साधन नरोकिने पनि उहाँले स्पष्ट पार्नुभयाे ।  

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम यसअघि नै भइसकेको छ । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया