पहुँचवालाहरुले जुनसुकै समयमा योजना फेरिदिने र भुक्तानी लिने प्रवृतिले अर्थतन्त्र संकटमा : अर्थविद्

 पुस १६, २०७६ बुधबार १७:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पहुँचवालाहरुले जुनसुकै समयमा योजना फेरिदिने र भुक्तानी लिने प्रवृतिले गर्दा अर्थतन्त्र संकटमा रहेको अर्थविद्हरुले बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थविद्हरुले बजेट निर्माण गर्नुभन्दा अघि दौडधुप हुने र बजेट पछि पनि पहुँचवालाहरुले योजना फेरिदिने प्रवृतिले गर्दा अर्थतन्त्र संकटमा परेको बताएका हुन् ।

अर्थविद् डा. कृष्णराज पन्तले पहुँच हुनेहरुले मनलाग्नेबित्तिकै वर्षको बीचमै योजना फेरिदिने तथा बजेट निर्माणका समयमा पनि आफ्नो परियोजना समावेश गर्न दौडधुप गर्ने प्रवृत्तिले गर्दा बजेट खर्चमा समस्या हुने गरेको बताउनुभयो । अर्थविद् डा. डिल्लीराज खनालले सरकारले खर्च गर्नका लागि आम्दानीको स्रोत आर्थिक वर्षको सुरुदेखि नै खोज्नुपर्ने बताउनुभयो ।

अर्थविद् विश्वम्भर प्याकुरेलले सन २०१५/१६ मा ५५ प्रतिशत भएको पूँजीगत खर्च गत वर्ष घटेर ३८ प्रतिशतमा झरेको बताउँदै सरकारले बजेट खर्च बढाउन नसकेको बताउनुभयो । अर्थविद् डा. केशव खडकाले २०५२ साल अघि चालु खर्चतर्फ भन्दा विकास खर्च तर्फ बजेट बढी विनियोजन हुने गरेकोमा त्यस यता चालु तर्फको बजेट बढी हुने गरेको बताउनुभयो ।

अर्थविद डा. गोविन्द नेपालले कर्मचारी र मन्त्रीहरुको बीचको सम्बन्धका कारण पनि बजेट खर्चमा समस्या देखिने गरेको बताउनुभयो । अर्थविद्हरुले विकास निर्माणका परियोजना छनौट र तिनको कार्यान्वयनमा सरकारले ध्यान नदिए अर्थतन्त्रमा सुधार हुन नसक्ने बताएका छन् ।

त्यस्तै सरकारले प्रकाशित गर्ने कतिपय तथ्यांकहरु विज्ञले बाहेक अरुले नबुझ्ने खालको हुँदा पनि समस्या हुने गरेको बताएका छन् । उनीहरुले निर्माण व्ययसायीहरुको क्षमता, निर्माण सामग्रीहरुको उपलब्धता तथा भुक्तानी सन्तुलनलाई ध्यान नदिइ बजेट निर्माण गर्न नहुने सुझाव समेत दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया