‘पासपोर्टमा गरेको लगानीले दुःख दियो’

 पुस २०, २०७६ आइतबार १५:२७:१९ | सन्जिता देवकोटा

झापा – अहिले झापाकी पूण्यमाया आचार्यको हातमा त्यो पासपोर्ट छैन । जुन पासपोर्ट बनाउन परेको लगानी उठाउन उहाँ परदेश जानुभयो ।

घर सर्दा पासपोर्टसहित अरु कागजात हरायो । तर कमाउने आशमा लेबनानमा भोगेका दुःख भने अहिले पनि ज्यूँका तिउँ छन् ।  पूण्यमाया भन्नुहुन्छ, ‘पासपोर्ट नबनाएको भए लेबनान जाने थिइनँ, पासपोर्ट बनाउन लगानी लाग्यो, त्यसै राख्दा त डुब्यो नि त ।’ 

हुन त पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि अनिवार्य हो । पासपोर्ट बनाउनुको उदेश्य सबैका फरक हुन्छन् । पासपोर्ट बनाउँदैमा परदेश जानुपर्छ भन्ने त छैन । तर इजरायल जाने सपना देखेर बनाएको पासपोर्टले नै पूण्यमायाको जीवनमा अर्को दुःख थपिदियो । 

पासपोर्टले दिएको हैरानी

पूण्यमायाका आफन्त इजरायलमा थिए । तिनै आफन्तले भने, ‘यताबाट हामी मिलाउँछौं, पासपोर्ट बनाउनु ।’

आफूले काम गर्ने ठाउँमै लैजाने भनेका थिए आफन्तले । काम र कमाइ राम्रो हुन्छ भनेर सुनाएका थिए । इजरायल जान पूण्यमायाले पासपोर्ट बनाउनुभयो । तर पासपोर्ट बनाइसकेपछि इजरायल जाने मेसो मिलेन । कारण थाहा छैन पूण्यमायालाई ।

आफन्तले भनेअनुसार, पूण्यमाया अंग्रेजी नजान्ने भएकाले इजरायल जान पाउनुभएन ।  आफन्तले भनेको घरमा अंग्रेजी जान्ने श्रमिक अर्कै देशबाट ल्याएछन् । 

हातमा पासपोर्ट छ । लगानी परेको छ । त्यसपछि बाटो मोडियो । ‘पासपोर्ट नबनाएको भए म विदेश जाने थिइनँ,’ पूण्यमाया भन्नुहुन्छ, ‘गरीबको पसिना गयो, के गर्नु त्यही पासपोर्ट बनाउने पैसाले एउटा गर्जो टर्थ्र्यो ।’

ऋण काढेर बनाएको पासपोर्ट बाक्सामा थन्क्याएर कसरी बस्नु ? मन मानेन । त्यसपछि पूण्यमाया विदेश जाने बाटो खोज्न थाल्नुभयो । झापा धुलाबारीमा रहेका एजेण्ट दोर्ण खनाल र विष्णुमाया खनालले पूण्यमायालाई बाटो तय गर्न सघाइदिए । 

सके इजरायल नै जाने नसके राम्रो देश जाने पूण्यमायाको योजना थियो । एजेण्टले लेबनान पनि इजरायलजस्तै देश हो भने । त्यसपछि पूण्यमायाले खनाल दम्पतीलाई पासपोर्ट बुझाउनुभयो । 

उनीहरुले भनेका थिए, ‘इजरायलजस्तै हो लेबनान पनि, तपाईँलाई इजरायल नै जान मन भए पनि पछि पठाउँला, अहिले गएर यसो कमाउँदै गर्नु ।’ पूण्यमाया इजरायल जान पाउने आशमा लेबनान जान राजी हुनुभयो ।

भिसा आउन धेरै समय लागेन । पूण्यमाया मिति त त्यति सम्झनुहुन्न । तर उहाँलाई लाग्छ झण्डै सात वर्षअघि उहाँ ५० हजार रुपैयाँ एजेण्टलाई बुझाएर लेबनान उड्नुभयो । 

अहिले ४७ वर्ष लाग्नुभएकी पूण्यमाया ४० लागेसी श्रम स्वीकृति लिएरै त्रिभुवन विमानस्थलबाट घरेलु काममा लेबनान पुग्नुभयो । जाँदा कमाउने भोक थियो । तर भयो उल्टो । भोकभोकै काम गर्नु पर्‍यो । 

‘दुःख चाहिँ असाध्यै गर्नुपर्ने रहेछ, अनि कमाई चाहिँ थोरै हुँदो रहेछ,’ आफ्नो परदेश अनुभव सुनाउनुहुन्छ, पूण्यमाया ।

पूण्यमायाले काम गर्ने घरमा दुई बालबच्चा र साहुनी थिइन् । घरको काम  र बालबच्चाको स्याहारसुसार उहाँको काँधमा थियो । तर न बोलीचाली बुझिने, न त काम गर्न नै आउने ।  

भाषा नबुझ्दा हातको इशाराको भरमा काम भ्याउन पथ्र्यो । त्यो पनि कहाँ सहज हुनु ! आफूले गाउँठाउँमा गरिरहेको काम भए पो मेसो पाइन्छ । ‘उनीहरुलाई पनि सिकाउँदाको हैरानी, हामी नबुझ्ने, साह्रै गाह्रो हुँदोरहेछ,’ पूण्यमाया सुनाउनुहुन्छ । 

हुन त पूण्यमायाले काम गर्ने घरकी साहुनी शिक्षिका थिइन् । उनले गर्ने व्यवहार भने शिक्षित मानिसले गर्ने खालको थिएन । कामको दुःख त थियो नै । त्यसमाथि झन खान नदिने समस्या । 

एउटा ‘खबुज (रोटी)’ र कालो चियाले दिन कटाउन पथ्र्यो । त्यो पनि साहुनीले खाएर छाडेको बासी खानेकुरा । 

‘रोटी पनि गन्न आउने, न धेरै पो खाइ कि भन्ने लाग्ने रहेछ उसलाई,’ ती दिन सम्झँदै पूण्यमाया भन्नुहुन्छ, ‘पेट त मेरो पनि एउटा त थियो, एक पेटभन्दा त खाने थिइनँ होला नि, परदेशका मान्छे साह्रै निष्ठुरी हुन रहेछन् ।’

दिउँसो पूण्यमायाको साथमा बालबच्चा छाडेर साहुनी काममा जान्थिन् । बच्चा चकचक नगर्ने कुरै भएन । यो स्वभाविक थियो । तर दिनभरी बालबच्चाले गरेको गल्तीको दोष पूण्यमायालाई नै जान्थ्यो ।

साहुनीका साना छोराले आमालाई नभन्न खबरदारी गर्थे । भन्दा पनि नभन्दा पनि आफूले नै दुःख पाउने भएपछि पूण्यमाया चुपचाप बस्नुहुन्थ्यो । साहुनीका छोराहरुले गल्ती गरेकै कारण धेरै पनि पूण्यमायाले कुटाइ खानुभयो । 

‘मलाई यस्तो गाह्रो हुन्थ्यो, म त हरेक पटक चुपचाप बस्थें, साहुनीले उल्टो मलाई पिट्थिन्,’ पूण्यमाया भन्नुहुन्छ । त्यो बेला अर्काको देशमा अर्काको घरमा चुपचाप बस्नु बाहेक अर्को विकल्प पनि थिएन । सुत्ने समय जम्माजम्मी दुई घण्टा मात्र थियो । आँखा लाग्नेबित्तिकै उठ्ने समय भइसक्थ्यो । 

आफ्नो घरको काम सकेपछि अरुको घरमा पनि काम गर्न लैजान्थिन् साहुनीले । कहिले माइती त कहिले मावली । जहाँ जहाँ साहुनी जान्थिन् त्यहाँ त्यहाँ पूण्यमाया जानुपथ्र्यो काम गर्न ।

परदेशको दुःख र घरको सम्झना  

परदेशमा भोकभोकै खट्दा घरको सम्झनाले शरीरसँगै मन पनि कमजोर हुन्थ्यो । दुई छोरी र एक छोरालाई पढाउने बढाउने, धेरथोर कमाएर सानो भए पनि घर बनाउने उहाँको परदेश जानुको पछाडिको कारण थियो । 

बाहुनडाँगीमा सानो घर र थोरै जग्गा त थियो, तर हात्ति लाग्ने ठाउँ । दिनरात नभनी बाली कुर्नुपर्ने । घरमा आम्दानीको स्रोत अर्को थिएन । पूण्यमायाका श्रीमानले पनि विदेश जान त खोज्नुभएको थियो । तर मेडिकल अनफिट भएपछि विदेशको बाटो बन्द भयो । त्यसपछि त पूण्यमाया आफैंले कमाइको बाटो समात्नुपरेको थियो ।

तर समय कहाँ आफू अनकूल भइदिन्छ र सधैं ? पूण्यमाया भन्नुहुन्छ, ‘जानेर बुझेर गएको भए त सुखै हुन्थ्यो कि, घरेलु कामदारलाई त नोकर भनेर व्यवहार नै अर्कै गर्दा रहेछन् ।’

जुन देशका भए पनि त्यहाँ काम गर्नेहरु भेट्ना आफ्ना भेटेझैं हुन्थ्यो । बाँकी त सबै उस्तै थिए । सकेसम्म काम लगाउने । मानिसलाई जस्तो व्यवहार नगर्ने । काम गर्न गएको मानिसले काममा भएको दुःखको त हरहिसाब राख्ने कुरा त भएन । तर एक वर्षपछि साहुनीले तलब दिन छाडिन् । 

झण्डै ७ महिना उहाँले बिना तलब दुःख गर्नुभयो । पूण्यमायाको योजना दुई वर्ष काम गरेर फर्किने थियो । तर दुःख मात्र दिने, खान पनि नदिने गर्न थालेपछि शरीरले साथ दिन छाड्यो ।

‘खान पाएको भए त काम गर्थें होला तर खानै नपाएपछि मानिसले आधा रोटी र रातो चियामा कतिदिन खट्न सक्छ र,’ पूण्यमाया भन्नुहुन्छ । 

दुःख सुनाउने ठाउँ थिएन । घरमा फोन गर्न लगभग प्रतिबन्ध नै थियो । सुर चलेकाबेला साहुनीले बाहिर कतै लगेर फोन लगाइदिन्थिन् । त्यो बेला पनि दुखेसो पोख्न कहाँ पाइन्थ्यो र ! 

‘हलो भन्यो, छोराछोरीको हालखबर बुझ्दैमा फोन राख्ने बेला भइसक्थ्यो,’ पूण्यमाया त्यो दिन सम्झनुहुन्छ । 

पूण्यमायालाई जस्तै यता घरमा पनि उस्तै उकुसमुकुस थियो । ‘कहिल्यै घर छाडेर नहिँडेको मानिस विदेश गएको छ, हालखबर बुझ्न पनि नपाइने, यताबाट फोन गर्दा कहिल्यै उठ्दैन थियो ।

उताबाट आउने कहिले हो टुङ्गो हुँदैनथियो,’ मायाका श्रीमान पदम भन्नुहुन्छ, ‘के भयो होला कसो भयो होला भन्यो, पठाउने एजेण्टकोमा गयो, यहाँ पनि आधा मासु भएको थियो ।’

महिनौंपछि पूण्यमायाको फोन आयो ।

पूण्यमायाले फोनमा सोधेको पहिलो प्रश्न थियो, ‘खाना खानुभयो ?’

पदमले भन्नुभयो, ‘हामीले खायौं, तिमीले ?’

उताबाट मसिनो आवाजमा पूण्यमाया बोल्नुभयो, ‘छैन ।’

त्यो दिन मात्र हैन, त्यसपछि पूण्यमायाले आफूलाई नेपाल झिकाउन अनुरोध गर्नुभयो । 

‘तलब दिएको भए त जसोतसो दुई वर्ष बस्थें होला, तर पैसा नपाएपछि दुःख सहेर किन बस्नु,’ पूण्यमाया भन्नुहुन्छ, ‘मरे पनि आफ्नै ठाउँमा मर्छु भन्ने लागेर नै हो मैले त्यसपछि म फर्किन्छु भनें साहुनीलाई ।’

यताबाट श्रीमान पदमले पनि पूण्यमायालाई झिकाउने प्रयास गर्नुभयो । पठाउने एजेण्टलाई ताकेता गर्नुभयो । उता साहुनीसँग पूण्यमायाले घरमा छोरो बिरामी भएको बहाना बनाउनुभयो ।  

‘मैले छोरो बिरामी छ, म एकपटक हेरेर आउँछु भनें, आउदिनँ भनेको भए त पठाउने थिइनँ होला नि,’ झुट बोल्दा मिलेको उन्मुक्ति सुनाउँदा पूण्यमाया मुस्कुराउनुभयो । ६ वर्षअघि २०७० सालमा १९ महिना काम गरेर पूण्यमाया रित्तो हात घर फर्किनुभयो । 

फर्किएपछि आफ्नै ठाउँमा मेहनत

६ वर्ष भइसक्यो फर्किएको । अहिले त पूण्यमायाको जीवनमा धेरै परिवर्तन भइसक्यो । तर अहिले पनि ती दिन सम्झँदा असाध्यै चित्त दुख्छ भन्नुहुन्छ पूण्यमाया । 
जे सोचेर परदेश गएको त्यो भएन । ‘सायद त्यो बाटो आफ्नो लागि थिएन,’ पूण्यमाया चित्त बुझाउनुहुन्छ । 

पठाउने एजेण्टलाई पनि आफ्नो बाँकी तलब झिकाइदिन भन्दै पहल गर्न अनुरोध गर्नुभयो । जाने बेलामा एजेण्टले १५० लेबनानी पाउण्ड तलब हुने बताएका थिए । तर एक वर्षमा उहाँले जम्माजम्मी ५० हजार रुपैयाँ मात्रै पाउनुभयो । 

फर्किएपछि केही नभए पनि आफूले काम गरेको ७ महिनाको बाँकी तलब चाहिँ आओस् भन्ने चाहना थियो पूण्यमायाको । सरकारसँग श्रम स्वीकृति लिएरै गएको ठाउँमा बगाएको पसिनाको मूल्य त सरकारले पनि दिलाउनुपथ्र्यो भन्नुहुन्छ उहाँ । कति ठाउँ धाउनुभयो । तर मेहनत खेर गयो । 

जे सोचेको त्यो पूरा भएन परदेशमा । दिनभरी काम गरे पनि दुईपलको रात आनन्दले आफ्नै घरमा निदाउन पाइयोस् । बिहान बेलुका के खाने चिन्ता नहोस् । छोराछोरीलाई राम्रोसँग पढाउन पाइयोस् । यति नै थिए कमाएर पूरा गर्न साँचेका सपना त । 

तर १९ महिना भोक निद्रा नभनी खट्दा उहाँका सपना फेरिए । साँच्चै भन्दा पूण्यमायाले सोचेको दुःखको परिभाषा नै फेरियो । त्यसैले उहाँले घर फर्किएर आफ्नै ठाउँमा केही गर्ने आँट गर्नुभयो ।

घरको काम पनि भ्याइने, थोरै लगानी भए पनि पुग्ने । पूण्यमायाले काँकडभिट्टामा चटपटे पसल खोल्नुभयो । यो पसलबाट त्यति आम्दानी त भएको छैन । तर नुनतेल खान पुगेको छ । 

अहिले त छोराछोरी पनि ठूला भए । दुई चार पैसा कमाउन सक्ने भएका छन् । पदम पनि मेची आँखा अस्पतालको मार्केटिङको काम गरेर धेरथोर कमाउनुहुन्छ । 
अहिले, घर चलेको छ ।

पूण्यमायालाई परदेशले धेरै कुरा सिकाएको छ । विदेश जाँदा कम्तीमा धेरथोर भाषा र सीप साथ हुनु पर्नेरहेछ । आफूसँग सीप र भाषा भएको भए इजरायल नै गएर कमाउँथें होला भन्नुहुन्छ, पूण्यमाया । 

‘घरमा भएका ससना दुःखसँग आत्तिएर हिँड्छौं हामी’ पूण्यमाया भन्नुहुन्छ, ‘परदेशमा परिवारसँग टाढा रहेर लड्दा मात्र दुःख के हो थाहा पाइन्छ ।’ सकेसम्म हातमा सीप नभइ परदेश नजान र सीप सिकेर गए पनि घरेलु काममा चाहिँ कोही पनि नगैदिए हुन्थ्यो भन्नुहुन्छ, उहाँ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया