सडकमा धेरै देखिने ट्राफिक सङ्केत र यसको अर्थ

 पुस २८, २०७६ सोमबार १४:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– सडकमा गाडी या मोटरसाइकल चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरुले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोेकेका हुन्छन् । 

सडकमा धेरै देखिने ट्राफिक सङ्केत र यसको अर्थ :

पार्किङ निषेध

सडकमा पार्किङ निषेध लेखिएको चिह्न अलि धेरै देखिन्छ । गाडी र मानिसको चाप बढी हुने ठाउँमा यस्ता चिह्न देख्न सकिन्छ । यो चिह्नकाे अर्थ यहाँ पार्किङ गर्न पाइँदैन भन्ने हो । यो चिह्न राखिएको ठाउँमा कुनै पनि गाडी वा मोटरसाइकल रोक्न पाइँदैन ।

रोक्न निषेध

सडकमा राखिएको रोक्न निषेध सङ्केतले यहाँ गाडी रोक्न पाइँदैन भन्ने जानकारी दिन्छ । यस्तो चिह्न भएको ठाउँमा गाडी रोकेको पाइएमा ट्राफिक प्रहरीले कारबाही गर्छ ।

प्रवेश निषेध

सडकमा राखिएका प्रवेश निषेध गरिएको चिह्नले त्यस क्षेत्रमा गाडी लिएर जान पाइँदैन भन्ने बुझ्नु पर्छ । 

यू–टर्न निषेध

सडकको छेउमा राखिएको यस्तो चिन्हले गाडीलाई सो स्थानबाट घुमाउन, मोड्न नपाइने  सङ्केत गर्दछ । यस्तो चिन्हलाई लापरवाहि गरेर गाडी वा मोटरसाइकल मोड्दा दुर्घटनाको जोखिम बढ्छ ।

दायाँ माेड्न निषेध 

सडकमा देखिने यस्तो सङ्केतले गाडी दायाँतिर जान र मोडिन नपाइने जानकारी दिन्छ ।

बायाँ माेड्न निषेध

सडकमा देखिने यस्तो सङ्केतले बायाँतिर जाने र मोडिने नगर्नु होला भन्ने सङ्केत दिन्छ । 
 

हर्न निषेध

ट्राफिक प्रहरीले २०७४ साल वैशाख १ गतेदेखि काठमाण्डौ उपत्यकामा अनावश्यक हर्न बजाउन निषेध गरेको छ । यो चिह्नले आवश्यक अवस्थाबाहेक हर्न बजाउन नपाइने सङ्केत गर्छ । यदि कसैले नियम विपरीत हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ । 

अधिकतम गतिमा हाँक्न निषेध

सडकमा तीव्ररुपमा गाडी चलाउन नपाइने सङ्केत पनि हुन्छ । यसको अर्थ चिह्नमा लेखिएको अङ्कको आधारमा चालकले आफ्नो गाडीको गति कायम गर्नुपर्छ भन्ने हो । यस्तो चिह्न भएको सडकमा लेखिएको भन्दा बढी गतिमा गाडी वा मोटरसाइकल हाँक्न पाइँदैन । सडकको अवस्था, नागरिक र गाडीको चापको आधारमा यस्तो सङ्केत राखिएको हुन्छ । 

जेब्राक्रस

यस्तो चिह्नले पैदल हिँड्नेले बाटो काट्ने ठाउँ यो हो भन्ने जानकारी दिन्छ । यस्तो चिह्न भएको ठाउँ वा जेब्राक्रस भएको ठाउँबाट मात्रै पैदल यात्रीले बाटो काट्न सक्छन् । यस्तो चिह्न भएको ठाउँमा चालकले पनि पैदल यात्रुलाई प्राथमिकता दिनु पर्छ ।

सडकको उचाइ 

विशेषगरी पुलमा वा अन्डर ग्राउण्ड पार्किङ जाने बाटोमा यस्तो चिह्न राखिएको हुन्छ । यो चिह्नले सडक र पुल वा माथि रहेको वस्तुबीचको दुरीलाई जनाउँछ । साथै यो चिह्नले कति उचाइ भएको गाडी मुनिबाट पास हुन सक्छ भन्ने जानकारी गराउँछ ।

उकालो बाटोको चिन्ह

यो चिह्नले आउँदै गरेको उकालो बाटोको बारेमा चालकलाई सुचित गराउँछ । आउँदै गरेको उकालो बाटोप्रति चालकलाई सचेत गराउँदै गाडीको गति र स्थितिको बारेमा सहज बनाउन यो चिह्न राखिएको हुन्छ  ।  

ओरालो बाटोको चिन्ह

यस चिह्नले आउँदै गरेको ओरालो बाटोबारे जानकारी दिन्छ । यस्तो चिह्न देख्ने बित्तिकै गति नियन्त्रण गरेर गाडी वा मोटरसाइकल हाँक्नु पर्छ । 

पहिरो खस्न सक्ने जोखिमको चिह्न 

सडकको छेउमा राखिएको यस्तो चिह्नले सडक माथिबाट ढुङ्गा, माटो खस्न सक्ने जोखिमलाई जनाउँछ । यस्तो चिह्न भएको ठाउँमा ढुङ्गा खस्ने जोखिम हुने भएकोले चालकले विशेष ध्यान पुर्‍याएर गाडी चलाउनु पर्छ । 

दोहोरो मोडको चिह्न 

 

सडकमा हुने यस्तो चिह्नले त्यस बाटोमा आउने घुम्ती र मोडको सङ्केत गराउँछ । मोडको प्रकार कस्तो छ ? कताबाट कतातिर मोडिनु पर्छ ? कतिपल्ट मोडिनु पर्छ भन्ने जस्ता कुराको जानकारी यो चिह्नले दिन्छ । 

सहायक बाटोको चिह्न 

यो चिह्नले सडकमा रहेको सहायक बाटाहरुको जानकारी गराउँछ । यो चिह्नले सडकको दायाँ, बायाँ र सिधा बाटो भएको सङ्केत गर्छ । यस्तो चिह्नमा दायाँतर्फ मात्रै धर्सा भए यसले दायाँतिर भएको सहायक बाटो र बायाँतर्फ मात्र धर्सा भए बायाँतिर भएको सहायक बाटोबारे जानकारी गराउँदछ । यस्तो सङ्केत भएको बाटोमा चालकले दाँयाबायाँ रहेको बाटोबाट आउने गाडी र मानिसको अवस्था बुझेर मात्रै गाडी चलाउनु पर्छ । 

ट्रक निषेध

हामीले कुनै कुनै सडकमा चार पाङ्ग्रे गाडीहरु निषेध वा ट्रक निषेध गरिएको देख्छाैँ । यस्तो सडकमा चार पाङ्ग्रे गाडीहरु चलाउन पाइँदैन ।

पैदल यात्री निषेध

सडकमा देखिने यस्तो चिह्नले पैदल हिँड्ने मान्छे निषेध गरेको सुचित गराउँदछ । यस्तो चिह्न भएको ठाँउबाट पैदल यात्रीले बाटो काट्न र त्यहाँबाट हिँड्न पाउँदैनन्  ।

ट्राफिक नियम र सङ्केतको उल्लङ्घन गरेमा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुन्छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया