पैसा चिनेपछि फेरिएका मुसहर महिला

 माघ २, २०७६ बिहिबार १०:४७:४८ | सन्जिता देवकोटा

सुनसरी – सुनसरीको इनरुवा बजार । बजारबाट झण्डै पाँच मिनेट पैदल हिँडेपछि पुगिन्छ इनरुवाको कानुन टोल । स–सना फुसका घर । लहरै बाक्लो बस्ती । इनरुवा चोकबाट पाँच मिनेट हिँडेर पुगिने यो बस्तीको मुहार फेर्न लागिपरेका छन् यहाँका महिलाहरु । 

परदेशमा श्रीमान् हुनेहरु आफ्नो खर्च आफैं जुटाउन, बालबच्चा पढाउन र सुन्दर भविष्य बनाउन आफैं अघि बढेका छन् । 

भन्छन् नि, एक एक थोपा मिलेर समुद्र बन्छ । घरको चुलोचौको छाडेर कतै नहिँड्ने महिलाहरु अहिले घरमै बसेर पनि आम्दानीको बाटो समात्न थालेका छन् । थोरै नै सही तर आफ्नो लागि खर्च आफैं जुटाउन थालेका छन् ।

पैसाको र समयको महत्व बुझेपछिको दैनिकी

दुई बालबच्चा जन्मिएपछि चेरिता सदाको जीवन अभावमा चल्न थाल्यो । कहिले बालबच्चा बिरामी हुँदा औषधी किन्ने पैसा नहुने त कहिले तरकारी किन्नै धौ धौ ।

चेरिताका श्रीमानले आर्थिक अभाव टाल्न विदेश जाने निधो गरे । चेरितालाई लाग्यो सधैको दुःख भन्दा दुईचार वर्ष श्रीमान टाढा भए पनि बाँकी जीवनमा सुख होला । त्यसैले श्रीमानको विदेश जाने योजनामा सहमति जनाउनुभयो । 

चेरिता सदा

तीन वर्षअघि श्रीमान मलेसिया लागेपछि उहाँको दैनिकी फेरियो । घर व्यवहार र बालबच्चाको जिम्मेवारी अब उहाँको काँधमा आयो । परदेशबाट पैसा पठाउने कुर्दै दिन बित्न थाल्यो । 

विदेशमा कहिले तलब आउला र के के गरौंला ? यस्तै सोच्दै दिन कटाउनुपथ्र्यो । तर महिना दिन बित्न पनि त गाह्रो छ ।

‘घरमा दिनभरी बस्दा मनमा कुरा पनि अनेक खेल्ने, त्यही पठाएको पैसाले के के मात्र गर्नु, महिना मर्दा सक्किइहाल्थ्यो,’ चेरिता सुनाउनुहुन्छ । यसरी नै वर्ष बिते । 
चेरिताकी छिमेकी सुकुम सदाका श्रीमान साउदीमा छन् । रङ लगाउने काम गर्छन् । सुकुमलाई पहिले लाग्थ्यो श्रीमानले कमाएकै छन् ।

आफूले घर व्यवहार र छोराछोरीको हेरचाह गरेकै छु । ‘श्रीमानले कमाएकै छन्, मैले घर चलाएकै छु, किन कमाउन पर्‍यो जस्तो लाग्थ्यो, तर यस्तो नहुने रहेछ, यो कुरा त मैले पछि मात्रै बुझें नि,’ सुकुम भन्नुहुन्छ । 

कानुन टोलमा गएको वैशाखमा सुरक्षित आप्रवासन सामी परियोजनाले परदेशिएका परिवारका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गर्‍यो । कक्षामा चेरिता र सुकुम पनि बस्नुभयो ।

किताबकापी बोकेर कहिल्यै स्कुल नगएका दुवैलाई सुरुमा त लाग्थ्यो, ‘यो उमेरमा पढ्न के जानु ।’ तर मन नलाग्दा नलाग्दै बसेको कक्षामा आफ्नै दैनिकीको कुरा हुन थालेपछि भने दुवैलाई चाख लाग्यो । आफ्नो अनुभव सुनाउन पाइने । समस्या भएको कुरा राख्दा समाधानको बाटो पनि भेटिने । 

चेरिताले एकदिन कक्षामा सोध्नुभयो, ‘श्रीमानले पठाएको पैसा बचाउन सकेको छैन, मलाई पैसा बचत गर्नु छ, यो कुरा कसरी सम्भव होला त ?’

कक्षामा समाधान भेटियो ।

‘त्यसका लागि खर्च घटाउने, आम्दानीको बाटो आफू पनि खोज्ने र बचत गर्ने बानी बसाल्न पर्नेरहेछ,’ चेरिता सम्झदै भन्नुहुन्छ, ‘त्योबेला मलाई यतिका वर्ष किन यसै बसिएछ जस्तो लाग्यो ।’

चेरिताको जस्तै त थियो सुकुम ऋषिदेवको पनि दैनिकी । जति कमायो त्यती नै सकिइरहेको थियो । वित्तीय साक्षरता कक्षामा मिलेको यो बाटो सुकुमलाई पनि गज्जब लाग्यो । तर खर्च घटाएर कसरी बचत गर्ने त ? अप्ठ्यारो यही थियो । 

सुकुम ऋषिदेव

कमाउन जागिर नै खान पर्छ भन्ने होइन । पढेलेखेको हुनपर्छ । हातमा सीप चाहिन्छ भन्ने पनि हैन । म पनि गर्छु भन्ने आँट र जाँगर भने चाहिन्छ । 

चेरिता र सुकुमले पनि यो कुरा बुझेपछि घरमै बसीबसी आम्दानी गर्न सक्ने बाटो खोजे । र सुरु गरे, कुखुरा, बाख्रा, हाँस र सुँगुर पाल्न । ‘विदेशमा पैसा कमाउन कति दुःख हुँदोरहेछ, भिडियोहरु हेरियो कक्षामा, श्रीमानले त्यसरी दुःख गरेर कमाउने अनि हामीले यता कामै नगरी सक्न त भएन नि,’ चेरिता र सुकुम एकै स्वरमा भन्छन्, ‘हामीले पनि अलिकति मेहनत गर्ने हो भने हुने रहेछ ।’ यो चेरिता र सुकुमको भोगाई पनि हो । 

आफैंले आम्दानी गर्दा विदेशबाट पठाएको पैसा बच्यो 

चेरिता र सुकुमले मात्र हैन कानुन टोलका अरु महिलाले पनि एक, दुईवटा बाख्रा कुखुरा त पाल्ने गरेको थिए । तर वित्तीय साक्षरता कक्षाले व्यवसायिक बन्न सिकायो। दुवैले खोरमा बाख्रा, कुखुरा, हाँस र सुंगुरको संख्या थपे । 

केही महिनापछि त तिनैबाट आम्दानी हुन थाल्यो । कुखुरा बेचेर पैसा हात पार्दा चेरिता दङ्ग पर्नुभयो । 

‘१५ सय २० हजारमा एउटा भाले बेच्दा त ओहो कस्तो खुशी लाग्यो, त्यही कुराले त आत्मविश्वास बढायो,’ चेरिता पहिलो कमाइको खुशी साट्नुहुन्छ ।

 सुकुमले पनि त्यसै गर्नुभयो । कुखुरा, हाँस बेच्दा नुनतेल खाने खर्च पुग्यो । अब बाख्रा र सुङ्गुरबाट पनि आम्दानी हुने दिन नजिकिंदै छ । 

सुकुम भन्नुहुन्छ, ‘बुढोले कहिले पैसा पठाउने हो ठेगान नहुने, कहिलेकाहीँ बालबच्चा बिरामी हुँदा साहुसँग माग्न पथ्र्यो तर अहिले दुई चार सयको लागि साहुसँग माग्न पर्दैन,’ सुकुमले दुईचार पैसा कमाउन सक्ने भएपछिको फाइदा सुनाउनुभयो । 

अहिले सुकुमको खोरमा चारवटा सुँगुर, १२ वटा बाख्रा र साना ठूला गरी झण्डै ५० वटा कुखुरा छन् । 

चेरिताको पनि सुकुमको जस्तै, १० वटा हाँस्, ३० वटा कुखुरा र १० वटा बाख्रा छन् । दुई सुङ्गुर छन् तर यसले प्रतिफल दिन अझैं केही समय कुर्न पर्छ । चेरिता र सदा घरमा दिनहुँ हुने खर्च घटाउँदै, सकेसम्म घरकै आम्दानीले पुर्‍याएर परदेशको कमाइ बचाइरहेका छन् ।

चेरिताका श्रीमानले महिनाको ३५ हजार पठाउँछन् । छोराछोरीको स्कुलदेखि सबै खर्च भनेर १० हजार छुट्याउनुहुन्छ र बाँकी रकम बचत गर्नुहुन्छ । चेरिताले घरव्यवहार धान्न श्रीमानलाई सघाउन थालेपछि अहिले विदेशको कमाइले जग्गा पनि किन्नुभएको छ । 

विदेशमा रहेका श्रीमानलाई फर्काउने परसा

कानुन टोलकै परसा ऋषिदेवले त मलेसियाबाट दुई महिनाको बिदामा घर आएका श्रीमानलाई विदेश जान दिनुभएन । चार वर्षअघि परसाका श्रीमान रामेश्वर ऋषिदेव  मलेसिया जाँदा घरमा आम्दानीको स्रोत केही थिएन । काम गर्ने पनि कोही थिएनन् ।  तर यो चार वर्षमा धेरै कुरा परिवर्तन भयो ।

परसा ऋषिदेव

रामेश्वरले मलेसियामा धेरथोर कमाउनुभयो । यता घरमा पनि वित्तीय साक्षरता कक्षामा बसेपछि परसाले घर अघिल्तिर किराना पसल खोल्नुभयो । 

‘पहिले त बुढोको मात्र कमाई त्यती धेरै बच्दैन थियो, बुढो नहुँदा मलाई पनि यहाँ कति गाह्रो थियो, त्यसैले कक्षामा बसेपछि मलाई केही गरौं भन्ने आँट आयो,’ परसा सुनाउनुहुन्छ । 

श्रीमानको कमाइमा मात्र भर पर्दा न विदेशको कमाई बच्थ्यो न त घर चाहेजसरी चल्थ्यो । श्रीमान् विदेशमा छँदा बजार गए पनि कोहीसँग बोले पनि आफन्तले नै कुरा काट्थे ।

‘बजार गयो, बुढोले पठाएको पैसा सक्ने भई भन्ने, केही गरौंभन्दा पनि कहाँ दिन्थे र,’ परसा भन्नुहुन्छ । 

तर जब वित्तीय साक्षरता कक्षामा बस्नुभयो, तब उहाँले आफू र आफ्नो दैनिकीलाई बुझ्नुभयो । परदेशमा हुने दुःख र स्वदेशमा गर्न सकिने कामको पनि मेसो पाउनुभयो । गएको असारदेखि १० हजार लगानी गरेर घर अघिल्तिर किराना पसल खोल्नुभयो । त्यही बेला रामेश्वर पनि चार वर्षपछि मलेसियाबाट घर फर्कनुभयो । 

‘श्रीमतीले कस्तो राम्रो काम गरेछ, यहाँ हुने आम्दानी देखेपछि मलाई पनि लाग्यो यतै केही गरौं, फेरि श्रीमतीले पनि नजानु यही मिलिजुली गरौंला भन्यो अनि म गइनँ,’ रामेश्वर परदेश नफर्किनुको कारण सुनाउनुहुन्छ । 

रामेश्वरको विदेशमा पनि सरदर महिनाको २५ हजार रुपैयाँ कमाउनुहन्थ्यो । अहिले घरमा परसाले थालेको व्यवसायबाट दिनको सरदर पाँच सयदेखि ७ सय रुपैयाँसम्म हुन्छ बचत । हरहिसाब उस्तै उस्तै छ ।  

मलेसियाको जागिर छाड्ने निर्णय लिन सजिलो त पक्कै थिएन । तर श्रीमान श्रीमती दुवैले सल्लाह गरे । लाग्यो, परदेशमा लाखभन्दा स्वदेशमा परिवारको साथ नै ठूलो हो । त्यसमाथि पनि पहिलेजस्तो अवस्था अब रहेन ।

पहिलोपटक यो काम थाल्दा परसालाई खुब लाज लाग्थ्यो । के होला कसो होला भन्ने डर पनि थियो । तर बिस्तारै बानी पर्‍यो । अब श्रीमान् श्रीमती मिलेर व्यवसाय अघि बढाउने योजना छ परसाको । 

जति सकिन्छ बचत गरौं 

आफ्नो आम्दानी अनुसार खर्च कटाएर बचत गर्ने तरिका विभिन्न छन् । सामीले वित्तीय साक्षरता कक्षामार्फत पैसाको भाषा र महत्व बुझ्न सिकाउँछ, भन्नुहुन्छ सुरक्षित आप्रवासन सामी परियोजनामा वरिष्ठ तालिम अधिकृत तथा वित्तीय साक्षरता फोकल पर्सन सनत सापकोटा  ।

उहाँ भन्नुहुन्छ, पैसाको भाषा र महत्व बुझियो भने पैसाले नै हामीलाई अप्ठ्यारो परेको समयमा बचाउँछ । अहिले धेरैको घरमा आम्दानीको स्रोत विदेशबाट आएको पैसा हुन सक्छ । त्यसको सदुपयोग गर्नुपर्छ भन्ने सोच पनि विकास हुँदै गइरहेको छ । 

यसको लागि सबैभन्दा पहिले त वित्तीय स्रोतलाई वर्गिकरण गरेर हेर्ने र त्यो स्रोतलाई आवश्यकता अनुसार खर्च गर्न सपकोटाको सुझाव छ । 

विदेशबाट पैसा आएको छ भने त्यो पैसा परदेशीएकाको रगत पसिनासँग जोडिएको छ । घरपरिवारसँग बिछोडको मूल्य बोकेको छ । त्यही भएर केही खर्च गर्नुभन्दा पहिले यो कुरा सम्झिनुपर्छ ।

‘सामानहरु किन्दा आवश्यकतालाई ध्यान दिइरहेको छु या चाहना पूरा गरिरहेको छु भन्ने कुरा बुझ्नुपर्छ, यसको मतलब चाहनाहरु मार्नुुपर्छ भनेको होइन, तर स्रोत सीमित छ भने आवश्यकतालाई प्राथमिकता दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । 

बचत बढाउन र खर्च घटाउन आफूले दिनहुँ गर्ने खर्चको अभिलेख राख्न सकिन्छ । दिनहुँ गर्ने खर्चको अभिलेख राख्दा कहाँ खर्च भइरहेको छ र कुन चाहिँ खर्च घटाउन सकिन्छ भनेर छुट्याउन सकिन्छ । खर्च र आम्दानीको लेखाजोखा गर्न पाइन्छ । अनावश्यक भइरहेको खर्चका ठाउँ थाहा पाइन्छ र त्यसलाई घटाउन सकिन्छ ।

‘वित्तीय स्रोत साथी हुनको लागि अहिले हामीले पैसालाई चिनेर बचत गर्नुपर्छ, यदि अहिले हामीले पैसा बचायौं भने पछि पैसाले हामीलाई बचाउँछ,’ सापकोटा भन्नुहुन्छ । 

अन्तिम अपडेट: असार ४, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया