दुःखमा हार नमान्ने दीपा

 माघ १२, २०७६ आइतबार १२:२४:२० | सन्जिता देवकोटा

काठमाण्डौ –  दीपा राईलाई लाग्छ,  आडभरोसा दिने दिदी थिइनन् भने जिन्दगी के हुन्थ्यो होला ?

पीडा भुलाउन भौंतारिरहेका बेला हात समाउने नभेटेको भए आज आफू हिँड्ने बाटो कुन हुन्थ्यो होला ?

‘त्यो दिन आफन्तकोमा लैजान्छु भनेर दाइ पर्नेले श्रीमती नबनाइदिएको भए जिन्दगी कति सुन्दर हुन्थ्यो होला ?’ दीपा आफैंसँग प्रश्न गर्नुहुन्छ ।

हुन त दीपालाई आज बाचेको जिन्दगीसँग पछुतो छैन । पछुतो त हिजोसँग छ । जसले उहाँका सपनाका मुनाहरु निमोठिदियो । दिनुसम्म दुःख दियो । के मात्र सहनु परेन । 

दीपाले आफ्नो जिन्दगीमा सुख र खुशीको अनुभूति गर्न पाइन्छ भनेर सोच्न छाडिसक्नुभएको थियो । दुःखको भड्खालोमा फसेको थियो जिन्दगी । दुःखसँग लड्न छाडेको भए सायद त्यो भड्खालो ठूलो हुँदै जान्थ्यो होला ।

तर मानिसलाई दुःखले नै दुःखसँग लड्न सक्ने बनाउने रहेछ । दुःखसँग हार नमान्ने हो भने एकदिन जिन्दगीमा बहार आउँदो रहेछ । त्यही भएर त आज दीपा सोच्दै नसोचेको एउटा मायाको संसारमा जिइरहनुभएको छ । 

भारतको बागडोगराको आदिवासी समुदायकी दीपा त्यो बेला गाउँकै स्कुलमा पढ्नुहुन्थ्यो । असाध्यै मिठो गीत गाउने, गिटार बजाउने, नाच्ने, खेलकुदमा पनि अरुभन्दा अघि, अनि पढाईमा पनि उत्तिकै अब्बल । स्कुलमा दीपाको नाम अघि थियो ।

सबैले भन्थे, ‘दीपाको भविष्य उज्वल छ ।’ उहाँको सपना भने गायिका बन्ने थियो । तर खहरे खोलामा आएको भेलझैं एकदिन दीपाको जीवनमा पनि सोच्दै नसोचेको भेल आयो र सबै सपना र बिपना पनि बगाएर लग्यो । 

विश्वास गरेका दाइले धोका दिएपछि

दीपा सानै छँदा आमा बितिन् । दाइभाउजु र दिदीले आमाको कमी हुन दिएनन् । तर पनि आमा भएजस्तो किन हुन्थ्यो र ! दाइभाउजु र दिदीकै साथले दीपा स्कुल पढ्नुहुन्थ्यो ।

एकदिन दीपा स्कुलबाट फर्कंदै हुनुहुन्थ्यो । बाटोमा पल्लो गाउँका दाइ पर्ने भेटिए । दाइले भने ‘बडी (ठूलीआमा)ले बोलाएको छ हिँड् ।’ पल्लो गाउँमा घर भएकी बडीले बलाएको छ भनेपछि नाई भन्न सक्नुभएन । उनै दाइको पछि लाग्नुभयो । तर मानिसको नियती आँखाले कहाँ देखिन्छ र ? दीपालाई बडीकोमा हैन आफ्नै घरमा पो लागे । त्यो पनि श्रीमती बनाएर । 

‘बाटोमा जाँदाजाँदै फलानो ले त दीपालाई ल्याएछ भनेर मानिसहरु हेर्न आए, कतिले त भाउजु पो भन्न थाले,‘त्यो कालो दिन सम्झदै दीपा भन्नुहुन्छ, ‘मेरो त बदनाम भइहाल्यो, बडीकोमा हिँडेकी म, एकैछिनमा अरुको श्रीमती भइहालेँ, बदनाम भएपछि म घर फर्कन सकिनँ ।’ 

दीपा २० वर्ष लाग्नुभएको थियो । केटा भने ३२ वर्षका थिए । त्यसपछि त दीपाले कहिल्यै नसोचेका दिन देख्न र भोग्न पर्‍यो । स्कुल छुट्यो । संगीत छुट्यो । गायिका बन्ने सपना टुट्यो । तर पनि जिन्दगीको एउटा नमिठो धुनमा रमाउनु बाहेक अर्को विकल्प बाँकी रहेन दीपासँग ।

त्यसको एक वर्षपछि छोरी जन्मिइन् । त्यसपछि दीपाका दुःख सुरु भए । दिनरात रक्सी खाएर कुट्ने श्रीमान । काखमा नाबालक छोरी । छाक टार्न कहिले चिया बगानमा काम गर्नुहुन्थ्यो त कहिले दिदीको सहयोग लिनुहुन्थ्यो । 

चार वर्षपछि अर्को छोरी पनि जन्मिइन् । श्रीमानको व्यवहार सुध्रिएको थिएन । श्रीमानको कुटाईको दुखाई र आँसुमै बित्न थाल्यो दिनहरु । त्योबेला जिन्दगी नै अँध्यारो मात्र देख्नु हुन्थ्यो दीपा ।

‘मलाई उसले यस्तो दुःख दियो नि, कमाएर नल्याए पनि नकुटे त हुन्थ्यो नि, मेरो त ज्यान नै थिलोथिलो भएको थियो,’ ती दिन सम्झँदा दीपाको आँखा रसाए । 

दुःखको सागर तर्न सजिलो त छैन, तर असम्भव पनि छैन । परिवारमा कसैले पनि दीपाको दुःखमा साथ दिएनन् । तर माइतीका दाइभाउजु र दिदी दीपाको साथी बने।

दिदीले दुई छोरी पढाइदिने भइन । दाइ भाउजुले पनि परिआएको बेला सहयोग गरे । दीपा भन्नुहुन्छ, ‘उनीहरुको साथ र माया नभएको भए सायद आज म यहाँ हुने थिइनँ होला ।’

‘दिदीले मलाई धेरै माया गर्ने, त्यही दिदीको माया सम्झेर नै मलाई बाँच्न मन लाग्थ्यो, आमालाई पनि कति सम्झिएँ, लाग्यो मेरी आमा भएको भए,’ दीपा त्यो दुःखको सागरमा फस्दाको दिन सम्झनुहुन्छ । दिदीले दीपाको हरेक दुःखलाई सजिलो बनाइदिइन् । 

तर दीपाको चाहना त छोरीका बाउ नै सुध्रिउन् भन्ने थियो । छल गरेर बिहे गरे । दीपाको मन त त्योबेला नै मरेको थियो । तर पनि दीपाको चाहना दुई छोरी र आफ्नो सहार बनिदिउन भन्ने नै थियो ।

दिन बिते, महिना बिते, वर्ष बिते, तर त्यो दिन आएन । रक्सी छाडेर श्रीमान सामान्य दैनिकीमा कहिल्यै फर्किएनन् । सात वर्षअघि दीपाका श्रीमान रक्सीसँग हारे । रक्सीले सधैंका लागि लग्यो । दीपा एक्ली हुनुभयो । 

श्रीमान बितेपछि केही समय माइतीमा बस्नुभयो । तर माइतीमा कति दिन बस्ने ? मन निकै पोल्थ्यो । दीपालाई लाग्थ्यो, जस्तो दुःख भए पनि बाँड्न सकिन्छ, तर अरुको काँधमा बिसाउन हुँदैन ।’

दीपाले आफ्नै सुरुले काम खोज्नुभयो । कालिपोङमा भएका एकजना आफन्तले घरको काम लगाइदिने भए । छोरीहरु दिदीको घरमा बसेर बागडोगरामै पढ्दै थिए । त्यसैले दीपा त्यसपछि सन् २०१४ मा दुई छोरीको जिम्मेवारी दिदीकै काँधमा छाडेर दिदी र दाईकै सहमतिमा कमाउन माइतीघरबाट कालिपोङ पुग्नुभयो ।

घरकी साहुनी शिक्षिका थिइन । त्यसैले बालबच्चा हेर्ने र घर सम्हाल्ने जिम्मेवारी दीपाको थियो । काम गर्ने घरमा असाध्यै माया मिल्यो । तर छोरीहरु छाडेर धेरै समय टाढा बस्न दीपाको मन मानेन । ६/७ महिना काम गरेर फर्किनुभयो । 

तर सधैं काम नगरेर पनि भएन । दुई छोरी दिनदिनै बढिरहेका थिए । केही समय दाइ भाउजुलाई घरको काम सघाउनुभयो । मिलेको बेला चिया बगानमा पनि काम गर्नुभयो  ।

‘दाइ भाउजुले खान त दिन्थे नि, तर त्यतिले पुगेन, लगाउन पनि पर्यो नि’ दीपा भन्नुहुन्छ, ‘अरुको लागि आफू भारी त बन्न भएन ।’

केही समयपछि भारतकै सिलगुढीमा घरकै काम मिल्यो । माडवारीको घरमा थियो काम । दीपा दुःखसँग लड्दै हुनुहुन्थ्यो । सकेसम्म काममा आफूलाई भुलाउन खोज्नुहुन्थ्यो । तर सजिलो कहाँ हुन्छ र ! 

कहिले रोगले ज्यान दुख्थ्यो त कहिले छोराछोरीको मायाले मन । नमिठो बिगत त छुटेकै थिएन । 

यही संर्घषकै क्रममा दीपाले सारथी भेटाउनुभयो । त्यही घरमा काम गर्थे, दार्जलिङका मदन राई । दीपा नयाँ हुनुहुन्थ्यो, तर मदन पूराना थिए ।

काम आआफ्नै थियो । फुर्सदका बेला एकअर्कासँग थोरथोर बोल्थे । मदनले एक दिन आफ्नो दुःख सुनाए । दुःखकै सागरमा तैरिरहेकी दीपालाई मदनको दुःखले छोयो । 

‘उ पनि अरुको घरमा बसेर ठूलो भएको रहेछ, मेरो त बरु दुःख भए पनि माया गर्ने दिदी र दाइ भाउजु थिए तर उसको त कोही रहेन छ,’ दीपा सुनाउनुहुन्छ ।

मदनले काममा सरसहयोग गर्थे । दीपाका दुःख सुन्थे । आफ्नो पनि सुनाउँथे । दुःखले नै दीपा र मदनलाई नजिक बनायो । मदनको हर कुरा दीपालाई राम्रो लाग्थ्याे। तर दुई छोरीकी आमालाई माया गाँस्न त्यति सजिलो कहाँ थियो र ? 

दीपाको मन जित्न मदनले हर कोशिस गरे । दीपाका विगतलाई स्वीकार्न र हर दुःख उठाउन तयार भए । सायरी लेखे । 

‘पत्ते गिरेहे हजारबार, उठाते क्यों नहीं​,

आप हमसे मोहब्बत करते हें ताे फिर बताते क्यों नहीं
मदनले दीपाका लागि लखेको सायरी सुनाउनुहन्छ, दीपा । दीपा चाहिँ मदनका लागि गीत गाउनुहुन्थ्यो ।

‘मे दुनिया भुलादुङ्गी तेरी चाहत मे, हो दुस्मन जमाना, मुझे नाभुलाना, मे खुदको मिटादुङ्गी तेरी चाहतमे ।’

मदनको मायाकोअघि दीपा हार्नुभयो । ‘प्यार कर्ना हे तो डर्ना क्या हे’ भनेझैं दीपाले मदनको माया स्वीकार्नुभयो । मदन इमान्दार थिए । माया गथे । दीपाका लागि जे गर्न पनि तयार थिए । आफ्नो माया दीपाले दिदी र दाइलाई पनि सुनाउनुभयो । 

‘तिमी खुशी छौ भने बिहे गर, तिम्रो जीवन सुखै हुन्छ भने हामी केही भन्दैनौं भन्नुभयो दिदी दाइले’ दीपा भन्नुहुन्छ, ‘उ एकदमै राम्रो मान्छे थियो, त्यो दिनसम्म श्रीमानको माया भन्ने नपाएर पनि होला मलाई संसार पाएझैं लाग्यो ।’

राई समुदायका मदन र भारतीय आदिबासी समुदायकी दीपाले सन् २०१५ मा बिहे गरे । दीपाको समुदायमा बिहे गर्दा जात हेरिन्छ । तर दीपाको हकमा यो लागू भएन ।

मन मिले संसार मिल्छ भनेझैं मदन दीपाका दुई छोरीका बुवा पनि बन्न तयार थिए । सुख नभए पनि जीवनभरी खुशी दिने बाचा गरेका थिए । दीपाका लागि योभन्दा ठूलो कुरा अरु थिएन । 

मनको एक कुना भने खल्लो भयो । ‘छोरीहरुले यो उमेरमा आमाले बिहे किन बिहे गरेको भन्ने पो सोच्ने हुन कि भन्ने लाग्यो नि’ दीपा भन्नुहुन्छ, ‘तर उनीहरु पनि बाबा पाएर खुशी छन् ।’ 

बिहेपछि दुवै जना केही समय दार्जलिङमै बसे । मदनको परिवारले पनि दीपालाई उत्तिकै माया गर्छन् । दीपा र मदनकी एक छोरी जन्मिइन । छोरी स्कुल पठाउने बेला भएपछि उनीहरु फेरि सिलगुढी झरे । तर दीपाको मन भने अरु दुई छोरीसँगै बस्ने र सानी छोरीलाई पनि पढाउने थियो । 

दीपाको कुरामा नाइ भन्नुभएन मदनले पनि । त्यसपछि दीपा बागडोगरामा दिदीको घरमै बस्न थाल्नुभयो । अनि मदन चाहिँ काम खोज्दै काँकडभिट्टा आइपुग्नुभयो । 
दीपा अहिले पनि बागडोगरामै बसेर तीन छोरी पढाउनुहुन्छ । जेठी २१, माइली १८ र कान्छी चाहिँ तीन वर्षका छन् । मदन चाहिँ काँकडभिट्टाको एक होटलमा काम गर्नुहुन्छ ।

फुर्सदको समय दिदीको घरमा काम सघाउनुहुन्छ । जसले दीपाका हर दुःखमा साथ दिएकी थिइन् । दीपा १५ दिन एक महिनामा काँकडभिट्टा आउनुहुन्छ । बिदा मिलेका बेला मदन पनि बागडोग्रा जानुहुन्छ । खर्च पनि पठाउनुुहुन्छ ।

हिजोआज दीपाको जीवन सामान्य रुपमा चलेको छ । मायाले बल्ल जिन्दगीप्रति आशा जगाएको छ । 

सम्झनुहुन्छ ती काला दिन । तर आफूले आफूलाई सधैं किन दुखाउने ? आफ्नो मन दुख्ने कुरा मनमा राख्नुहुन्न ।

‘एक्लो महशुस गर्दिनँ आजकाल, पीडाहरु त सम्झन्छु तर त्यसले आफैंलाई दुःखाउँछ, अब किन दुःखी हुन ?’ दीपा हरदम खुशी हुने कोसिस गर्नुहुन्छ । 

दीपाको मनमा गीत गाउने चाहना अझै छ । तर कहाँ जाने ? ठाउँ भेट्नुभएको छैन । ‘आफू जीवनमा यस्तो बन्छु भन्ने हुन्छ, त्यो पूरा नहुँदा दुःख त लाग्छ’ दीपा चित्त बुझाउँदै भन्नुहुन्छ, ‘जीवनमा चाहेजति सबै कहाँ पूरा हुन्छन् र ?’ 

दीपा अहिले खुशी हुनुहुन्छ । खराब मानिसले कहिलेकाहीँ जिन्दगी नै खराब बनाइदिन सक्छन् । तर असलको साथले त्यही बिग्रिएको जिन्दगीलाई पनि सपारिदिन्छ ।

४३ वर्ष लागेकी दीपालाई हिजोआज लाग्छ, ‘मानिसले अनेक भोग्नु पर्छ, तर हार्न हुँदैन, दुःखमा हार नमान्दा जिन्दगीमा बहार आउँदो रहेछ ।’

हरेकको जीवनमा हुन्छ सुख र दुःख त । दीपा भन्नुहुन्छ, ‘दुःखसँग हामी हार्ने होइन, दुःख नै हामीसँग हारोस् न ।’

अन्तिम अपडेट: फागुन १०, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Amrit prasad chalise

    Jan. 26, 2020, 1:10 p.m.

    हो जिन्दगी भनेको दुख हो यश सग भागेर होइन सघ्रश गरेर जित्न सकिन्छ दिपा जस्तै दुख लाई हराउन सक्नु नै असल जीवन हो 😍😍😍

  •  0 Reply

तपाईको प्रतिक्रिया