ए डिभिजन लिग : पुलिस र एपीएफ तथा मच्छिन्द्र र थ्री स्टार खेल्दै

 माघ १३, २०७६ सोमबार १०:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत साेमबारदेखि नवौं चरणका खेलहरु हुँदैछ ।

आठौं चरणसम्मकाे खेल सकिँदा त्रिभुवन आर्मी १७ अङ्कसहित शीर्ष स्थानमा रहँदा शीर्ष सातमा रहने टिमसँग ५ अङ्कको मात्रै फरक रहेकाले ए डिभिजन लिगको उपाधि होड पनि खुला जस्तै छ ।

अझ दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच एक अङ्कको मात्रै अग्रता रहेकाले ए डिभिजन लिगको उपाधि जित्नका लागि शीर्ष तीनभित्र रहेका टिमलाई बाँकी रहेका पाँच–पाँच खेलको नतिजाले पनि पक्कै प्रभाव पार्ने छ । मच्छिन्द्र र मनाङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

लिगअन्तर्गत साेमबार नेपाल पुलिस र एपीएफ खेल्दै छन् । पुलिस ११ अङ्कसहित आठौँ स्थानमा छ । पुलिसले तीन खेलमा जीत र दुई खेलमा बराबरी गरेकाे छ ।

एपीएफ भने रेलिगेशनको खतरामा छ । १३औँ स्थानमा रहेको एपीएफले अहिलेसम्म एक पटक जीत निकालेको छ भने दुई खेलमा बराबरी गरेकाे छ । पुलिस र एपीएफबीचकाे खेल मध्याह्न १२ बजे दशरथ र‌ङ्गशालामा हुने छ ।

यस्तै दाेस्राे खेलमा मच्छिन्द्र र थ्री स्टार प्रतिस्पर्धा गर्दैछन् । मच्छिन्द्रले याे सिजनकाे लिगमा एक खेलमा मात्रै पराजय भोगेको छ । गएकाे संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेकाले यस वर्ष एक अङ्क घटाउँदा उसको पाँच खेलमा जीत र दुई खेलमा बराबरीले १६ अङ्क छ ।

यसैगरी १४ अङ्क जोडेको थ्री स्टार पनि मच्छिन्द्रविरुद्ध जीतसहित शीर्ष स्थानको आर्मीसँग अङ्क बराबरी गर्ने लक्ष्यमा हुने छ । मच्छिन्द्र र थ्री स्टारबीचकाे खेल दिउँसाे ३ बजे दशरथ र‌ङ्गशालामा हुनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया