एस्टन भिल्ला लिग कपकाे फाइनलमा

 माघ १५, २०७६ बुधबार ७:५३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला इङ्ग्लिश फुटबल लिग (ईएफएल), कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा लेस्टर सिटीलाई ३–२ गोले हराउँदै भिल्ला फाइनलमा पुगेको हो । मंगलबार राति भएको दोस्रो लेगमा लेस्टर सिटीलाई दुई–एकले हराएपछि एस्टन भिल्लाले समग्रमा तीन–दुईको जित निकाल्यो । लेस्टरको मैदानमा भएको पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको थियो । 

भिल्लाको मैदानमा भएको दोस्रो लेगमा महमुद ट्रेजेग्वेटले इन्ज्युरी समयमा गोल गरेपछि घरेलु टोलीले फाइनलको यात्रा तय गरेकाे हाे । खेलको १२औँ मिनेटमा म्याट टार्गेटले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए ।

खेलकाे ७२औँ मिनेटमा केलेची इहानाचोले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । इन्ज्युरी समयको तेस्रो मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै एस्टन भिल्लालाई फाइनलमा पुर्‍याए । 

लिग कपको उपाधिका लागि एस्टन भिल्लाले म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति हुने म्यान्चेस्टर डर्बीले फाइनल पुग्ने टिमको टुुङ्गो लगाउनेछ ।

युनाइटेडको मैदानमा भएको पहिलो लेगमा सिटी तीन–एक गाेल अन्तरले विजयी भएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया