कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक प्रयासहरु भइरहेका छन् : स्वास्थ्यमन्त्री ढकाल

 माघ २१, २०७६ मंगलबार १९:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि भइरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारबाट भएका कामकारबाहीबारे जानकारी गराउनुभएको हो । उहाँले प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्री र सम्बन्धित विज्ञ सम्मिलित बैठक बसेको, स्वास्थ्यमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको, प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको बताउनुभयो ।

संक्रमणबाट बच्न जनचेतनामूलक विज्ञापन बनाइएको र सम्बन्धित विज्ञसँग बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यस्तै चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरी ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यही अनुसारको सर्तकता अपनाउने तयारी भइरहेको बताउनुभयो ।

कोरोना भाइरसकाे संक्रमणबाट जोगिन गरिएको काम र चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मन्त्रीले राखेको भनाइमा १४ जना सांसदले प्रतिप्रश्न गरेका थिए । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, विश्वका २३ देशमा १७ हजार ३ सय ५१ जना संक्रमित छन् । सबै भन्दा धेरै चीनमा १७ हजार २ सय ३८ जना संक्रमित रहेका छन् ।

कोरोना भाईरस ३१ डिसेम्बर २०१९ मा पहिलो पटक सार्वजनिक भएको थियो । चीनको युवान प्रान्तबाट उत्पत्ति भएको यो भाईरसको संक्रमण चीनका २२ वटा प्रान्तमा फैलिएको र विश्वका २३ देशमा यसको संक्रमण देखिएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया