उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
बझाङ - खप्तडछान्ना गाँउपालिका-६ को बयाना र बडाकोट गाँउमा रहेको बर्थिङ सेन्टर तीन महिनादेखि बन्द छ ।
बर्थिङ सेन्टर बनाउनका लागि जग्गा दान गरेका स्थानीय झुरु थापाले ताला लगाएपछि बर्थिङ सेन्टर बन्द भएको हो । आफ्नो मान्छे कर्मचारी (कार्यालय सहयोगी) नराखेको भन्दै थापाले बर्थिङ सेन्टरमा ताला लगाउनुभएकाे हाे । जग्गा दान गर्दा आफ्नो मान्छे कर्मचारी राख्ने सहमतिमा आफूले जग्गादान गरेको थापाकाे दावी छ ।
बर्थिङ सेन्टर निर्माण भएर सञ्चालनमा आउँदासमेत आफूलाई केही जानकारी नभएकाले बाध्य भएर ताला लगाएको उहाँले बताउनुभयाे । गाँउपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले भने कार्यालय सहयोगी राख्दा सात दिने सार्वजनिक सूचना जारी गरेको बताउनुभयाे । ‘निष्पक्ष तरिकाले कर्मचारी राखेको हो’, अध्यक्ष रोकायाले भन्नुभयाे, ‘थापाका परिवारका सदस्यले निवेदनसम्म नदिएकाले घरमै गएर कर्मचारी बनाउन सकिएन ।’
कर्मचारी राख्ने सहमतिबारे आफूलाई थाहा नभएको र पटक–पटक ताला खोल्न आग्रह गर्दासमेत नमानेका कारण जिल्ला प्रशासनमा जानकारी गराएको वडा नम्बर ६ का वडा अध्यक्ष तिलक कुमार खड्काले बताउनुभयाे ।
उद्घाटन गर्दा र औषधि खरिद गरेर राख्दा जम्मा दुई दिन मात्रै बर्थिङ सेन्टर खुलेको महिला सदस्य कृष्णा देवी थापाले जानकारी दिनुभयाे । गाउँमै रहेको बर्थिङ सेन्टरमा ताला लाग्दा सुत्केरी हुनकै लागि यहाँका महिला २/३ घण्टा हिँडेर पाटादेवल स्वास्थ्य चौकी पुग्न बाध्य छन् । कति महिलाहरु भने घरमा नै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् ।
गएकाे पुसमा सुत्केरी बेथा लागेकी कल्पना थामी पाटादेवल स्वास्थ्य चौकी पुग्नुभयाे तर त्यसदिन शनिबार भएका कारण नर्स घर गएकाले स्वास्थ्य चौकीको शाैचालयमै बच्चा जन्माउनु पर्याे । यस्तै, २०७५ पुसमा बडाकोटकी ३६ वर्षीया उजली देवी थापालाई सुत्केरी गराउन पाटादेवल स्वास्थ्य चौकी लानेक्रममा बाटोमा नै मृत्यु भएको थियो ।
बर्थिङ सेन्टर बनेपछि खुशी भएका गाउँलेहरु लामो समय ताल्चा लाग्दा पनि सरोकारवालाले चासो नदेखाएका कारण निराश भएका छन् । बर्थिङ सेन्टरमा रहेका औषधिसमेत काम नलाग्ने अवस्थामा पुगेको छ । तत्कालीन पाटादेवल गाविसबाट दुई लाख ३१ हजार र गाँउपालिकाको १० लाख गरी जम्मा १२ लाख ३१ हजारमा बर्थिङ सेन्टर निर्माण गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।