खरिपाटीमा सञ्चारकर्मीलाई प्रवेश निषेध : चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने

 माघ २८, २०७६ मंगलबार ७:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीमा रहेकाे नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चाररकर्मीलाई प्रवेश निषेध गरिएकाे छ ।   

चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि त्यहाँ रहेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काएर खटिपाटीमा रहेकाे प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई मङ्गलबारदेखि मुल गेटबाटै प्रवेशमा रोक लगाएको हो ।   

समाचार सङ्कलनका लागि खरिपाटीकाे प्राधिकरण पुगेका सञ्चारकर्मीहरुलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश नदिनु भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि सञ्चारकर्मीले आन्तरिक तयारीको तस्बिर र भिडियो सङ्कलन नगरि फर्किएका छन् ।   

सरकारले खटिपाटीको विकल्प नदेखेर बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र भक्तपुरका राजनीतिक दलहरुले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् ।   

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले चीनबाट फर्काइने नेपालीहरु राख्ने ठाउँहरुमा धमाधम काम भइरहेको र पत्रकारहरु आउँदा 'डिस्टर्ब' हुने भएकाले रोक लगाएको बताउनुभयो ।   

उहाँले माथिको आदेश पनि त्यस्तै रहेको र काममा पनि बाधा पुग्ने भएकाले सञ्चारकर्मी र स्थानीय बासिन्दालाई प्रवेशमा रोक लगाएको बताउँदै तयारी तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।   

चीनबाट ल्याउन लागिएका नेपालीहरुको लागि तयार पारिएको ठाउँ कस्तो छ, कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारेमा आमनागरिकको चासोलाई सञ्चारकर्मीहरुले सार्वजनिक गर्न खोज्दा रोक लगाइएको भन्दै सञ्चारकर्मीहरुले आक्रोश पोखेका छन् । 

यसबारेमा सोध्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आफू कर्मचारी समायोजनमा लागेको र त्यसमै व्यस्त भएकाले कस्तो तयारी भइरहेको छ भन्नेबारेमा आफूले केही थाहा नपाएको र चासो नलिएको बताउनुभयो ।   

क्वारेन्टाइन स्थापना गर्नका लागि भौतिक संरचनाको निर्माण गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएर त्यही तयारी गरिरहेकाे जनाएकाे छ । चीनबाट फर्काइएका मध्ये १ सय २४ जनालाई यहाँ राख्ने र बाँकीलाई नगरकोटमा रहेकाे खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी भइरहेकाे बताइएकाे छ ।   

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रसँग सरकारले नगरपालिकालाई कुनै जानकारी नगराएको बताउँदै नगर परिषद्को बैठकबाटै यस ठाउँको विकल्प खोज्न सरकासँग आग्रह गरेको बताउनुभयो । उहाँले समाचार सङ्कलन गर्न आउने सञ्चारकर्मीलाई रोक्नु पनि गलत भएको बताउनुभयो । 

वाग्मती प्रदेश सदस्य कृष्णलाल भँडेलले सरकारले बस्तीको बीचमा चीनबाट फर्काउने नेपाली राख्न खोज्नु नै गलत भएको बताउँदै यसबारे सरकारले गम्भीर नभए यसबारे उत्पन्न हुने अवस्थाको जिम्मेवार पनि सरकार हुने बताउनुभयो । 

थप दुई भवन खाली गराइयाे 

सरकारले चीनको वुहान शहरबाट नेपाल फर्काउन लागेका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीमा रहेकाे नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराएको छ । 

तीन दिनअघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकोमा त्यो अपुग रहेको भन्दै मङ्गलबार फेरि क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशककाे क्वार्टर समेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।     

पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै स्थानीयवासीले पनि विरोध गरेका छन् । वडा नम्बर ६ का वडाध्यक्ष सन्ते वाईवा सहित स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा ज्ञापन पत्र बुझाउँदै अन्यत्र राख्न माग गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया