हैन, टिप्पर चालकले देख्छन् चाहिँ कता ?

 फागुन १०, २०७६ शनिबार ११:४४:१५ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौमा टिप्परको ठक्करबाट फागुन ९ गते शंकरापुर नगरपालिका ६ को धोलाटोलमा स्थानीय प्रविण श्रेष्ठको ज्यान गयो । टिप्परको ठक्करबाट घाईते भएका श्रेष्ठको उपचारको क्रममा राति नै ज्यान गएको हो । श्रेष्ठलाई सोमबार राति १० बजेतिर ना १ क ४५६४ नम्बरको टिप्परले ठक्कर दिएकाे थियो ।

गएको माग २२ गते कलंकीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो । माघ महिनामै तनहुँ, सुर्खेत, कञ्चनपुर र नवलपरासीमा पनि टिप्परले ठक्कर दिंदा मोटरसाइकल चालक र पैदलयात्रुको ज्यान गएको थियो । ट्राफिक नियमको उल्लंघन गर्दै तीव्र गतिमा चलाएकै कारण टिप्परले ठक्कर दिने र ज्यान लिने क्रम बढेको भन्दै विरोध हुँदै आएको छ । 

पछिल्लो ५ वर्षको तथ्याङ्क हर्ने हो भने प्रत्येक वर्ष टिप्परसँग जोडिएका दुर्घटना बढेको बढ्यै छन्। ट्राफिक प्रहरीको तथ्याड्कअनुसार आर्थिक वर्ष २०७१-७२ मा ९ सय ४७ वटा सडक दुर्घटना टिप्परसंग सम्बन्धित छन् ।

०७२-७३ मा १ हजार २ सय १० वटा दुर्घटना टिप्परका कारण भए । ०७३-७४ मा यो संख्या बढेर १ हजार ४०० पुग्यो । त्यस्तै ०७४-७५ मा १ हजार ५ सय ८० वटा दुर्घटना टिप्परकै कारण भए । ०७५-७६ मा यो संख्या बढेर १ हजार ७ सय ९१ पुग्यो । ०७६-७७ को दुई महिनामा १ सय ६५ दुर्घटना टिप्परले गराएको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ ।   

टिप्परका कारण सडक दुर्घटना बढ्न थालेपछि काठमाण्डौ उपत्यकाभित्र दिउँसो टिप्पर चलाउन रोक लगाइएको छ । ट्राफिक महाशाखा र जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र बिहान ७ देखि बेलुका ८ बजेसम्म टिप्पर चलाउन रोक लगाएको थियो । तर टाइम कार्ड नियमले पनि टिप्परका कारण हुने दुर्घटनामा कमी आएको छैन ।

कतिपय दुर्घटना टिप्परको बनावटका कारणसमेत हुने गरेको जानकारहरु बताउँछन् । टिप्परको उचाइ स्वाभाविक भन्दा अग्लो हुने भएकाले सामान्य ठक्करमा पनि मोटरसाइकल तथा स्कुटर सीधै पांग्रामुनि छिर्नसक्ने यातायात इन्जिनियर आशिष गजुरेलले बताउनुभयो ।

‘टिप्पर ठूलो हुने भएकाले यो चलाउन पनि गाह्रो छ,’ उहाँले भन्नुभयो, ‘चालकले टिप्पर चलाउँदा दायाँबायाँ स्पष्ट नदेख्ने भएकाले टिप्परले बढी दुर्घटना गराएको हो ।’

ट्राफिक प्रहरीका पूर्व निरीक्षक सितारम हाछेथुका अनुसार टिप्पर आकस्मिक अवस्थामा नियन्त्रण गर्न मुश्किल हुन्छ । दायाँ–बायाँबाट कसैले अचानक सवारी छिरायो वा बाटोमा तुरुन्तै रोक्नुपर्यो भने गाह्रो पर्छ । रोक्न खोज्दा टिप्पर आफैं पल्टने वा अरू गाडीसँग ठोक्किने सम्भावना रहन्छ । टिप्परमा अगाडिको भाग अग्लो हुन्छ । गाडीको तल्लो भाग र जमिनको दूरी (ग्राउन्ड क्लियरेन्स) बढी हुन्छ ।

चालक त्यही अग्लो भागमा बसेर गाडी हाँक्छन्। टिप्परको उचाइ स्वाभाविक भन्दा अग्लो हुने भएकाले सामान्य ठक्करमा पनि मोटरसाइकल तथा स्कुटर सीधै पांग्रामुनि छिर्छन्। यस्तै चालक सिटमा बसेर हेर्ने हो भने अगाडि एक–दुई मिटरसम्मको भुइँ देखिदैन ।

हाछेथु भन्नुहुन्छ, गाडीको सिधा तल केही देखिँदैन, यस्तोमा कुनै साना गाडी टिप्परको एकदमै नजिक आयो भने चालकको आँखामा पर्दैन।’ त्यसैले टिप्परसँग टाँसिएर ओभरटेक गर्ने र अगाडि आएर घ्याच्च रोकिने दुईपाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेकाछन् । गाडी ब्याक गर्दा पनि यस्तै समस्या आउने गरेको छ । गाडी चलाउदा टिप्पर चालकले देख्छन् कता त? टिप्परसँग कार, जीप वा अन्य ठूला सवारी ठोक्किएको खासै सुनिँदैन किनभने ठूला गाडीहरू सिटबाट सजिलै देखिन्छन् । 
टिप्परले दुर्घटना गराउने अरु कारण पनि छन् । चालकले अन्धाधुन्ध गतिमा टिप्पर चलाउँदा सडकमा चल्ने अरु गाडी छेउ लाग्नुपर्ने अवस्था छ । चालक सिटबाट हेर्दा गाडीको सिधा तल वा छेउमा केही देखिँदैन भन्ने थाहा हुँदाहुँदै चालक सतर्क हुँदैनन् ।

मोटरसाइकल चालक भक्तपुरका दिलिप घिमिरे भन्नुहुन्छ, ‘दुईपाङ्ग्रे नजिक आयो भने त जानाजान पेल्न खोज्छन्। महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्छन् ।’

दुईपाङ्ग्रेलाई ओभरटेक गरेर अघि बढ्न खोज्दा धेरै दुर्घटना हुनुले नै चालकको लापरबाही झल्काउँछ । यसलाई सुधार्न सकेसम्म टिप्परको लेन छुट्याऊँ, यदि यसो गर्न सकिन्न भने टिप्पर गुड्ने बाटो नै अलग गराऊँ, अनि मात्रै टिप्परबाट जोगिन सकिन्छ भन्ने घिमिरेको सुझाव छ । जति खेप गर्यो त्यति नै बढी पैसा पाइने हुनाले पनि टिप्पर चालकले गति बढाएर लापर्वाही तरिकाले गाडी चलाउने गरेको पाइन्छ । भत्ताको यथावत व्यवस्थामा पनि परिमार्जन हुनु आवश्यक छ ।

सहरी सडकका निम्ति टिप्पर प्राविधिक रूपले अनुपयुक्त रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालको बुझाइ छ । विदेशतिर ठूल्ठूला निर्माण स्थल र मरुभूमि क्षेत्रमा सामान ओसारपसार गर्न यसको प्रयोग हुन्छ । मान्छे र सवारी घुइँचो हुने ठाउँमा टिप्पर गुडाउन पाइँदैन।

नेपालमा भने मध्यसहरमै निर्माण सामग्री ओसार्न प्रयोग हुँदै आएको छ । टिप्परको शक्तिशाली इञ्जिनका कारण यसले गाडीमा भार धेरै भए पनि उच्च गतिमा चलाउन सकिने महाशाखा प्रमुख ढकालको भनाइ छ ।

यस्तै प्राविधिक समस्याले विदेशमा टिप्परलाई ‘खतरा’ सवारी मानिन्छ । दुर्घटना बढाएको भन्दै विदेशका धेरै सहरमा टिप्पर प्रवेश निषेध छ । ढकालका अनुसार दुर्घटना कम गर्नका लागि महाशाखाले अहिले मापसे चेकिङमा कडाइ, सवारी चालक अनुमतिपत्रमा कडाइका साथै जाँच, राडर गनबाट स्पिड लिमिट पनि हेर्ने गरेको छ ।

बेलुकी २५ सयको हाराहारीमा  टिप्पर एकैपटक काठमाण्डौ उपत्यकामा गुड्ने गरेका छन्। अपरिपक्व  चालक, तीव्र गति, टिप्परको बनावट र लेन पालना नगर्दा दुर्घटना भएको उहाँको भनाइ छ ।

पछिल्लो चार वर्षमा सवारी दुर्घटनाकै कारण देशभर ८ हजार बढीले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याड्कअनुसार देशभर दैनिक साना ठूला गरेर ६० भन्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको छ ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४ मा २ हजार ३ सय ८५ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आव २०७४÷७५ मा सवारी दुर्घटनामा मर्नेको संख्या ३ सयले बढेर २ हजार ५ सय ४० पुगेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा त्यो संख्या बढेर २ हजार ७ यस ८९ पुगेको थियो । चालू आार्थिक वर्षको पुस मसान्तसम्म ५ सयभन्दा बढीले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । यसमध्ये अधिकांश ठूलो सवारीसाधन दुर्घटनाका कारण ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म टिप्परकै कारण काठमाडौं उपत्यकामा मात्र २ सय ५० भन्दा बढी सवारी दुघर्टना भएका छन् । ट्राफिक महाशाखाका प्रहरी उपरीषक एसपी जीवन श्रेष्ठले टिप्परको आतंक रोक्न ट्राफिक प्रहरी सक्रिय रहेको बताउनुभएको छ  । उपत्यमा चल्ने टिप्परमाथि निगरानी बढाईएको र देशभर नै ट्राफिक जनचेतना अभियान थालेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • narayan thapa

    Feb. 22, 2020, 9:15 p.m.

    आजभोलि सस्तो मूल्यमा गाडीको अगाडि पछाडि राख्ने क्यामेरा अनि ड्राइभरले हेर्ने डिस्प्ले सेट किन्न पाइन्छ / यदि यो त्रिपरमा राख्न अनिवार्य गरियो भने ब्लाइन्ड स्पट मा साना दुइ पांग्रे सवारी साधन पर्दा ड्राइभरले डिस्प्लेमा देखिने हुँदा दुर्घटना रोक्न सकिन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया