'टेनिस, मलाई माफ गर ! म बिदा हुँदैछु'

 फागुन १५, २०७६ बिहिबार ७:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टेनिसकी सुन्दरी उपनामले परिचित मारिया सारापोभाले सन्यासको घोषणा गरेकी छिन् । केही समय अघिसम्म महिला टेनिसमा आफ्नो छवि छोडेकी सारापोभाले 'भ्यानिटी फेयर' नामक निबन्ध लेख्दै सन्यासको घाेषणा सार्वजनिक गरिन् ।

पाँच पटककी ग्राण्डस्लाम च्याम्पियन सारापोभाले सन्यास लिनुको प्रमुख कारण इन्ज्युरी भएको बताएकी छिन् । निबन्धमा उनले आफ्नो शरीरका कारण खेलमा ध्यान दिन नसकेको बताएकी छिन् ।

सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डनको उपाधि जितेपछि सारापोभा निकै चर्चामा आएकी थिइन् । सन् २०१२ मा फ्रेन्च ओपनको उपाधि जित्दै सारापोभाले करियर स्लाम पूरा गरेकी थिइन् ।

सन् २०१६ मा सारापोभाले मेल्डोनियम प्रयोग गरेको पाइएपछि उनलाई १५ महिनाको प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धपछि फर्किएकी सारापोभाले लगातार इन्ज्युरीको समस्या भोग्न पर्‍यो, जसका कारण उनले आफ्नो लय समात्न सकिनन् ।

विश्व टेनिस वरीयतामा पनि उनी ३७३औँ स्थानमा झरिन् ।

उनले टेनिस आफ्नो लागि पहाड भएको उल्लेख गरेकी छिन् । ‘मेरो बाटो डाँडा–काँडा, उकालो–ओराले, सजिलो र अप्ठेरोले भरिएका थिए । तर शिखरबाट देखिएको दृष्य अलौकिक थियो ।’

‘टेनिस मलाई माफ गर ! म बिदा हुँदैछु’, सारापाेभाले भनिन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया