बर्थ डे त आयो, कस्तो केक काट्ने होला ?

 फागुन १८, २०७६ आइतबार १४:२०:१६ | दामोदर न्याैपाने
unn.prixa.net

काण्डै काण्डमा बाँच्न बानी परेका हामी नेपाली साँच्चै भाग्यमानी, दिनको कम्तीमा एउटा काण्ड बजारमा आइरहेको छ । चाहे त्यो सर्वसाधारणबाट होस् या राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुबाट नै होस् । बजारमा आएको अर्काे तात्तो काण्ड प्रधानमन्त्रीको ‘केक काण्ड’ पनि मोबाइलमा आयो । 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा काट्नु भएको केक यत्रतत्र चर्चाको विषय बन्यो । त्यो केक प्रधानमन्त्रीको जन्मदिनको केक भएर मात्र चर्चित बनेन, केकले लिएको आकारले चर्चित बन्न पुग्यो । 

नेपालको नक्सा आकारको केक चर्चितसँगै विवादित बन्न पुग्यो । ७७ जिल्ला अङ्कित नेपालको नक्सा आकारको केक काट्न प्रधानमन्त्री अलिकति पनि हच्किनु भएन । एक निमेषमै केक दुई भाग भयो र बिस्तारै टुक्राटुक्रा भयो । 

बैंकमा खाता नभए पनि हातहातमा टच स्क्रिन मोबाइल अनि मोबाइलमा अनिवार्य फेसबुक खाता खोलेका नेपालीलाई अरु के चाहियो  । प्रधानमन्त्रीले केक काटेको दृश्य शेयर गर्दागर्दाै रातारात भाइरल भयो । अनि फोटोमा प्रतिक्रिया र कमेन्ट जनाउनेको ओइरो लाग्यो । सबैले मोबाइल खोल्नेबित्तिकै प्रधानमन्त्रीले केक काटेको तस्बिर हिट । 

‘मेरो यो साना दुःखले अर्ज्याकाे देश होइन’, ‘पाडो खानेले बाछो खान्छ’, ‘साङ्केतिक रुपमा केक मात्र काटिएको हो’ सम्मका प्रतिक्रिया आए । ‘बिरामीले डोको चढ्नुपर्ने देशमा प्रधानमन्त्रीको केकले हेलिकोप्टर चढ्छ,’, ‘सुखी नेपाल खुशी नेपाली’, ‘गणतान्त्रिक देशमा राजकीय शैली’ यस्ता अनेकन प्रतिक्रिया ओइरिए । 

बेलाबेलामा देशभक्ति जाग्ने हामी नेपालीलाई केक काण्डले देशभक्ति झनै जगाइदियो । हराउनै लागेको देशको माया र प्रेम एकाएक उत्कर्षमा पुग्यो । काण्डै काण्डको देशमा प्रधानमन्त्रीको केक काण्ड अहिलेसम्मकै उच्च कोटीको र करौँडौ मूल्यको भएको धेरैले लख काटे । 

प्रधानमन्त्रीको यो शैलीको स्वयं आफ्नै पार्टीभित्रै आलोचना भयो । यसो नगरेको भए हुने थियो, सच्चिनुस् प्रधानमन्त्रीज्यू भनेर सुझाव आयो । प्रधानमन्त्रीले त्यसलाई सहजै स्वीकार्नु हुन्छ कि नाइँ आउँदा दिनका अभ्यासले देखाउँछ नै । यस्तै साना साना गल्ती र अभ्यासले नै हो पार्टी अलोकप्रिय बन्दै जाने । 

सादा जीवन उच्च विचारको भाषण छाट्ने प्रधानमन्त्रीलाई के जङ्ग चल्यो भनेर धेरै जना अलमलमा परे । अनि एउटा स्पष्टीकरण बाहिरियो, ‘यो कुनै नयाँ चटक होइन, यो अन्तर्राष्ट्रिय अभ्यासको निरन्तरता हो । यसलाई लिएर हुण्डरी मच्चाउन पर्दैन ।’ यसो सोच्दै जाँदा विकासशील देशले विकसित देशको सिको गर्नैपर्ने हो कि भनेर आश्चर्यमा परेँ ।

‘घाँटी हेरी हाँड निल्नु’ भन्ने उखान ठहरै भएको धेरैले बुझे । आधारभूत आवश्यकता पूरा गर्न धौ धौ परेको देशमा अन्तर्राष्ट्रिय अभ्यासको नारा दिएर जे चाह्यो त्यही गर्न पाइन्छ र ? यो सबै नेपालीको प्रश्न हो । पानी, बाटो, बिजुली, यातायातको विकराल अवस्था आँखै अगाडि देखिन्छ तर पनि देश बनिसक्यो भन्दा मनोज गजुरेलको भनाइमा ‘करोड’ र विपीन कार्कीको भनाइमा ‘खायो खायो’ जस्तै हो ।    

दाइजोविरुद्ध चर्काे नारा लगाउने अनि जन्मदिनमा सरकार प्रमुखको यो भड्किलो र राजकीय शैली एकअर्काका विपरीतार्थ देखिन्छ नै । देश प्रमुखले नागरिकको मन जित्ने हो न कि मत गुमाउँदै जाने ? ‘नेपालीले चान्स पायो भने गर्छ, हो रच’ यो फेसबुकमा आएको प्रतिक्रिया हो । 

अन्तर्राष्ट्रिय अभ्यासको नारा दिएर सिको गर्दै जाने र आफ्नो हैसियत बिर्सने बानी नेपाली राजनीतिको जटिल समस्या हो, यसको समयमै समाधान खोज्नुपर्छ नै । विकास, नीति र लोकप्रिय अभ्यासलाई पछ्याउने हो न कि भड्किलो र नमिल्दो अभ्यासलाई । देशमा सुधार गर्नुपर्ने धेरै कुराहरु बाँकी छन् । नागरिकको मत जित्ने अभ्यासको सिको गर्नुस्, लोकप्रिय शैलीलाई हुबहु पछ्याउनुस् । 

मेरो पनि जन्मदिन नजिकिँदै छ । केक नकाट्दा मलाई यो समाजले स्वीकार्ला कि नस्वीकार्ला ? कस्तो केक काट्ने होला प्रतिक्रिया पाए हाइसञ्चो हुने थियो । मैले पनि अन्तर्राष्ट्रिय अभ्यासको नारा लगाएर आफ्नै जिल्लाको केक काट्न त नमिल्ला, कि मिल्छ ? 

अन्तिम अपडेट: चैत ४, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया