काेराेनाकाे ल्याब टेस्ट तथा परीक्षणमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत जाेखिम भत्ता

 चैत ३, २०७६ सोमबार २०:३९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (कोभिड–१९) बाट हुन सक्ने सम्भावित सङ्क्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले दुई सय ३५ वटा आईसीयू बेडहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सङ्घ र प्रदेशमा गरी दुई सय ३५ आईसीयू बेड र एक हजारको सङ्ख्यामा आइसोलेशन बेडहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्काे कार्यालयका सचिव नारायणप्रसाद बिडारीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको छाउनी र भद्रकाली तथा कीर्तिपुरको आयुर्वेद अस्पतालमा २०–२० वटाका दरले एक सय २० वटा आईसीयू बेड निर्माण गरिने बताउनुभयो ।

त्यस्तै सरकारले वाग्मती प्रदेश बाहेकका ६ वटा प्रदेशका एक सय १५ वटा आईसीयू बेड तयारी अवस्थामा राख्ने तयारी गरेको उहाँले बताउनुभयो । त्यस्तै आइसोलेशन वार्ड पनि कीर्तिपुरमा दुई सय जना, खरिपाटीमा २ सय २० जना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालमा एक सय वटा र इचङ्गुनारायणमा सरकारले बनाएको भवनहरुमा दुई सय ५० वटा गरी कुल एक हजार वटा बेडहरु तयार गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँले पीपीई र डाइगोनेस्टिक किटहरु पनि तत्काल खरिद गरी सबै प्रदेशहरुमा पठाउने तयारी भइरहेको समेत बताउनुभयो । स्वास्थ्य मन्त्रालयले पीपीई सेट २० हजार, डाइगोनेस्टिक किट १० हजार र थर्मल गन ३ हजार थान खरिद गरी प्रदेश सरकारहरुमा समेत पठाउने तयारी गरेको  छ ।

त्यस्तै भारतसँग जोडिएका एक सय २८ पालिका र त्यहाँ आवागमन हुने ठाउँहरुमा ज्वरो नाप्ने थर्मल गन पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै कोरोना भाइरस संक्रमणको स्थितिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुका लागि टीओआर बनाएर तलब स्केल इन्सेन्टिभका रुपमा दिने व्यवस्था गर्न लागिएको जानकारी समेत दिनुभयो । ल्याब टेस्ट, स्वास्थ्य परीक्षणमा खटिने डाक्टर र नर्सलाई सुरुकाे तलबमानकाे ७५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने र अन्य जनशक्तिलाई ५० र २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।  

त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लगिने र मन्त्रिपरिषदबाट निर्णय भएपछि उच्चस्तरिय समितिको सिफारिसमा कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थलमा डिपार्चर हुने ठाउँमा स्क्रिनिङ गर्ने काम समेत सुरु भइसकेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया