प्रदेश २ काे नाम र राजधानी ताेकिँदै, बैठक सुरु

 चैत ४, २०७६ मंगलबार १२:२२:२१ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मङ्गलबार मतदान हुने भएको छ ।

प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको जनकपुरका उज्यालो सहकर्मी सुभाष कर्णले जानकारी दिनुभएकाे छ । यसअघि दलहरुले आन्तरिक छलफल गरेका थिए ।

प्रदेशकाे नामका विषयमा चार वटा प्रस्ताव दर्ता भएपछि कुनै नामको पक्षमा पनि दुई तिहाइ नपुग्ने निश्चित जस्तै छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएकाे छ भने नेकपाले जानकी तथा काँग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

नाम पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावले दुई तिहाइ समर्थन पाउने सम्भावना नभएपछि दलहरु छलफल गरिरहेका हुन् । यसैबीच नेकपाले जानकी प्रदेशकै पक्षमा र काँग्रेसले मिथिलाका पक्षमा मतदान गर्न आफ्ना साँसदलाई ह्विप जारी गरेको छ । काँग्रेस तथा नेकपाका केही सांसद मधेश प्रदेशको पक्षमा उभिँदा क्रस भोटिङ्ग हुन सक्ने सम्भावना देखिएपछि ह्विप जारी गरिएको नेताहरुले बताएका छन् ।

यस्तै सत्तापक्षका केही सांसद मध्य मधेश नाम राख्नुपर्ने प्रस्तावको पक्षमा देखिएका छन् । नाम र राजधानीका लागि प्रदेशसभाका सांसदले गोप्य मतदान गर्ने र त्यसअघि छलफल गर्ने तयारी रहेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

राजधानी भने जनकपुरधामलाई बनाउनुपर्ने पक्षमा धेरैको सहमति रहे पनि केही सांसदले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । प्रदेश २ मा एक सय सात सांसद रहेकोमा सङ्घीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, काँग्रेसका १९ सांसद छन् ।

यसअघि नाम र राजधानी सहमतिमै टुङ्गो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिए पनि दलहरुबीच सहमति हुन नसकेपछि मतदान हुन लागेको हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया