प्रदेश २ को जानकी नाम अस्वीकृत : मतदान अबेर रातिसम्म चल्ने

 चैत ४, २०७६ मंगलबार १६:४३:१५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को नामाकरणका लागि जानकी प्रदेशको नाम अस्वीकृत भएको छ ।

नाम सदरका लागि दुई तिहाई अर्थात् ७२ मत चाहिनेमा प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशमा मात्र ३७ मत खसेको छ । । प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि मंगलवार दिउँसोदेखि मतदान सुरु भएको हो ।

प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट सुरु भएको मतदान त्यसपछि उपसभामुख, मुख्यमन्त्री, अन्य मन्त्री हुँदै सांसदबाट वरियता क्रममा मतदान कार्य जारी रहेको छ ।

नामाकरणका लागि प्रस्ताव गरिएका नाम जानकी, मिथिला भोजपुरा, मध्य प्रदेश र मधेश प्रदेशमा मतदान भइरहेको छ । प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश नाम प्रस्ताव गराएका हुन ।

नामका लागि ४ र राजधानीका ३ गरी विभिन्न सात चरणमा निर्वाचन हुने सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो । पहिलो चरणमा नामका लागि जानकी प्रदेशमा मतदान सुरु भएको हो । निर्वाचन प्रक्रिया अनुसार दुई तिहाई अर्थात् ७२ मत जुन प्रस्तावमा पुग्नेछ त्यही सदर हुनेछ ।

उहाँले भन्नुभयो, ‘जानकी प्रदेश’ नाममा दुई तिहाई अर्थात ७२ मत खसेमा त्यही नाम सदर हुनेछ, यदि त्यस्तो भएन पुनः हाउस बसेर अर्को मिथिला भोजपुरा हुँदै मधेश प्रदेशसम्म विभिन्न चरणमा मतदान हुन्छ । प्रदेशको नाममा टुंगो लागेपछि राजधानीको मतदान हुनेछ र राजधानीको हकमा पनि त्यही नियम लागू हुनेछ ।

राजधानीका लागि जनकपुरधाम, वीरगञ्ज महानगरपालिका सहित पोखरिया, सिम्रौनगढ, निजगढ समेटिएका क्षेत्रसहित तीन वटा प्रस्ताव गरिएका छन् । सत्तारुढ र प्रतिपक्षी दलहरुले संयक्त रुपमा जनकपुरधाम प्रस्ताव दर्ता गराएका छन् भने सत्तारुढ समाजवादी र राजपासहित कांग्रेसका असन्तुष्ट सांसदहरुले वीरगञ्ज र वीरगञ्जसहितका क्षेत्र दर्ता गराएका छन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाले जानकी प्रदेशकै पक्षमा र कांग्रेसले मिथिला भोजपुरा प्रदेशको नाममा मतदान गर्न आ आफ्ना सांसदहरुलाई व्हिप नै जारी गरेका थिए । कांग्रेस तथा नेकपाका केही सांसद मधेश प्रदेशको पक्षमा देखिएकाले क्रस भोटिङ्ग हुन सक्ने सम्भावना देखिएपछि ह्विप जारी गरिएको नेताहरुले बताएका छन् ।

प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।

सभामुख यादवको संयोजकत्वमा गठित ९ सदस्य विशेष अध्ययन समितिले राजधानीमा सहमति जुटाए पनि नाममा सहमति जुटाउन नसकेपछि नाम र राजधानी दुवैका लागि मतदान हुन लागेको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया