काेराेना भाइरसकाे जाेखिम कम गर्न ६ वटा कार्यदल गठन

 चैत ९, २०७६ आइतबार ६:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल बनाएको छ । 

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ ।

स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ । देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ । यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषि मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ । यस्तै निर्णय/निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा अनुगमन गर्न रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ ।

यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको सञ्चार मन्त्री खतिवडाले बताउनुभयो । स्वयंसेवी रुपमा क्वारेन्टाइन राख्नका लागि घर तथा जग्गा दिनेहरुलाई पालिका र प्रदेश सरकारमार्फत सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया