आजदेखि काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

 चैत १०, २०७६ सोमबार ६:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ ।

सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहोर गर्न पाइने भए पनि काठमाण्डौ बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताउनुभयो । यो नियम उपत्यकाका तीन सहरबाहेक सबैतिर लागू हुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ । यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयमा लागि गाडी चलाउन पाइने छैन ।’

महानिर्देशक हमालकाअनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूधलगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया