लकडाउन अवज्ञाको समस्या बिस्तारै घट्दै

 चैत १२, २०७६ बुधबार १७:६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘लकडाउन’को दोस्रो दिन आज देशभरिको अवस्था सामान्य छ । देशभर आज पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन मात्र चलिरहेका छन् ।

अन्य सवारी साधन चलाउन भने निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारले एक साताका लागि देशभर लक डाउन गरेसँगै हिजो बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । 

लकडाउनको प्रभाव सातवटै प्रदेशमा परेको छ । विभिन्न जिल्लामा लकडाउनलाई व्यवास्ता गर्दै चलाएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश १  

प्रदेश नम्बर १ को १४ वटै जिल्लामा अत्यावश्यक बाहेक अरु गाडीहरु गुडेका छैनन् । सडकमा मानिस हिड्न र अनावश्यक गाडी गुड्न नदिइएको प्रदेश १ ट्राफिक प्रहरी कार्याका प्रवक्ता, डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बुधबार बिहान ११ बजेसम्म लकडाउन अवज्ञा गर्ने ३ सय ६० सवारीसाधन लाई नियन्त्रणमा लिइएको छ जसमा ३ सय ५ ओटा मोटरसाइकल रहेका छन् । यसअघि हिजो ७ सय ९० वटा सवारीसाधन नियन्त्रणमा परेका थिए जसमध्य ४ सय ७७ मोटरसाइकल रहेका छन् ।

प्रदेश २

सरकारले जारी गरेको लकडाउनको सूचना अवज्ञा गरि सडकमा मोटरसाइकल चलाउने ५ सय ९२ मोटरसाईकललाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्य केहिलाइ कारबाही गरिएको  र सम्झाएर पठाइएको र ३ सय ४८ ओटा मोटरसाइकल अझै नियन्त्रणमा रहेको  २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथ्लैया बाराका प्रमुख एसपी श्याम कुमार  महत्तोले जानकारी दिनुभएको छ ।

बाटोमा  पैखलयात्रीको संख्या कम छ । प्रहरी, ट्राफिक प्रहरी र सुरक्षा निकायले कसैलाई पनि घराबाट ननिस्कन र सुरक्षित रहनको लागि माइकिङ पनि गर्दै हिडेको छ । अत्यावश्यक गाडी भने चलिरहेकाछन् ।

प्रदेश ३

आज बुधबार  जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले पास दिएका र अत्यावश्यक सेवाका गाडीबाहेक अरु नचलेका महानगरीय टाफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो लकडाउनको अवज्ञा गर्ने पैदलयात्री, मोटरसाइकल, गाडी गरेर ७ सय ८ लाई कारबाही गरिएको छ । जसमध्ये मोटरसाइकल चालक धेरै छन् । मंगलबारको तुलनामा बुधबार लकडाउन कार्यान्वयनमा आएको छ ।

सुरक्षाकर्मी,  ट्राफिक प्रहरीलाई सुरक्षाको लागि १ मिटर दुरीमा बस्न र पास भएका मान्छेको जाँच गर्न पनि टाढबाटै गर्न अनुरोध महाशाखाले अनुरोध गरेको । 

गण्डकी प्रदेश

गण्डकी प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपी बिनोद घिमिरेका अनुसार यस प्रदेशमा हिजोको तुलनामा आज कम चहलपहल रहेको र लकडाउन प्रभावकारी भएको छ । उहाँका अनुसार लकडाउनको अबज्ञा गर्नेलाई जिल्ला प्रशासन कार्यालयको आदेश अनुरुप नियन्त्रण गरी  आवश्यक कारवाही गरिएको छ । लकडाउन अबज्ञा गर्ने हिजो कास्की जिल्लामा मात्रै ३ सय ७० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रदेश ५

पहिलो दिनको तुलनामा लकडाउन आज दोस्रो दिन निकै प्रभावकारी रहेको छ एम्बुलेन्स , सुरक्षा निकाय, खाद्यान्न लगायत अत्यावश्यक गाडी मात्र  गाडी चलेकाछन् । ट्राफिक प्रहरी सूचना अधिकारी रामप्रकाश शाहका अनुसार आज २ सय २५ ओटा सवारीसाधन नियन्त्रणमा लिइको  छ ।  

यसअघि  हिजो १२ सय जति सावारीसाधन नियन्त्रणमा लिएको त्यसमा ९ सय ५ वटा मोटरसाइकल रहेकाछन् । हिजो दाङमा नियन्त्रणमा लिएको ४०० बटा साधनलाई लकडाउन अवधिभर राखिने अनि मात्र दिने भनिएको छ । गाउँ गाउँमा अझै पनि मान्छे भेला हुने र गफ गर्ने क्रम रहेको तर बजार र शहरी क्षेत्रमा निकै कम चहलपहल रहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिल्लीराज पन्तले ग्रामिण क्षेत्रमा लकडाउनको  कम पालना भएको तर  बजार क्षेत्रमा कार्यान्वयन भएको जानकारी दिनुभएको छ ।

हिजो नियम अवज्ञा गर्ने ७० ओटा सवारीसाधनलाई नियन्त्रणमा लिई ट्राफिक नियमानुसार कारबाही गरेको र अभद्र व्यवहार गर्ने ४ जनालाइ नियन्त्रणमा राखेर बेलुका समन्वय गरि छाडिएको प्रहरीले जनाएको छ ।

सुदूरप्रश्चिम प्रदेश 

मंगलबारको भन्दा आज लकडाउन कार्यान्वयनमा  सुधार रहेको र रोग संक्रमणको जोखिम कम गर्न दिनप्रतिदिन यसको बारेमा नागरिक सचेत रहेको सुदुर पश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ ।

सडकमा ट्राफिक प्रहरीले आवश्यकता हेरेर मात्रै अत्यावश्यक र आधारिक गाडीहरुको छोडेको पनि उहाँले जानकारी दिनुभयो । सहरका चोकचोकमा नियम पालनामा ध्यान दिए पनि गाउँतिर नियम पालना भएको छैन ।

हिजो लगभग १०० भन्दा बढीलाइ नियन्त्रणमा लिइ सचेत गराउंदै अर्को पल्ट पनि भेटिए ब्लु बुक नियन्त्रणमा राख्ने चेतावनीसँगै प्रहरीले छोडेको छ । अवज्ञा गर्नेमाअरु साधन भन्दा साइकल चढ्ने बढी रहेकाछन् । अब पनि अवज्ञा गरे सरकारको निर्देशनअनुसार कारबाही गरिने बताइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया