डेरावाल सरकारी कर्मचारीले राहत नपाउने

 चैत २१, २०७६ शुक्रबार १७:२५:२३ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे आज सञ्चारकर्मीहरुलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । काठमाण्डौमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो ।’
    
सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पार्नुभयो । 

राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उहाँले दिनुभयो । 

उहाँले भन्नुभयो, ‘महानगरपालिकाले अहिले टोल टोल र वस्ती बस्तीमा कीटनाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ ।’
 
विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उहाँले भन्नुभयो – ‘विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं । ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ । परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ । हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ ।’     

सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप सञ्चालनमा ल्याइसकेको छ । यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन् ।

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहिं छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उहाँले भन्नुभयो – ‘हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ । कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं ।’

तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार राहत पाउनु पर्ने व्यक्तिहरुको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ । 

कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उहाँले जानकारी दिनुभयो । सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया