आवश्यक परे खेल क्षेत्रका लागि पनि राहत प्याकेज घोषणा गर्छौँ : मन्त्री विश्वकर्मा

 चैत २७, २०७६ बिहिबार १४:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीबाट पार पाउनका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभएको छ । विश्वमै महामारीको स्वरुप कस्तो हुने भन्ने निर्क्योल नभइसकेकाले अहिले अप्ठेरो परिस्थित उत्पन्न भएको मन्त्री विश्वकर्माले बताउनुभयो ।

मन्त्री विश्वकर्माले कोरोना भाइरसविरुद्धको अभियानमा युवा, खेलाडी तथा स्काउटलाई स्वयंसेवकको रुपमा परिचालन गर्न काम सुरु गरिसेकेको पनि जानकारी दिनुभयो । साथै उहाँले खेल क्षेत्रलाई माथि उठाउनका लागि आवश्यक परे खेलाडी तथा खेल सङ्घका लागि राहत प्याकेज ल्याउने बताउनुभयो ।

प्रस्तुत छ मन्त्री विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंश- 

लकडाउनका बेला दिनहरु कसरी बितिरहेका छन् ?

स्वभाविक रुपमा अहिले इतिहासमै मानव जातिको अस्तित्वमाथि सङ्कट आएको हो । यसले हामी सबैलाई गम्भीर बनाएको छ । संवेदनशील बनाएको छ । 

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले हामीलाई जिम्मेवारी दिएको छ । कोरोना भाइरस नियन्त्रण तथा आवश्यकता अनुसार राहत सामग्री वितरण लगायतका कुराहरुमा युवा, खेलाडी तथा स्काउटलाई परिचालन गर्ने निर्णय गरेको छ । त्यसको परिचालनका लागि आवश्यक परिचालनको समन्वय गर्ने निर्णय भएको छ ।

त्यसैलाई कार्यान्वयन गर्ने गरी हामीले छलफल अघि बढाएका छौँ । हामीले स्वयंसेवक परिचालन समिति पनि बनाएका छौँ । त्यसको संयोजक म आफै छु । 
त्यसका लागि अहिलेसम्म के के गर्नुभयो ?

बुधबार मात्रै बैठक बसेर योजना बनाएका छौँ । ती योजनाहरु सार्वजनिक पनि गरिसकेका छौँ ।

अहिलेको महामारीले नेपाली खेलकुद क्षेत्र कति पछाडि धकेलिएला ?

यसको दीर्घकालीन प्रभाव त अवश्य नै पर्छ । अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि यसको असर परिसकेको छ । नेपालमा पनि पर्छ नै । 

विश्वकै जनजीवन प्रभावित त भइसकेको छ नै, खेलकुद गतिविधिहरु पनि रोकिएका छन् । ओलम्पिक जस्तो ठूलो प्रतियोगिता पनि एक वर्ष पर धकेलिएको छ । नेपालमा पनि नियमित रुपमा हुनुपर्ने प्रतियोगिताहरु पनि अहिले स्थगन भएका छन् ।

खेल क्षेत्रका लागि राहत प्याकेजको बारेमा सोच्नु भएको छ कि ?

अहिले अरु क्षेत्र जस्तो खेलकुद क्षेत्रलाई प्रत्यक्ष राहतको कुरा सोचेका छैनौँ । अहिले हामी प्रारम्भिक चरणमै रहेकाले पनि यसको बारेमा सोचेका छैनौँ । 

तर भोलिका दिनमा आवश्यक परे हामीले केही न केही गर्नैपर्छ । यस्तोमा हाम्रा खेलाडीहरुलाई परेको प्रभाव र खेल क्षेत्रलाई माथि उठाउनका लागि निश्चित रुपमा केही राहतको प्याकेज ल्याउनैपर्छ । साथै कोरोना भाइरसको महामारीका कारण खेलका पूर्वाधार निर्माणमा परेका बाधाहरु फुकाउनका लागि पनि हामीले ध्यान दिनै पर्छ ।

अब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अर्को बर्ष पोखरामा हुन सक्ला ?

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलँदो छ र यसको सम्भाव्य रुप कस्तो हुन्छ भनेर आँकलन गर्न नसकिरहेका बेला यसले लिने रुपलाई नै हेरेर हामीले नवौँ राष्ट्रिय खेलकुदको विषयमा सोच्नु पर्ने हुन्छ ।  

अन्त्यमा, १३ औँ सागका पदकधारी खेलाडीको पुरस्कार रकमको कुरा कहाँ पुग्यो ?

१३ औँ साग खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र खेल सङ्घको खातामा पैसा पठाउन मन्त्रालयले सुरु गरिसकेको छ । अबको तीनरचार दिनभित्र सबैको बैंक खातामा पैसा जम्मा भइसक्छ । अहिले देश लकडाउन भए पनि मन्त्रालयको लेखा शाखाले यो कामलाई तीव्रता दिएको छ । 

यसका लागि सीमित कर्मचारीले दैनिक रुपमा यो काम गरिरहनुभएको छ । खेलाडी, खेल सङ्घ प्रशिक्षक सबै गरेर हामीले ६ सय २८ वटा बैंक खातामा पैसा जम्मा गर्नुपर्ने छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया