एएफसीद्वारा मे र जुन महिनामा हुने भनिएका सबै फुटबल प्रतियोगिताहरु स्थगित

 बैशाख २, २०७७ मंगलबार १७:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एसियाली फुटबल महासंघ एएफसीले मे र जुन महिनामा हुने भनिएका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगिताको मिती सारेको हो ।

एसियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले स्वास्थ्यको ख्याल राख्दै मे महिनामा हुने प्रतियोगिताहरु सारेको हो ।

एएफसीले कोरोनाको घटनाहरु नजिकबाट नियालिरहेको छ । यसअघि पनि मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता एएफसीले सारेको थियो । जसका लागि एएफसीले दिल्ली, दोहा, दुबई र क्वालालम्पुरमा भिडियो कन्फ्रेन्समार्फत बैठक पनि गरेको थियो ।

जसका कारण नेपालमा हुने भनिएका चाइनिज ताइपेई र अष्ट्रेलिया बीचको खेल पनि स्थगित भएको थियो ।

अहिले स्थगित भएका प्रतियोगिताका लागि अर्को विकल्पका रुपमा नयाँ मिति तोक्ने एएफसीले बताएको छ । एएफसीका लागि ठूलो चुनौती २०२० को एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह चरणका खेलहरु गर्नु रहेको छ ।

यसका साथै एएफसीले सबै फुटबल संघलाई पनि कठिन परिस्थितिमा संयमित भएर र नकारात्मक कदम नउठाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया