दक्षिण कोरियामा बुधबार २१ औं  संसदीय निर्वाचन हुँदै

 बैशाख २, २०७७ मंगलबार २१:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

जोकराज कुलुङ

दक्षिण कोरियामा बुधबार २१ औं संसदीय निर्वाचन हुँदैछ तर चुनावी प्रचार प्रसारका नाममा आमसभा कतै देखिँदैन ।  

पार्टीको झण्डा, पर्चा पम्पलेट या ब्यानर कतै केहीँ  भेटिन्न । चुनावी चहलपहल सुनसान छ, सञ्चार माध्यममा पनि खासै चर्चा हुन्न । 
     
सन् २०१७ मा तत्कालीन राष्ट्रपति पार्क गेयून हे लाई भ्रष्टाचारको आरोप लागेपछि हालका राष्ट्रपति मुन जे ईन निर्वाचित भएको राष्ट्रपतिको निर्वाचनमा पनि माहोल ठ्याक्कै अहिलेको जस्तै थियो । 

दल तथा उमेद्वारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्छन् । त्यो सञ्चार माध्यममा हेर्छन् र आफूलाई मन लागेको दल र उमेद्वार छान्दा रहेछन् मतदाताहरू । 

मतदानको दिन हरेक मतदाताले  २ घण्टाका लागि आफ्नो कामबाट तलबी बिदा पाउंछन् । आफूलाई पायक पर्ने मतदान केन्द्रमा गएर मत दिन्छन् र फर्केर आफ्नो काममा लागि हाल्छन् । 

नेपाली र उनीहरूमा फरक के छ भने उनीहरू आफ्नो  हरेक काम  आफै गर्छन् । अरूले गर्नुपर्ने कामको खासै वास्ता गर्दैनन् ।  हामी आफ्नो काम छोडेर बाँकी सबैको काम जान्न खोज्छौं । 

२ प्रमुख दल छन् दक्षिण कोरियामा । सत्तारूढ डेमोक्रेटिक पार्टी र यूनाइटेड फ्यूचर । फेरि पनि डेमोक्रेटिकले सरकार सञ्चालन गर्ने विश्लेषकहरूको अनुमान छ ।

हालका राष्ट्रपति मुन जे इनको लोकप्रिय नारा थियो- सन २०२० सम्ममा न्यूनतम ज्याला १० हजार वन पुर्याउने । तर यो उनले गर्न सकेनन् । यसबाट धेरै नागरिकहरू असन्तुष्ट भए ।

अझ देशको आन्तरिक विषय भन्दा बाह्य देशसँग बढी घुलमिल भएको आरोप पनि लागेको थियो उनलाई । फलस्वरूप पछिल्लो दक्षिण  कोरियाको आर्थिक वृद्धिदर खस्कदो अवस्थामा आइपुग्यो । 

तर पछिल्लो कोरोना महामारीमा वर्तमान सरकारको भूमिकाले कोरियाली नागरिकहरूमा सरकार प्रतिको आरोप र असन्तुष्टि पखालिएको अनुमान गर्न सकिन्छ । 
हरेक ४ वर्षमा हुने यस वर्षको संसदीय निर्वाचनमा  कोरोना संक्रमणको लक्षण देखिएका बिरामीहरूले गत शुक्रबार नै मतदान गरिसकेका छन् । उनीहरूका लागि विशेष सुरक्षित व्यवस्था गरिएको स्वास्थ्य अधिकारीहरूले बताए । 

विश्व कोरोना महामारी विरूद्दको लडाईमा छ । चीनपछि कोरोनाले आक्रमण गरेको गरेको दोस्रो देश हो, दक्षिण कोरिया । इटाली भन्दा दोब्बर तेब्बर संख्यामा दैनिक कोरोना संक्रमण कोरियामा देखिन थालेको थियो , फेब्रुअको तेस्रो र चौथो साता । 

तर अहिले विश्वस्वास्थ्य संगठनका प्रतिनिधिहरू कोरोना महामारी विरूद्धको विश्वस्तरीय अभियानमा दक्षिण कोरियाले नेतृत्व गर्न अनुरोध गरिरहेका छन् ।

अमेरिका, यूरोप तथा अन्य थुप्रै देशहरूमा स्वास्थ्य सामग्रीका साथमा स्वास्थ्यकर्मी समेत पठाएर सहयोग गरिरहेका छन् । खाद्यान्न संकट परेका देशमा खाद्य सामाग्री पनि सहयोग गर्न तयार रहेको सरकारले  बताइरहेको छ । 

त्यही देश दक्षिण कोरियाले कोरोना सङ्क्रमण नियन्त्रण गरेर सारा विश्वलाई उदाहरण मात्र दिएन बरु अर्थतन्त्रमा कम प्रभाव पार्दै संकटको व्यवस्थापन गर्न पनि सिकाएको छ । किनभने विद्यालय बाहेकका हरेक कार्यालय, कम्पनी सञ्चालनमै छन् । आन्तरिक उत्पादनमा खासै असर परेको छैन ।  विश्व संकटको समयमै संसदीय निर्वाचन समेत अर्को उदाहरणीय काम बन्न सक्छ ।

हाल कोरियामा रहनुभएका कुलुङ नेपालमा पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्थ्यो 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया