विश्वभरका नेपाली बेरोजगार हुँदैछन्, पाखो बारी खन्नुको विकल्प छैन

 बैशाख ३, २०७७ बुधबार १०:५५:५२ | डा. चन्द्रमणि अधिकारी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस अर्थात कोभिड–१९ ले गर्दा विश्व अहिले जर्जर अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा र अनुसन्धानमा निकै अब्बल मानिएका देशलाई यो रोगसँग लड्न ठूलो सकस परिरहेको छ । मानवीय अस्तित्व बचाउन उनीहरुको दौडधुप हेर्दा लाग्छ, कोरोना भाइरसले हामीजस्तो सानो र अत्यन्तै कम अनि सीमित स्वास्थ्य क्षमता भएको देशमा तीव्र गतिमा फैलिए के होला ? त्यसैले हामीले सबैभन्दा पहिले यो भाइरसलाई कमभन्दा मानिसमा सीमित गर्नको लागि पूर्वतयारी र रोकथाममै जोड दिनुपर्छ । भएभरका संयन्त्र हामीले यसको रोकथाम र नियन्त्रणमा लगाउनुपर्छ । मान्छेको ज्यान जोगाउन सक्नु यतिखेर ठूलो सफलता हुन जान्छ । 

जीवन रक्षा र अर्थतन्त्र 

अहिलेको ठूलो चुनौती भनेको जीवन रक्षा हो । तर जीवन रक्षासँग अर्थतन्त्र पनि जोडिन्छ । आर्थिक सामाजिक अवस्था र उत्पादन पनि जीवन रक्षासँगै जोडिन्छ । मैले हरेक पटक भन्ने गरेको छु, मान्छले हातमा काम, गोजीमा दाम र समाजमा नाम खोज्छ । अहिले स्वदेशमा काम गरिरहेका हुन् या विदेशमा पसिना बगाइरहेका सबैजसो युवाको चाहना पनि यही नै हो । तर कोरोना महामारीले विश्वभरको अर्थसंरचनालाई परिवर्तन गर्न लागेको छ । सामाजिक संरचना पनि परिवर्तन हुँदैछ । यसले मान्छेको सोचाइलाई समेत परिवर्तन गर्न थालेको छ । 

जस्तो पहिले पहिले अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान र कोरियालगायतका सम्पन्न देशमा जाने नेपालीमा त्यहाँ जान पाएकोमा गर्व महसुस हुन्थ्यो । तर अहिले उनीहरु एकपटक मातृभूमिमा फर्कन पाए जसोतसो बाँचिन्थ्यो होला, देशमै परिवारसँग रहन पाए कस्तो हुन्थ्यो होला भन्ने अवस्थामा रहेको पाइन्छ । बाहिर जाने सोचमा रहेकाहरुमा पनि आफ्नै देशमा बस्नुपर्ने रहेछ भन्ने सकारात्मक सोचको विकास भएको देखेको छु । 

रेमिट्यान्समाथि सङ्कट 

नेपालको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको महत्वपूर्ण भूमिका छ । हाम्रो देशका युवालाई श्रम गर्न विदेश पठाएर हामीले देश धानिरहेका छौँ । सरकारको अहिलेसम्मको नीति पनि विदेशमा युवा पठाउने र त्यसको लागि धेरैभन्दा धेरै श्रम गन्तव्य खोज्ने देखिएको छ । तर अब हिजोको जस्तो गरी चल्दैन । किनकि जुन देशबाट हाम्रो देशमा सबैभन्दा धेरै रेमिट्यान्स आउँछ ती देश नै आर्थिक सङ्कटको भूमरीमा पर्दैछ । कुल रेमिट्यान्सको ५० प्रतिशत हिस्सा ओगट्ने खाडी देश पनि समस्यामा परेकाले ती देशले हाम्रा कामदार फर्काउने र नयाँ कामदार नलैजाने मनस्थितिमा पुगेको देखिन्छ 

यस्तै युरोप, अस्ट्रेलिया, जापान र कोरियालगायतका देश गएका धेरै नेपाली बेरोजगार हुने सम्भावना छ । उनीहरु पनि त्यहाँ टिक्न सकेनन् भने नेपालमै आउँछन् । ती देशबाट आउने रेमिट्यान्स पनि ठूलो मात्रामा ओरालो लाग्दैछ । त्यसैले अब हाम्रो देशमा रेमिट्यान्सको हिस्सा निकै ठूलो अङ्कले घट्नेवाला छ । यसले हाम्रो अर्थतन्त्रमा ठूलो चुनौती थपिदिएको छ । 

कृषि र पशुपालनमा जोड  

यसअघि सजिलैसँग युवालाई विदेश पठाएपछि सरकारलाई देशमा धेरै बेरोजगार भए भन्ने चिन्ता नहुने र हाइसञ्चो हुने भएको थियो । तर अब त्यो अवस्था उल्टिनेवाला छ । अब लाखौँ युवा नेपाल फर्किएपछि व्यवस्थापनमा ठूलो चुनौती देखिनेछ । 

नेपालबाट श्रमको लागि विदेश जाने युवा कम हुनेछन् । किनकि कोरोनाको कारण नेपालीको श्रम गन्तव्य रहेका देशमा पनि आर्थिक सङ्कट सुरु भएको छ । अर्कोतिर अब नेपालमै केही गर्नुपर्ने रहेछ, सुरक्षित त यहाँ पो रहेछ र मर्नै परे आफ्नै देशमा, समाज या परिवारकै वरपर मर्न पाइने रहेछ भन्ने खालको सोच पनि कोरोनाको प्रकोपले गर्दा विकसित भएको छ । 

त्यसैले अब कृषि, पशुपालन र वन क्षेत्रको पूर्ण सदुपयोग गर्नुपर्छ । गाउँघरका बाँझा खेतबारीमा खेती गर्नुपर्छ । विदेशबाट सीप सिकेर आएका युवाले त्यो सीप आफ्नै पाखापखेरामा देखाउने बेला आएको छ । त्यसको लागि सरकारले सहुलियत ऋणदेखि, मल, बिउ र सिँचाइको व्यवस्था गर्नुपर्छ । त्यति मात्रै होइन, कृषकको उत्पादनको ग्यारेन्टी पनि सरकारले लिनुपर्छ । 

किसानले दुध बिक्री नभएर सडकमा पोख्ने, तरकारी बिक्री नभएर बारीमै जोतिने र उखु किसानले भुक्तानी नपाएकोजस्ता घटनाले कृषि पेशा अँगाल्न चाहनेहरुमा निराशा पैदा भएको छ । तर तपाईंको उत्पादन हामीले किन्छौँ भनेर सरकारले ग्यारेन्टी गर्नुपर्छ । यसोगर्दा लाखौँ रोजगारी देशमै सिर्जना हुन सक्छ ।
अर्को कुरा, हामीले अब अर्गानिक कृषिमा जोड गर्नुपर्छ । अर्गानिक खेती गर्दा एकातिर हाम्रो वातावरण कम प्रदुषित हुन्छ भने अर्कोतिर हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । 

हामीले अब वनको सदुपयोग गर्नुपर्छ । वन जोगाउने नाममा अर्बौँ रुपैयाँ खेर गएको छ । वातावरणमा असर नपर्नेगरी रुख काट्ने रोप्ने गर्नुपर्छ । अर्बौँ रुपैयाँको काठ आयात गर्ने तर देशमै भएका काठ कुहिने अवस्थाको अन्त्य हुनुपर्छ । वनको सदुपयोग गरेर पनि धेरैलाई रोजगारी दिन सकिन्छ । 
तरकारी, फलफुल र खाद्यान्नलगायतमा हामीले २ खर्ब रुपैयाँ बर्सेनि विदेश पठाउँछौँ । अब पाखापखेरामा खेती गरौँ र विदेशिनै पैसा जोगाऔँ । रेमिट्यान्समा आउने कमीलाई हामीले यसरी पूर्ति गर्न सक्छौँ । 

भूकम्प र नाकाबन्दीभन्दा फरक 

भूकम्प र नाकाबन्दीका बेला पनि नेपालको अर्थतन्त्रमा समस्या आएको थियो । अर्थतन्त्रको ‘नेगेटिभ’ वृद्धिदरको चिन्ता थियो । तर त्यसलाई हामीले सजिलैसँग ट्रयाकमा ल्याएका थियौँ । किनकि भूकम्पले नेपालमा मात्रै क्षति गरेको थियो । नाकाबन्दीले हामीलाई मात्रै समस्या पारेको थियो । हामीलाई सहयोग गर्ने दाताहरुलाई केही फरक परेको थिएन । मनग्य सहयोग पनि पायौँ । युवाहरु विदेश जाने क्रम झन् बढ्यो । रेमिट्यान्स थपियो । अर्थतन्त्र लयमा आयो ।

तर अहिले भने अवस्था त्यस्तो छैन । संसारभरको अवस्था डरलाग्दो छ । नेपाललाई आर्थिक सहयोग गर्ने र नेपाली श्रमिक लैजाने देशहरु सङ्कटमा परेकाले पहिलेभन्दा वैदेशिक सहयोग या ऋणमा ठूलो गिरावट आउन सक्छ । हाम्रो देशमा आउने प्रत्यक्ष वैदेशिक लगानी नआउन सक्छ । किनकि अहिले हरेक देशमा समस्या परेकाले लगानीकर्तालाई आफ्नै देशमा लगानी गर्न बाध्य बनाउन सक्छ । 

विश्व बैंक, आइएमएफ र एसियाली विकास बैंकलगायतका बहुराष्ट्रिय संस्थामा विकसित र ठूला देशले गर्ने लगानी कम हुँदा ती संस्थाले नेपाललाई दिने अनुदानमा कटौती हुन सक्छ । नेपालको मात्रै समस्या हुँदा विदेशी सहयोग आउँथ्यो तर अहिले समस्या विश्वभरि नै छ । त्यसैले आफ्नो लागि आफैँ गर्ने बेला आएको छ । 

(डा. अधिकारीसँग अर्जुन पाख्रेलले गर्नुभएको कुराकानीमा आधारित) 

 

अन्तिम अपडेट: कात्तिक १०, २०७८

डा. चन्द्रमणि अधिकारी

डा. अधिकारी अर्थविद् हुनुहुन्छ । 

1 Comments

  • Govinda Paudel

    April 15, 2020, 11:55 a.m.

    भन्न सजिलो, गर्न गाह्रो। यी बिदहरु भन्दिने मात्रै हुन, न आफु गर्छन्, न अरुलाई गर्ने बातावरण बनाउन सक्छन। उत्पादन भन्दा लगानी धेरै भो। आम्दानीको ग्यारेन्टि नहुने, भएनी ढिलो हुने, पर्याप्त नहुने, अन्त नबिकेर खेती गर्न आयो भन्ने बुझाई, के के हो के के। एइ अवस्था रहुन्जेल खेतबारी हराभरा हुन्छ भन्ने विश्वाश गर्न मुस्किल छ। नकारात्मकताले भरिएको बिचार आयो, सरि है।

  •  0 Reply

तपाईको प्रतिक्रिया