‘लकडाउन’को २७ औँ दिन, घरमै बसेर सावधानी अपनाउन आग्रह

 वैशाख ७, २०७७ आइतबार ९:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज (आइतबार) नेपाल लकडाउनको २७ औँ दिन । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गते लकडाउन घोषणा गरेयता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ । 

लकडाउनको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन । आइतबार बिहान हाम्रा संवाददाता काठमाण्डौका केही क्षेत्रमा पुग्दा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ । केही स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो ।

यस्तै काठमाण्डौ महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो । सुरक्षा निकायका अधिकारीहरु सुरक्षा जाँच गर्न, लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए । 

यस्तै अत्यावश्यक सेवाका सवारीसाधन भने सहजै गुडिरहेका थिए । यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरीको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको थियो । 

नेपाल सरकारले वैशाख ३ गतेसम्मको लकडाउनको अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्‍याएको छ । 

नेपालमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ । सङ्क्रमितमध्ये तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयले शनिबारअपराह्न पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार अहिलेसम्म पीसीआर विधिबाट आठ हजार १७ जनाको कोरोना परीक्षण गरेको बताएको छ । साथै नेपालका ७७ वटा जिल्लामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । 

देशभरि चार हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेका छन् । उपत्यकामा पाँच र उपत्यकाबाहिर एक सय १२ गरी एक सय १७ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया