आउँदाे सिजनमा टिममा व्यापक परिवर्तन गर्ने रियल मड्रिडकाे याेजना

 बैशाख ८, २०७७ सोमबार ८:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रियल मड्रिडले आउँदो सिजनमा टिममा ब्यापक परिवर्तन गर्ने योजना बनाएको छ । यसअघि खेलाडी अनुबन्धनमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो समरमा खेलाडी बेच्ने अभियान चलाएको छ ।

प्रशिक्षक जिनेदिन जिदान पहिलो एघारलाई ताजगी दिन चाहन्छन् । अहिले पहिलो टिमका २५ वटै स्थान पूर्ति भएको छ । एघार जना खेलाडी लोनमा विभिन्न क्लबबाट खेलिरहेका छन् ।

जिदानेले यो समरमा बेच्ने चार खेलाडी हुन्– ग्यारेथ बेल, जेम्स रोड्रिगेज, लुकास भाज्क्वेज र मारियानो डियाज । त्यसबाहेक अन्य दुई खेलाडीलाई बेचेर आर्थिक सङ्कट टार्ने योजनामा छ, सान्टियागो बर्नाबाउ ।

वेल्सका खेलाडी बेल जिनेदिन जिदानको रणनीतिमा कहिले पनि अटाउन सकेका छैनन् । त्यसैले जिदान उचित रकम पाए बेल बेच्न चाहन्छन् ।

यस्तै जेम्स रोड्रिगेजका लागि आएका प्रस्तावहरुमा पनि रियल मड्रिड विचार गरिरहेको छ । लुकास भाज्क्वेज, मारियानो डियाज, अल्भारो ओड्रिजोला र नाचो फर्नाण्डेजलाई बेचेर रियल मड्रिड पूरै स्क्वाडमा नयाँपन दिन चाहन्छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण विश्व फुटबल बजारमा ठूलो सङ्कट आउने निश्चित छ । रियल मड्रिडको स्क्वाडको बजार मूल्य पनि झण्डै १८ प्रतिशतले घट्नेछ । 

यस्तो अवस्थामा रियलले ६ जना खेलाडीलाई बेचेर एक सय २१ मिलियन युरो भित्र्याउन चाहन्छ ।

रियल मड्रिडको पूरा स्क्वाडको मूल्य एक सय ९१ दशमलव ५ मिलियन युरो छ ।

यसमा बेल र जेम्स रोड्रिगेजका लागि ३२/३२ मिलियन, भाज्क्वेज र ओद्रिजोलाका लागि १६/१६ मिलियन, मारियानोका लागि १३ मिलियन र नाचोका लागि १२ मिलियन युरो तोकिएको छ ।

यी खेलाडीलाई बेचेमा पारिश्रमिक बापतको वार्षिक ७५ मिलियन युरो पनि रियलले बचाउनेछ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया