वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
यो वर्षको वसन्त आयो, जाँदैँछ रे
वास्तवमा वसन्त आउँदै आएन,
मान्छेको लागि आएन
केवल आफ्नै स्वभावमा आयो, जाँदैछ –
मान्छेहरु बन्दाबन्दीको जेल परिरहे ।
बन्द कोठासम्म आउँदा आउँदै
न्याउली र कोइलीको गीतहरु मधुर थिए
फूलहरुको सुगन्ध, चराहरुको चिरबिर आवाज,
पात र हावाको प्रेम, पालुवाको खुशी,
कोपिलाहरुको मुस्कान,
पाकेका ऐँसेलु र काफलहरु,
सुन्दर गुँडभित्रका बचेराहरु,
सब कल्पनाको सागरभित्र मात्र ।
शिशिरको चिसोमा टाक्सिएका बीउहरु
जमिन फोरेर निस्कने तरखर गर्दै होलान्
यो बेलामा किसानहरु खेतबारीमा हुनुपर्ने हो,
ब्याडहरु जमाउनु पर्ने हो,
अर्को एक वर्षको जोहो गर्ने बेला,
आश र सास रोप्ने बेला,
बन्दाबन्दीले घरभित्र बेहाल छन् ।
पातहरु पहेँलिने र झर्ने ऋतुहरु हेमन्त र शिशिर हुनुपर्ने
अनायास यसपाली वसन्त मै पातहरु
फ्याट्ट फ्याट्ट झरिरहेछन् हजारौंको संख्यामा !
यो त जीवन उम्रने ऋतु, आशा रोप्ने ऋतु
तर जीवनहरु झरिरहेछन् अनायास
र पनि रोपिएका आशाहरु अवश्य उम्रने छन्
छिटै उम्रने छन्, सुन्दर जीवन लिएर ।