ओली, प्रचण्ड र देउवाको पुस्ताबाट देश उभो लाग्न सक्दैन

 बैशाख १७, २०७७ बुधबार १७:३८:३३ | श्याम श्रेष्ठ
unn.prixa.net

काठमाण्डौ - अहिले सारा विश्व कोरोना भाइरसविरुद्ध एक भएर लडेको छ । शत्रु शत्रु भनिएका केही देश पनि कोरोनाविरुद्ध लड्न एक भएजस्तो देखिन्छ । कोरोनालाई परास्त गर्न हरेक देशमा राष्ट्रिय एकता, सङ्कल्प र सहयोगलाई झनै बढावा दिइएको छ । पूर्व तयारी र हाम्रो संरचनाको कारण नेपाल पनि कोरोना भाइरसको अति धेरै जोखिममा छ । यस्तो बेलामा सिङ्गो देश एक भएर नयाँ नयाँ कदमका साथ अघि बढ्नुपर्ने हो । तर विडम्बना गुटको दौड, सत्ता टिकाउने र ढाल्ने, पदको लागि बार्गेनिङजस्ता कुरा भइरहेका छन् । सरकार र नेकपाले अक्षम्य गल्ती गरिरहेका छन् । 

ओली विवादको मूल कारण

प्रधानमन्त्री केपी शर्मा ओलीले बेला न कुबेला अध्यादेश ल्याएर सांसदहरुलाई किनबेच गर्नेसम्मका क्रियाकलापमा उन्मुख भएपछि यो विवाद आएको हो । उहाँको ध्यान यो बेला देशलाई कोरोनाबाट कसरी सुरक्षित राख्ने र अर्थतन्त्र कसरी जोगाउनेतर्फ जानुपर्नेमा अर्काको पार्टी फुटाउने र आफ्नै पार्टीमा पनि गुट ब्युँताउनेतर्फ गयो । उहाँको यो कदमको पार्टीबाहिरबाट मात्र होइन, आफ्नै पार्टी र उहाँकै गुटका केही नेताले पनि विरोध गरे । चौतर्फी विरोधपछि उहाँले अध्यादेश फिर्ता लिनुभयो । विवाद केही मत्थर हुन थालेको थियो  ।

तर आफ्नै गुटका सांसद र पूर्व आइजिपीलाई लगाएर उहाँले सांसद अपहरणको योजना बनाउनुभयो । त्यसले नेकपा र सरकारलाई झन् धेरै बद्नाम गरायो । पार्टीभित्रबाट चर्को विरोध भयो । ओलीलाई ठिक ठाउँमा ल्याउने बेला यही हो भनेर केही नेता लागे । गुट सलबलाए र अहिले नेकपा फुट्ला फुट्ला भन्नेतर्फ गएको देखिन्छ । एकथरीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र अध्यक्ष पद पनि छाड्नुपर्ने माग गरेका छन् । उहाँ र उहाँको गुट त्यसमा तयार छैन । देशमा कोरोनाको महामारी चलिरहँदा नेकपा र सरकारभित्र लाजमर्दो नाटक चलिरहेको छ । 

सांसद किनबेच र अपहरणसम्मका आरोप आइसकेपछि उहाँले राजीनामा दिनुपथ्र्यो । किनभने राजनीति र नेतृत्वमा न्युनतम नैतिकता चाहिन्छ । तर उहाँले त्यो नैतिकता देखाउनुभएन । पार्टीभित्रको झगडा लम्बिँदा त्यसले सरकारको काममा असर परेको छ । अब स्थायी समितिको बैठक डाकेर यो झगडा छिटो टुङ्ग्याउनुपर्छ  । तर उहाँले स्थायी समिति नै बोलाउन नमानेको सुनियो । पार्टीभित्र पद्दति मिच्ने प्रवृत्तिले थप समस्या ल्याउने देखिन्छ । 

ओलीलाई काम गर्ने मौका थियो 

प्रधानमन्त्री ओलीलाई राम्रो काम गर्न केहीले पनि छेकेको थिएन । उहाँले राम्रो काम गरेको भए अहिले यो विवाद पनि आउने थिएन । उहाँलाई अवरोध गर्ने कोही थिएन । पद सम्हालेको दिनदेखि फटाफट राम्रा काम थालेको भए सानातिना गल्ती पनि छोपिन्थे । तर उहाँले विवादित काम मात्रै गर्नुभयो । 

कहिले बालुवाटार जग्गाको मुद्दा, कहिले यती होल्डिङ्स काण्ड, कहिले ओम्नी काण्ड र गोकुल बाँस्कोटाजस्ता व्यक्तिको तारिफलगायतका काण्डमा उहाँको ध्यान गयो । दुई तिहाइको शक्तिशाली व्यक्तिले यस्ता काण्ड र स्वार्थमा अल्झिनु भनेको निकै लाजमर्दो कुरा हो । उहाँलाई बदनाम गराउने काम अरु कसैले गरेको होइन, उहाँ आफैँले गर्नुभयो । दुई तिहाइ र संविधानको सम्मान उहाँले गर्न सक्नुभएन । सबै समस्या उहाँ आफैँले निम्त्याउनुभएको हो । 

प्रचण्डको अस्थिर चरित्र 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर शैली पनि नेकपाभित्रको समस्या हो । उहाँ कहिल्यै पनि स्थिर हुन सक्नुभएन । अहिले उहाँ आफैँ प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्न । उहाँले सत्ता सम्हाल्ने सम्भावना म देख्दिनँ । तर माधव नेपाललाई उचालेर उहाँले अवस्थालाई अस्थिर बनाएको देख्छु । यो बेलामा सरकार परिवर्तनको कुरा नउठाएर पार्टीभित्रको समस्यालाई मात्रै उठाएको भएपनि हुन्थ्यो । तर उहाँ अस्थिर हुँदा र गुटकेन्द्रित हुँदा समस्या आएको छ  । 

गुटैगुटको पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी एक हुँदा नागरिकमा उत्साह पलाएको थियो । अब ठूलो पार्टीमा गुट र फुट नहुने भयो । गुट र फुटभन्दा माथि उठेर नेताहरुले विकास र समृद्धिका कुरा गर्लान् भन्ने आशा नागरिकले राखेका थिए । तर नेकपा पनि गुटैगुटको पार्टी बन्यो । ओलीको गुट छ, त्यसभित्र पनि सहायक गुट छ । प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको गुट पनि उस्तै ।

बाहिरबाट हेर्दा नेकपा एउटै पार्टीजस्तो देखिन्छ । तर मानसिक र वैचारिक रुपले नेकपा फुटेको पार्टी हो । म यसलाई गुटैगुटको संयुक्त मोर्चाजस्तो देख्छु  । कम्युनिस्ट पार्टी विचार र सिद्धान्तमा आधारित नागरिकको पार्टी हुनुपर्ने हो । तर  यहाँ त्यस्तो देखिएन । 

विवाद टुङ्ग्याउने उपाय

अहिले नेकपाभित्रको विवाद टुङ्ग्याउने ३ वटा उपाय देख्छु । एउटा उपाय उचित ‘पावर शेयरिङ’ हो । अहिले मःमः सबै केपी ओलीको भागमा, सिन्का अरुका भागमा परेको छ । यदि त्यसलाई सन्तुलनमा ल्याउने हो भने विवाद मिल्न सक्छ । केन्द्रदेखि स्थानीय तहसम्म ओलीका मान्छे धेरै छन् । अरु खेमाका मान्छेलाई पनि स्थान दिनुपर्छ । 

दोस्रो, ओलीले एउटा मात्रै पद लिनुपर्छ । उहाँले पार्टीको अध्यक्ष पनि मै हुन्छु, प्रधानमन्त्री पनि मै हुन्छु भन्न मिल्दैन । एउटा पद छाड्नेबित्तिकै विवाद समाधानको बाटोमा जान्छ भन्ने मलाई लाग्छ ।  

अर्को उपाय, पार्टी पद्दतिमा चल्ने । पार्टी विधानअनुसार चलेमा धेरै समस्या आउँदैन । कुनै निर्णय लिनुपरेमा छलफल गर्ने, पार्टीमा सहमति जुटाएर मात्रै सरकारले ठूला ठूला निर्णय गर्नुपर्छ । पार्टीका अर्का अध्यक्षलाई समेत जानकारी नदिई अध्यादेश ल्याउनेजस्तो एकलौटी गर्दा थप समस्या हुन्छ । 

यो पुस्ताले देश उभो लाग्दैन

देशमा दुई तिहाइको सरकार बन्यो । पाँच वर्षसम्म मज्जाले काम होला र देश काँचुली फेर्ने बाटोमा जाला भनेर आश गरेका नागरिक निराश छन् । नेताहरु आफैँले कुम्ल्याउने र फेरि पनि फोहोरी राजनीतिमा लागेको देख्दा नागरिकले आफ्नो मत खेर गएको अनुभूति गर्न थालेका छन् । नागरिकले कयौं वर्षदेखि केही होला कि भन्ने आशामा यिनै बुढा पुस्ताका नेतालाई विश्वास गर्दै आए । तर हरेक पटक नेताहरुले नागरिकलाई धोका मात्रै दिए । 

केपी ओली, माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायतका यो पुस्ताका नेताहरु रहँदासम्म देशमा स्थिरता पनि हुँदैन र देश उभो पनि लाग्दैन । उहाँहरुले गुटमा खेल्ने र पैसा कमाउनेबाहेक अरु कामलाई प्राथमिकतामा राख्नुहुन्न ।  बदनामी कमाउन र गलत कामलाई प्रश्रय दिन कोही पनि अछुतो हुनुहुन्न । भाग मिलेन भने मात्रै एक अर्कोको विरोध गरेजस्तो गर्नुहुन्छ ।  देशमा धेरै बदमासी उहाँहरुको मिलेमतोमा नै भइरहेको छ । 

(विश्लेषक श्रेष्ठसँग अर्जुन पोख्रेलले गर्नुभएको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: साउन २७, २०७८

श्याम श्रेष्ठ

दोस्रो संविधानसभाका सदस्य श्रेष्ठ वाम विश्लेषक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया