काठमाण्डौ महानगरपालिकाको पहलमा एक लाखलाई खाना, ८० हजार बढीलाई राहत

 वैशाख २०, २०७७ शनिबार २०:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - 'लकडाउन' काे अवधि लम्बिएसँगै काठमाण्डौ महानगरपालिकाले अति विपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ। 

महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी सङ्घ-संस्थाहरुको पहलमा अहिलेसम्म ८१ हजार बढीलाई राहत वितरण गरेको छ । त्यसैगरी अहिलेसम्म एक लाखको हाराहारीलाई खाना खुवाएको महानगरपालिकाले जानकारी दिएको छ । 

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा पालिकाहरुले आ-आफ्नो क्षमताले भ्याएसम्म परिचालित भइ राहत वितरण तथा खाना खुवाउनेलगायतका अन्य प्रयास गरिरहेको बताउनुभयो ।

‘महानगरपालिकाभित्र रहेका असहाय, अति विपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस् भनेर राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिँदै आएका छौँ’, प्रमुख शाक्यले भन्नुभयो, ‘लकडाउनको अवधिमा कोही महानगरवासी भोकै परेको भए हामीलाई जानकारी दिनुहोला । हामी उहाँहरुको जिम्मेवारी लिन तयार छौँ ।’ 

उहाँले लकडाउनको अवधिमा कोही पनि भोक भोकै पर्ने अवस्था नआओस् भनेर समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेको जानकारी दिनुभयो ।

कतिपय ठाउँमा मेयर शाक्य आफैँ पनि अनुगमनका लागि पुग्ने गर्नुभएको छ । केही दिनअघि निरीक्षणका लागि चमती पुग्नुभएका प्रमुख शाक्यले जनतासँगै बसेर खाना खानुभएको थियो । जनतासँगै बसेर प्रमुख शाक्यले खाना खाँदा स्थानीयहरु पनि खुसी भएका थिए । 

महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि महानगरपालिका क्षेत्रभित्र कोही पनि भोकै नपरुन् भन्ने उद्देश्यले राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिएको जानकारी दिनुभयो ।

‘लकडाउन सुरु भएदेखि अहिलेसम्म महानगरपालिका आफै र विभिन्न सहयोगी दाताहरुको समन्वयमा झण्डै ८२ हजारलाई राहत वितरण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म खाना खुवाएकाहरुको सङ्ख्या एक लाखको हाराहारीमा पुगेको छ । अधिकांश वडाले स्थानीय सङ्घ-संस्था र सहयोगी दाताहरुसँग समन्वय गरेर खाना खुवाउने कामलाई निरन्तरता दिँदै आएका छन् ।’ 

केन्द्रलाई पठाएको तथ्याङ्क अनुसार अहिलेसम्म वडा नम्बर ६ ले मात्रै २५ हजार बढीलाई खाना खुवाएको छ । सिद्धार्थ हल, कुमारी गाल, चुच्चेपाटी चोकलगायतका स्थानमा खानाको व्यवस्था गरिएको छ ।  

त्यसैगरी वडा नम्बर १४ ले १९ हजार बढीलाई खाना खुवाएको छ । जागरण बस्ती सुधार सङ्घ, सामुदायिक टोल सुधार समितिलगायतको समन्वयमा खाना खुवाउने काम भइरहेको वडाले जानकारी दिएको छ ।  

वडा नम्बर ३ ले पनि दैनिक दुई हजार बढीलाई खाना खुवाउँदै आएको जानकारी दिएको छ । वडासँग समन्वय गरेर बोधिसतुवा बिहारले अव्यवस्थित बस्तीमा भएका परिवार, टिचिङ हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवालाई दैनिक खानाको व्यवस्था गर्दै आएको वडाध्यक्ष दिपक केसीले जानकारी दिनुभयो ।

त्यसैगरी वडाकै समन्वयमा नारायणगोपाल चोकको एरिकल ब्याङ्केटकातर्फबाट होम बुढाथोकी र मेघा पार्टी प्यालेसले दैनिक खाना खुवाउने गरेका छन् । सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाका लागि खानाको व्यवस्था गर्दै आएको छ । 

महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले पनि आफ्नो वडामा दैनिक १६ सयको हाराहारीलाई एक छाक खानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

‘अहिले वडा नम्बर १५ का भूँइखेल, चमती, बुद्धपार्क, जनगल्ली विजयश्वरी गरी चार ठाउँमा खाना खुवाउने काम भइरहेको छ’, प्रवक्ता डंगोलले भन्नुभयो, ‘भोलिबाट अन्नपूर्ण चोक चक्रपथबाट सुरु गर्ने तयारी भएको छ । अहिले यी चार ठाउँबाट लगभग १६ जवानलाई दैनिक एक छाक खाना खुवाइ रहेका छौँ ।’ यी चार ठाउँमा विभिन्न सङ्घ-संस्थाले पनि खाना खुवाउनका लागि सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।  

उहाँले वडाकै नेतृत्वमा धादिङ, मकवानपुरलगायतका ठाउँका किसानबाट तरकारी ल्याएर उपभोक्तासमम पुर्‍याउने काम पनि भइरहेको जानकारी दिनुभयो ।

‘महानगरवासी कोही पनि भोकै नरहुन् भनेर पहिलो चरणमा राहत वितरण गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘राहत वितरणमा भिडभाड हुनेलगायतका केही समस्या पनि भए । अब खान नपाउनेहरुलाई खाना पकाएर खुवाउने र सकेसम्म घर-घरमा प्याकिङ सिस्टमको व्यवस्था गर्नेसम्मका विषयमा पनि सोचिरहेका छौँ ।’  

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा पनि महानगरपालिकाका विभिन्न ठाउँमा सामूहिक मेस नै सञ्चालनमा रहेको छ । महानगरको वडा १६ अन्तर्गत बाइपासको तरुण मावि, गंगाहल नजिक होली गार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ । 

यस्तै, वनस्थली खरिबोट, सानो भर्‍याङ, मैपी मन्दीरको प्राङ्गण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिनुभएको छ । महानगरको १७ नम्बर वडाको इन्द्रायणी मन्दिरमा पनि साँझको खाना खुवाउने गरिएको छ । वडा नम्बर १८ ले दुई हजार र वडा नम्बर २७ ले तीन हजार बढीलाई खाना खुवाएको छ । वडा नम्बर ले पनि दुई हजार बढीलाई खाना खुवाएको जानकारी दिएको छ ।

वडा नम्बर ८ ले पशुपति विकास क्षेत्र कोषसँगको समन्वयमा पाँच सय बढीलाई खाना खुवाएको छ । कोटेश्वर समाज सुधार युवा क्लब, सेती ओपी क्लब कोटेश्वरलगायतसँगको समन्वयमा वडा नम्बर ३२ ले पनि सात सय बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा नम्बर २२ ले पनि उपकार सेवा समितिको पहलमा न्युरोडमा एक सय बढीलाई खाना खुवाएको छ । 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया