थप ६ जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ७५ पुग्याे

 वैशाख २१, २०७७ आइतबार १९:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

आइतबार दिउँसो नेपालगञ्जका ९ र पर्साका एक जनामा कोरोना पुष्टि भएकोमा अहिले नेपालगञ्जका थप ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेकाे छ ।

आज दिउँसो कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनी बालक वा बालिका भन्नेबारेमा भने केही पनि खुलेको छैन । उनी नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएका सबैभन्दा सानो उमेरका व्यक्ति हुन् ।

आज संक्रमण पुष्टि भएका ९ जनालाई नै नेपालगञ्जकाे कोरोना अस्पतालमा ल्याउन स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा पुगेको छ । डाक्टर देवकोटाका अनुसार अहिले विराटनगरमा ३१ जना, वीरगञ्जका आज भेटिएका एक जना नयाँ बिरामीसहित ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक/एक जना गरी ४४ जनाको उपचार भइरहेको छ ।

१६ जना भने उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार आजसम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेकाे पनि उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया