कोरोना विरुद्ध लड्न सरकारद्वारा ३ अर्ब ४२ करोड रुपैयाँ बजेट रकमान्तर गरी खर्च

 बैशाख २२, २०७७ सोमबार १७:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरससङ्क्रमण को महामारी विरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । 

सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बतानउनुभयो ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले कोरोना विरुद्धको लडाईँमा बजेट अभाव हुन नदिएको बताउनुभएको हो । 

मन्त्री खतिवडाले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिलेसम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भएअनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताउनुभयो ।

कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सीमा नाकाहरु पूर्ण रुपमा बन्द भएकोले राजश्वमा चाप परेकोसमेत मन्त्री खतिवडाले बताउनुभयो । 

भन्सार नाकाबाट मासिक लक्ष्यको एक चौथाई मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर,अन्तशुल्क अशुली सबैमा कमी आउँदा राजस्व संकलनमा चाप परेको उहाँले बताउनुभयो ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि खर्च गर्ने सम्बन्धमा आवस्यक रकम जुटाउन अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिबद्धता पाएको समेत बताउनुभयो । 

यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताउनुभयो । लकडाउन लम्बिदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्रभाव परेको उहाँले बताउनुभयो ।

 चैत मसान्तसम्म कुल चालु तर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगत तर्फ वार्षिक लक्ष्यको करिब २६ प्रतिशत अर्थात १ खर्ब ५ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० प्रतिशत अर्थात ८४ अर्ब खर्च भएको मन्त्री खतिवडाले बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया