मसँग कोरोनालाई जित्ने आँट छ

 बैशाख २२, २०७७ सोमबार १८:२९:४६ | उज्यालो सहकर्मी


पदम जाग्री / बैतडी, हाल यूएई ।

विश्वलाई नै त्रसित बनाइरहेको कोरोनाबाट म पनि बच्न सकिनँ । सुरक्षाको उपाय अपनाइरहँदा पनि मलाई कोभिड १९ पोजेटिभ देखियो । 

म यूएईमा काम गर्न थालेको तीन वर्ष भयो । अहिले यहाँको आर्म फोर्समा छु । मेरो कम्पनी इजीएसएस हो । म सारझा खलिद पोत कोस्टमा गार्डको काम गर्छु । आर्म फोर्स भने पनि यो आर्मी त होइन, तर यसलाई यहाँको सेक्युरिटी गार्डभन्दा पनि माथि मानिन्छ । भूतपूर्व आर्मी र सशस्त्र प्रहरीले मात्र यसमा भर्ति हुन पाउँछन् । 

मलाई कुनै पनि लक्षण देखिएको थिएन । तर अप्रिल २० तारिखमा म बस्ने ठाँउको सबै जनामा परीक्षण गरेपछि २५ तारिखमा रिपोर्ट आयो । रिपोर्टमा मलाई कोरोना पोजेटिभ देखियो । मसँगै बस्ने अरु तीनजना साथीहरुलाई पनि पोजेटिभ देखियो । तर पनि म केही आत्तिन । मन दह्रो बनाएर बसेको थिएँ । स्वास्थ्यमा पनि केही समस्या थिएन । 

तर त्योभन्दा १०, १२ दिन पहिले मलाई हल्का रुघा लागेको थियो र नाक बन्द भएको थियो । तातोपानी पिएर त्यो पनि निको भइसकेको थियो ।

त्यसपछि कम्पनीले हामी चारै जनालाई तुरुन्तै अबुधाबीको सेख खलिपा भन्ने अस्पतालमा भर्ना गरायो । अस्पतालमा केही उपचार गरेपछि अहिले क्वरेन्टिनको लागि अस्पतालले नै होटेलमा लगेर राखेको छ ।

यहाँ हामी चारै जना एक कोठामा दुई, दुई जना गरेर बसेका छौं । हामीलाई खाने कुरा पर्याप्त दिइरहेको छ । अस्पतालबाट डाक्टरहरुले फोन गरेर हाम्रो अवस्था बुझिरहनुहुन्छ ।

मेराे र एकजना साथीकाे दाेस्राे रिपाेर्ट पनि आज नेगेटिभ आएकाे छ । तर अरु दुईजना साथीहरुकाे नेगेटिभ आएर आज काममा फर्किसके । मेराे आज तेस्राे पटक नाककाे स्वाब लगेकाे छ । डाक्टरहरु बेला बेला फाेन गरिरहनुहुन्छ, आइरहनुहुन्छ । मलाई अरु केही पनि समस्या भएकाे छैन ।

अहिले मेरो अवस्था एकदमै सामान्य छ । म यो रोग लाग्यो भनेर कत्ति पनि डराएको छैन । मैले मेरो घरमा पनि जानकारी गराइसकेको छु । मलाई केही पनि हुँदैन भनेर उहाँहरुलाई सम्झाइसकेको छु । 

मेरो आफ्नो अनुभव अनुसार कोरना लाग्यो भन्दैमा नआत्तिन र आफूलाई कमजोर नबनाउन म सबैसँग आग्रह गर्न चाहान्छु । खानेकुरामा विशेष ध्यान दिने, चिसो नखाने र तातोपानी नियमित पियो भने यो रोग आफै निको भएर जान्छ । म पनि यही गरिरहेको छु । नियमित योग पनि गरिरहेको छु । 

कोरोना लाग्यो भनेर मनमा कुनै डर छैन । कम्पनीले तलब पनि दिएकै छ । नेपाल आउनेबारे अहिले केही सोचेको छैन । तर कोरोना लागेको मान्छेलाई काममा फर्काउँदैन भन्ने सुनेको छु । यस विषयमा भने म चिन्तित छु ।

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया