उद्योगहरूको बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको पत्र
फागुन ११, २०८१ आइतबार
भक्तपुर – काेराेना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका सरकारले लकडाउन घाेषणा गरे पनि भक्तपुरका बासिन्दालाई भने खेतमा पाकेको बाली भित्र्याउन र खेती लगाउन चटारो परेको छ ।
भक्तपुरकाे चार वटै नगरपालिकाको शहरी क्षेत्रमाभन्दा पनि काँठ क्षेत्रका किसानलाई यतिखेर खेतमा तयारी भएका बाली भित्र्याउन र नयाँ बाली लगाउन चटारो परेको हो । अहिले किसानहरु खेतभरि आलु खन्न व्यस्त भएका देखिन्छन् भने गहुँ भित्र्याउने र मकै छर्ने चटारो पनि उत्तिकै छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ को ताथली, सुडाल, वागेश्वरी, नगरकोट क्षेत्रमा र सूर्यविनायक नगरपालिकाको वडा नम्बर ४, ७, ८,९, १० को दधिकोट, गुण्डु, सिपाडोल, नंखेल र चित्तपोल क्षेत्रका किसानलाई आलु भित्र्याउने चटारो परेको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले किसानलाई अहिले आलु खन्ने, गहुँ काटेर भित्र्याउने, मकै छर्ने, खुर्सानी, लहरे तरकारी, फर्सी, काँक्रो रोप्ने, गोडमेल गर्ने र कतिपय ठाउँमा कोदो र धानको बिउ राख्ने चटारो परेको बताउनुभयो । लकडाउन भनेर घरमै बसे जग्गा बाँझो हुने र किसान भोकै पर्ने अवस्था आउने बताउँदै उहाँले लकडाउनले कृषकलाई नरोकेको बताउनुहुन्छ । सामाजिक दुरी कायम राखेरै किसानले खेती गरिरहेको बताउँदै प्रमुख मिश्रले किसानको समस्यालाई बुझेर नगरपालिकाले धान, मकै, कोदोको बिउ वितरण गरेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिका ९ ताथलीकी सुमित्रा कार्कीले लकडाउनले गाउँघरका किसानलाई काम गर्न नरोकेको बताउनुभयो । उहाँले भन्नुभयो, 'कामदार नपाएर समस्यामा परेका छौँ । आलु खन्ने मान्छे पनि पाइएन, गहुँ काट्ने मान्छे पनि पाइएन, बाहिरबाट मजदुरहरु नआएपछि निकै समस्या परेको छ ।' केही दिन यता परेको पानीले धेरैको आलु खेती बिगारेको र कतिपय किसानलाई गहुँसमेत भित्र्याउन समस्या परेको उहाँ बताउनुहुन्छ ।
वागेश्वरीकी किसान उर्मिला गिरीले केही दिनअघि परेको असिना पानीले आलु, हुर्किँदै गरेको काँक्रो, फर्सी, बोडी, करेलाका बोटहरु नष्ट भएको बताउनुभयो । असिना पानीले वागेश्वरीका किसान निकै मर्कामा परेको उहाँको गुनासो छ ।
खेतबारीमा बाली उठाउने र लगाउने किसानको भिड छ । सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी स्थानीय शर्मिला श्रेष्ठ सुरक्षित तरिकाले घरका परिवारले खेत बारीमा काम गरिरहेको बताउनुहुन्छ ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले घर नजिक खेत बारीमा काम गर्ने किसानलाई नराेकिएकाे बताउनुभयाे । खुला हिँडडुल गर्न, भिडभाड गर्न रोक्न लगाए पनि सामाजिक दुरी कायम गरी कृषकलाई खेतबारीको काम गर्न रोक नलगाएको उहाँकाे भनाइ छ । खेत बारीमा काम गरिसकेपछि साबुन पानीले मिचीमिची हातखुट्टा धुन किसानलाई भनेको उहाँले बताउनुभयो ।
भक्तपुरका पालिका अन्तर्गतका फाँटमा काम गर्ने किसानको पनि भिड देखिन्छ । भक्तपुर नगरपालिकाभित्रका अधिकांश बासिन्दाको खेत चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका काँठ क्षेत्रमा रहेकाले उनीहरुलाई भने गाउँका खेतसम्म जान केही कठिनाइ भएको गुनासो गरेका छन् । यद्यपि खेतबारीमा जाने किसानलाई बाटोमा रोक नलगाएको प्रहरीको भनाइ छ ।
अहिले नगदेबालीका रुपमा लगाइने तरकारीमा फर्सी, फर्सीको मुन्टा, बिक्री गर्ने फर्सी, बन्दा, बोडी, बकुल्ला, काँक्रो, घिरउलालगायतका तरकारीको उत्पादन सुरु भइरहेकाले बजार लान भने समस्या परेको किसानहरु बताउँछन् । विशेषगरी काँठ क्षेत्रका किसानलले उत्पादन भएका तरकारी बजार लान नपाएपछि गाईभैँसीलाई खुवाउनु परेको गुनासाे गरेका छन् ।
'बजारमा तरकारी महँगो छ, गाउँमा तरकारी फालाफाल छ । बजार लैजाने साधन नहुँदा र सहज रुपमा बजार पनि नपाइने हुँदा काँठका तरकारीहरु खेर गइरहेको छ', चाँगुनारायण नगरपालिका ९ ताथलीका किसान प्रेमप्रसाद थापा बताउनुहुन्छ ।
यसवर्ष लकडाउनले घरमै बस्नु पर्ने भएपछि जग्गा खण्डीकरण (प्लटिङ) गरी बेच्न तयार पारिएको स्थानमा पनि शहरी क्षेत्रका बासिन्दाले तरकारी लगाएका छन् । भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रका बासिन्दा एवं भाडामा बस्नेहरुले पनि खेर गइरहेको प्लटिङ जग्गामा फर्सी, काँक्रो, बोडी, सिमी, घिरउलालगायतका तरकारी र मकै लगाएका छन् ।
अरु बेला बाँझो हुने जग्गामा पनि यस वर्ष तरकारी फल्न थालेका छन् । त्यसो त सूर्यविनायक नगरपालिकाले जग्गा बाँझो राख्न नपाउने नीतिसमेत अवलम्बन गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । नगरपालिकाले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने भएपछि बाँझो जमिनमा तरकारी खेती गर्नेहरु समेत बढेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।