साउदीको जेद्दामा ४१ जना नेपालीलाई कोरोना सङ्क्रमण, ६ जना निको भए

 बैशाख २५, २०७७ बिहिबार १९:७:४७ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रमा ४१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ जना निको भएका छन् । बाँकी ३५ मध्ये कतिपय निको हुने चरणमा रहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत रेवती पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

‘सङ्क्रमितमध्ये कतिपय निको हुने चरणमा हुनुहुन्छ भने केहीको अस्पतालमा उपचार भइरहेको छ,’ महावाणिज्यदूत पौडेलले भन्नुभयो, ‘सबैको अवस्था सामान्य नै छ ।’

सङ्क्रमित सबैजसोसँग आफूले नियमित फोनमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र सबैको अवस्था सामान्य नै रहेको महावाणिज्यदूत पौडेलले बताउनुभयो ।

उहाँका अनुसार उपचारत सबै नेपालीलाई खान, बस्न र अन्य आवश्यक सुविधामा साउदी सरकारले आफ्ना नागरिक र विदेशी भनेर विभेद गरेको छैन । निको हुने चरणमा रहेकालाई पनि खाना, फलफूलदेखि तातोपानी लगायत सबै व्यवस्था साउदीले नै गरेको छ ।

‘म आफैंले फोनमा कुरा गर्दा पनि उहाँहरुले हामीले राम्रो उपचार पाइरहेको बताउनुभएको छ,’ महावाणिज्यदूत पौडेलले भन्नुभयो, ‘आशा छ उहाँहरु पनि चाँडै नै निको हुनुहुनेछ ।’

साउदी सरकारले गुणस्तरीय उपचार गरिरहेकाले साउदीमा सङ्क्रमित हुने नेपालीका परिवारलाई नआत्तिन र चिन्ता नलिन पनि उहाँले आग्रह गर्नुभएको छ । बरु आफ्ना मानिसलाई साउदी सरकार र दूतावासले जारी गरेका सूचना पढ्न र नियम मान्नका लागि हौसला दिन उहाँले आग्रह गर्नुभयो ।

साउदीले सङ्क्रमितको राष्ट्रियता खुलाउने गरेको छैन । तर महावाणिज्य दूतावासमा विभिन्न माध्यममार्फत सङ्क्रमित ४१ जना नेपालीको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

योसँगै साउदीमा दूतावासको जानकारीमा आएअनुसार सङ्क्रमित नेपालीको सङ्ख्या ४६ पुगेको छ । जसमध्ये ११ जना निको भएका छन् ।

साउदीले कोरोना सङ्क्रमित आप्रवासी श्रमिकको सङ्ख्या धेरै भएकाले उच्च सतर्कता अपनाउन भनेको छ ।

महावाणिज्य दूतावासमा मात्र दिनमा झण्डै एकसय कल

महावाणिज्यदूत पौडेलका अनुसार अहिले कोरोनाको जोखिम बढेसँगै दूतावासमा आफ्नो समस्या र गुनासासहित दिनमा झण्डै एक सय जनाले फोन गर्ने गरेका छन् । गुनासा र समस्या अनुसार कम्पनी, रोजगारदातासँग समन्वय गर्ने काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

दूतावासले अहिले दैनक तीन सिफ्टमा काम गरिरहेको छ । श्रमिकका लागि नै २४ घण्टे हटलाइन नम्बर र श्रमिकको गुनासो सुन्नकै लागि दुई जना कर्मचारी खटाइएको दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया