कोरोना र देश (परदेशीको कविता)

 बैशाख २७, २०७७ शनिबार १२:२२:४१ | मेरो कथा मेरो भोगाई

ऋषि धिताल/चितवन, हाल जापान

हे कोरना  तँ कस्तो छस्, रुवाईस् मन यो अति
सारा जीवन मार्दैछस् ,लुटाई चाहना जति ।

छोरो विदेशमा एक्लै, रोएको छ सधैं हरे !
छोरो  फर्कन खोज्दैछ, देश भन्छ नफर्क रे ।

आमा बा देशमा रुन्छन्, छोरो भोकले मर्दछ
लैजाउ देश आजै नै, मलाई देश हेर्नुछ ।

म पनि एक छोरो हुँ, नेपाली यो हिमाल झैं
म नि  पग्लन्छु तातोमै, बग्दछु जलसँग नै ।

चिल्ला गाड़ी म चाहन्न, लड्छु केवल छाकमा
भुल्दछु दिनमा लड्दै, रुन्छु विदेशमा यहाँ ।

लड्दैछु आज भोकै म, उन्नति गर्न आतुर
पसिना चुहिँदा व्यर्थ, दिनका छाक खातिर ।

रेमिट्यान्स दिए मात्र, खुशी छ देश आज यो
पीडामा म हुँदा भाग्छौ, र त रोक्दैछु सास यो ।

विदेश भन्छ जाउ है, देश चाँडो तिमी अब
देश भन्छ नआउ है, देश लक भयो अब ।

रुँदैछ मन यो आज, छाती पोल्दैछ नि अति
आँशुका दहमा हुन्छु, आँखामा देश झल्झली ।।

 

 

अन्तिम अपडेट: असोज १, २०७७

तपाईको प्रतिक्रिया