बाराका पत्रकार पवन यादवमाथि आक्रमण

 बैशाख २९, २०७७ सोमबार ९:११:३२ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराका पत्रकार पवन यादवमाथि आइतबार बेलुका आक्रमण भएको छ ।

नेपाल प्रेस युनियनका सदस्य एवं बाराबाट प्रकाशित तराई मधेश दैनिक पत्रिकाका प्रकाशक यादवमाथि आइतबार राति बेलुका नौ बजे नचिनेका मानिसहरुको  समूहले कलैया उपमहानगरपालिका २ मा रहेको औधापुर हनुमान मन्दिर नजिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कलैयाबाट उतर झिटकैयामा रहेको घर जाने क्रममा पत्रकार यादवमाथि चारजनाको समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट पत्रकार यादवको निधार काटिएको छ भने शरीरभरि निलडाम छ  भने ल्यापटप, क्यामरा र मोटरसाइकलमा क्षति पुगेको छ । उहाँको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रेस युनियनले घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । युनियन बाराका अध्यक्ष श्यामबाबु यादव र केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति मार्फत घटनामा संलग्नलाई पक्राउ गरि कडा कारबाही गर्न माग गर्नुभएको हो ।

घटनामा संलग्नको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया