कुवेतका केही कम्पनीले भने : नेपालीलाई जहाज चार्टर्ड गरेर पठाइदिन्छौं

 बैशाख ३०, २०७७ मंगलबार १७:३८:१३ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कुवेतमा केही कम्पनीले आफैंले जहाज चार्टर्ड्ड गरेर नेपाली श्रमिकलाई स्वदेश पुर्‍याइदिने प्रस्ताव गरेका छन् ।

कोरोनाको सङ्क्रमण बढेर काम प्रभावित भएसँगै धेरै श्रमिक भएका केही ठूला कम्पनीले जहाज चार्टर्ड्ड गरेर नेपाल पठाइदिने प्रस्ताव गरेका कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । 

‘केही कम्पनीले बरु हामी आफैं नेपाल पुर्‍याइदिन्छौं भन्न थालेका छन्, यस विषयमा के गर्ने भनेर हामी समन्वय गरिरहेका छौं,’ राजदूत भण्डारीले उज्यालोसँग भन्नुभयो, ‘हामीले परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौं ।’

राजदूत भण्डारीका अनुसार कुवेतमा अहिले कोरोनाको कारण नेपाली श्रमिकका ठूला समस्या त छैनन् । तर केही साना कम्पनी, ब्युटीपार्लर, सैलुन, होलसेल पसलहरु, क्याफे, रेस्टुरेन्टहरु झण्डै दुई महिनादेखि बन्द हुँदा यी क्षेत्रमा कार्यरत श्रमिकको रोजगारी गुम्ने सम्भावना रहेको छ ।

‘केही कम्पनीले बरु हामी आफैं नेपाल पुर्‍याइदिन्छौं भन्न थालेका छन्, यस विषयमा के गर्ने भनेर हामी समन्वय गरिरहेका छौं,’ राजदूत भण्डारीले उज्यालोसँग भन्नुभयो, ‘हामीले परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौं ।’

अहिले पनि कतिपयले दूतावासमा तलब नपाएको, कतिले आधा मात्र पाएको भन्ने गुनासो गरिरहेका छन् । ठूला कम्पनीहरुमा त्यति धेरै समस्या नआइसकेको राजदूत भण्डारीले बताउनुभयो । 

‘यो अवस्था कहिलेसम्म लम्बिने भन्ने ठेगान नहुँदा कम्पनीहरुले श्रमिकलाई बेतलबी बिदामा राख्ने मनस्थितिमा पुगेको देखिन्छ’ राजदूत भण्डारीले भन्नुभयो ‘यो स्थिति कति लम्बिन्छ, त्यो समयले कुवेतमा रहेका कति नेपालीको रोजगारी गुम्न भन्ने निर्धारण गर्छ, अहिले यसै भन्न सकिने अवस्था छैन ।’

कुवेतले कोरोना सङ्क्रमण रोकथामका लागि मे १० देखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गरेको छ । बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म आफू बसोबास गर्ने क्षेत्रभित्र स्वास्थ्य सुरक्षा अपनाएर पैदल हिँड्न सक्ने तर गाडी चलाउन नपाइने नियम छ । 

आममाफीमा सहभागी भएकालाई पठाउन कुवेत तयारी अवस्थामा

राजदूत भण्डारीका अनुसार नेपाल तयार रहेको अवस्थामा आममाफीमा सहभागी भएकालाई पठाउन सक्ने परिस्थिति बनिसकेको छ । कुवेतले कहिलेसम्म फर्काउन सक्ने परिस्थिती बन्छ भनेर चासो राखिरहेको र यसबारे दूतावासले समन्वय गरिरहेको राजदूत भण्डारीले बताउनुभयो । 

‘कहिलेसम्म वातावरण बन्छ भन्ने जिज्ञासा आइरहेको छ, अहिलेसम्म प्रेसर चाहिँ आएको छैन’ राजदूत भण्डारीले भन्नुभयो, ‘यहाँको परराष्ट्रसँग पनि र नेपालमा पनि हामी समन्वयमा छौं, नेपालमा व्यवस्था भए कुवेतले पठाउन सक्ने परिस्थिति बनिसकेको छ ।’

कुवेतले भिसाको अवधि सकिएका तर नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गरेकालाई आममाफीमा सहभागी गराएर स्वदेश फर्कने अवसर दिएको थियो । आममाफीमा सहभागी हुनेले भिसाको अवधि सकिएपछिको अवधिको जरिवाना तिर्न नपर्ने र अघिल्लो रोजगारदाता छाडेर अर्कोमा काम गर्दा पहिलाको रोजगारदाताले गरेको मुद्दा वापत कुनै सजाय वा जरिवाना तिर्नु पर्दैन । यसरी स्वदेश फर्कनेले फेरि प्रक्रिया गरेर कुवेत फर्कन पनि पाउनेछन् । 

‘धेरै समस्या त छैन तर जति आएका छन्, त्यसको समाधानका लागि सबैसँग समन्वय गरेर समाधानको प्रयास गरिरहेका छौं,’ राजदूत भण्डारी भन्नुहुन्छ,

गएको अप्रिल २६ देखि ३० सम्म आममाफीमा सहभागी हुन नेपालीलाई दिएको समयमा २५ सयदेखि २८ सय जति श्रमिक सहभागी भएको राजदूत भण्डारीको अनुमान छ । 

साथमा पासपोर्ट नभएका झण्डै २६ सयको दूतावासले यात्रा अनुमति पत्र दिएको छ । साथमा पासपोर्ट भएकाहरु सिधै कुवेतले तोकेको ठाउँमा जान सक्ने भए पनि त्यो सङ्ख्या निकै कम भएकाले झण्डै २८ सय यस प्रक्रियमार्फत फर्कन सक्ने राजदूत भण्डारीको भनाइ छ । 

आममाफीमा सहभागीलाई कुवेतले आफ्नै जहाजमार्फत नेपालसम्म ल्याइदिन्छ । अहिले सहभागी भएका सबै नेपाली श्रमिक कुवेत सरकारले नै स्थापना गरेको क्याम्पमा बसिरहेका छन् । उनीहरुलाई खाद्यान्नको व्यवस्था पनि कुवेतले नै गरेको छ । 

घर फर्कन एक हजारको आवेदन

कुवेतमा रहेका नेपालीलाई कोरोनाका कारण परेका समस्या र चाहनासहित दूतावासले सङ्कलन गरेको विवरण अनुसार साेमबार बिहानसम्म लगभग एक हजार जनाले स्वदेश फर्कनका लागि दूतावासमा निवेदन गरेका छन् । 
दूतावासले अनलाइन फारम, फोन र भाइवर लगायतका माध्यमबाट पनि आएका गुनासाको अभिलेखिकरण गर्ने र समस्या समाधाका लागि पहल गर्ने गरिरहेको छ । 

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै दूतावासमा भिसा सकिएका, घर फर्कन नपाएको गुनासो धेरै आउने गरेका छन् । यस्तै काम नभएको कारण खाद्यान्नको समस्या हुनेले पनि सम्पर्क गर्ने गरेका छन् ।

खाद्यान्नकै समस्या हुनेलाई दूतावासले गैरआवसीय नेपाली संघ लगायत नेपाली संघसंस्थासँग समन्वय गरेर सहयोग र समन्वय गरिरहेको राजदूत भण्डारीले बताउनुभयो । श्रमिकका समस्या समाधानका लागि केही स्वयंसेवकको समन्वयमा पनि काम भैरहेको छ । 

दूतावासलाई कुवेत सरकारले दिएको जानकारी अनुसार मे ३ सम्म ८४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

‘धेरै समस्या त छैन तर जति आएका छन्, त्यसको समाधानका लागि सबैसँग समन्वय गरेर समाधानको प्रयास गरिरहेका छौं,’ राजदूत भण्डारी भन्नुहुन्छ, ‘कतिपय कम्पनीमा नै सम्पर्क गरेर अथवा अन्य माध्यमार्फत पनि समस्या समाधान भैरहेको छ ।’

दूतावासलाई कुवेत सरकारले दिएको जानकारी अनुसार मे ३ सम्म ८४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । तर त्यसपछि कुवेतले राष्ट्रियता खुलाएर सङ्क्रमितको विवरण नदिएको राजदूत भण्डारीले बताउनुभयो । 

आफूलाई परेका समस्या राख्न अनुरोध

अहिलेको अवस्थामा रोजगारीसँग सम्बन्धी आइपरेका समस्या तथा गुनासा आफ्नो नाम, सिभिल आइडी नम्बर, आफ्नो सम्पर्क नम्बर, आफू कार्यरत कम्पनीको नाम र विवरण तथा कम्पनीको सम्पर्क नम्बरसहित  कुवेतको पब्लिक अथोरिटी अफ म्यानपावरमा राख्न सकिने दूतावासले जनाएको छ । अथोरिटीमा ९९१७५२७२ नम्बरमार्फत ह्वाट्स्एअ मेसेज पनि गर्न सकिन्छ । 

यसरी समस्या राख्न अप्ठेरो भएमा वा दूतावासलाई नै कुनै गुनासो वा समस्या भन्न परेमा २५३२१६०३, २५३२१६०४, २५३२१६०५ नम्बरमा र हटलाइन नम्बर ९८८६९१२१ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Basanta Rai

    May 13, 2020, 6:49 a.m.

    बिशेष कोभिद १९ महामारी चलिरहेको सबैलाई अवगत नै छ र त्यसमाथि ज्यादाजसो कम्पनी बन्द हुँदै गरेको सबैलाई थाहा भएकै कुरा हो...त्यसमा पनि मेरो कम्पनी बन्द भएको दुइ महिना भैसक्यो / घर जान तयार भएर बसेको धेरै भैसक्यो / आजको दिनसम्म त दु:ख सुख बसियो ...तर अब खल्ती रित्तो छ / अब पनि चुप लागेर बसे भोलि भोकै मरिने डर बढी रहेको छ, जसले गर्दा जति सक्दो चाँडो त्यहाँवाट पहलको आशा राखेको छु / मेरो अरु पनि समस्या छन् - १. मेरो भिसाको म्याद सकिएको, २. इमिरेटको आइडी पनि एक्सपाएर Basanta Rai

  •  0 Reply

तपाईको प्रतिक्रिया