विदेशमा शवको सङ्ख्या बढ्दै : परिवारलाई दुई विकल्प

जहाज चार्टर्ड गरेर ल्याउन सम्भव छैन

 बैशाख ३१, २०७७ बुधबार २०:७:८ | सन्जिता देवकोटा

काठमाण्डौ – कोरोनाको जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ज्यान गुमाएकी झापाकी निता चौधरीको शव दुई महिनापछि उतै अन्त्येष्टि गरियो । दूतावासले शव नेपाल लैजान अनुमति पनि दिएको थियो ।

प्रक्रिया मिल्दै थियो । तर त्यसको दुई दिनपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । निताको मुख हेर्ने परिवारको चाहना पूरा हुन सकेन । दूई महिना कुर्दा पनि जहाज चलेन । शव कहिलेसम्म कुर्ने ? जहाज चल्ने दिन कुर्दाकुर्दै थाकेको निताको परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दियो । गएको बिहीबार यूएईमै अन्त्येष्टि भएको हो ।

रुपन्देहीकी बिनु पराजुलीको मृत्यु भएपछि कोरोनाको कारण ज्यान गएको अस्पतालले पुष्टि गर्‍यो । कोरोनाको कारण ज्यान गुमाउनेका शव नेपाल आउने कुरै भएन । एक त अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि ल्यान मिल्दैन ।

अर्को, अन्य कारणले ज्यान जानेको शव त ल्याउन नसकेको अवस्थामा कोरोनाको कारण ज्यान गुमाएकी बिनुको शव ल्याउन सकिने कुरै भएन । लामो समयदेखि घर नर्फकिएकी बिनुलाई लिन भिजिट भिसामा यूएई नै पुगेका बिनुका श्रीमानले श्रीमतीको सास भेट्न सक्नु भएन । जहाज खुल्ने छाँट नदेखेपछि बिनुको पनि यूएईमै अन्त्येष्टि गरियो । 

वैदेशिक रोजगार बोर्डका अनुसार अहिलेसम्म ७ जनाको गन्तव्य देशमै अन्त्येष्टि गरिएको छ । यूएईमा कोरोना सङ्क्रमित चार जनाको, टर्कीमा कोरोनाकै कारण ज्यान गुमाएका एक जनाको र सेसल्समा एक जना नेपालीको परिवारको सहमतिमा अन्त्येष्टि गरिएको हो । 

बोर्डका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुनुअघि र यही अबधिमा अहिलेसम्म ११ देशमा १ सय ४४ नेपालीको ज्यान गएको छ । जसमध्ये १५ जना मृतकका परिवारले विदेशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । बाँकी १२९ मृतकका आफन्त भने आफ्नो मान्छेको शव आउने दिन कुरिरहेका छन् । 

११ देशमा १४४ जनाको मृत्यु

यूएईमा दुई महिला र ३० पुरुष गरी ३२ जना, साउदीमा १ महिला र ३३ जना पुरुष गरी ३४ जना, मलेसियामा २९ जना पुरुष, कतारमा ३५ जना पुरुष, कुवेतमा तीन महिला र ४ पुरुष गरी ७ जना, बहराइनमा दुई जना पुरुषको शव रहेको बोर्डले जनाएको छ । 

यस्तै सेसल्समा एक जना (अन्त्येष्टि भइसकेको), दक्षिण कोरियामा दुई जना, टर्कीमा एक जना, ओमानमा १ जना गरी १४४ जनाको यो अवधिमा ज्यान गएको छ । जसमध्ये १५ जनाका परिवारले विदेशमै अन्त्येष्टिका लागि सहमति दिएका छन् भने ७ जनाको अन्त्येष्टि भइसकेको छ । 

परिवारलाई ५० हजार सान्त्वना राहात

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव ल्याउन समस्या भइरहेको अवस्थामा पनि कतिपयका परिवार आफन्तको शव आउने दिन कुरिरहेका छन् । तर बोर्डले भने यो अवस्था कहिलेसम्म लम्बने हो र कहिले अन्तर्राष्ट्रिय उडान खुल्ने भन्ने यकिन भन्न नसकिने भएकाले परिवारका सदस्यलाई गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिन अनुरोध गरिरहेको छ ।

बोर्डले यसरी गन्तव्य देशमै अन्त्येष्टिको अनुमति दिने परिवारलाई सान्त्वना राहतस्वरुप ५० हजार रुपैयाँ दिने भनेर घोषणा पनि गरेको छ ।  तर बोर्डको यो निर्णयको आलोचना भइरहेको छ । 

बोर्डले कर गरेको हैन, अनुरोध गरेको हो : कार्यकारी निर्देशक श्रेष्ठ

बोर्डले लोभ्याउन वा मृतकका परिवारको भावनामा चोट पुर्‍याउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको भन्दा पनि विषम परिस्थितिमा सहयोग गरेवापत सान्त्वना राहात दिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताउनुभयो । 

यो परिस्थितिमा उतै अन्त्येष्टि गर्न दिने परिवारलाई सरकारले सान्त्वना राहत स्वरुप मात्र ५० हजार रुपैयाँ दिएको उहाँको भनाइ छ । 

‘हामीलाई आफन्तको शव चाहिन्छ भन्नुहुन्छ भने पनि हामी तपाईँको भावनाको कदर गर्छौं, तर अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म कुर्नुपर्छ, धैर्य गर्नुहोस् हामी जहाज चल्नासाथ ल्याइदिन्छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘होइन तपाईँहरुको मनले मान्छ भने, परिवारमा सल्लाह गर्नुहोस्, जे नहुनु भयो, महिनौंसम्म पीडामा बस्नुभन्दा अनुमति दिनुहोस्, दूतावासको प्रतिनिधिकै उपस्थितिमा सदगत हुन्छ ।’

सामान्य अवस्थमा पनि दैनिक दुईदेखि तीनवटा शव नेपाल भित्रने अवस्थामा अहिलेको यो महामारीको समयमा झन शवको सङ्ख्या बढिरहेको छ । गन्तव्य देशमा पनि कोरोना सङ्क्रमण फैलिइरहेको अवस्था छ । 

अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म विदेशमा रोकिएका शव ल्याउन सक्ने अवस्था नरहेको उहाँले प्रष्ट पर्नुभयो । अहिले बोर्डले सकेसम्म र मिल्नेजति मृतकका परिवारलाई गन्तव्य देशमै अन्तयेष्टिका लागि अनुमति मागिरहेको छ । नेपालको मात्र नभएर गन्तव्य देशमा पनि लकडाउन र कर्फ्युकै अवस्था रहेकाले कहिलेसम्म अन्तर्राष्ट्रय उडान खुल्छ भन्ने अनुमान लगाउन सक्ने अवस्था छैन । 

सामान्य अवस्थमा पनि दैनिक दुईदेखि तीनवटा शव नेपाल भित्रने अवस्थामा अहिलेको यो महामारीको समयमा झन शवको सङ्ख्या बढिरहेको छ । गन्तव्य देशमा पनि कोरोना सङ्क्रमण फैलिइरहेको अवस्था छ । 

कोरोनाको कारण मृत्यु हुनेको शव त परिवारको अनुमतिबिनै पनि अन्त्येष्टि गर्न सक्ने भए पनि बोर्डले दूतावाससँग अनुरोध गरेर परिवारको अनुमति लिएर मात्र अन्त्येष्टि गर्ने गरिएको श्रेष्ठले बताउनुभयो । समय लम्बिंदै जाँदा र शवको सङ्ख्या धेरै हुँदा बिनु अनुमति पनि शवको अन्त्येष्टि गन्तव्य देशले नै गरिदिने जोखिम पनि बढिरहेको छ । 

‘बोर्डको मात्र पहलले अहिले सबै शव ल्याउन सक्ने अवस्था छैन, अहिले सरकारको निर्णय पनि नागरिककै स्वास्थ्य सुरक्षाका लागि हो, त्यसैले कहिले आउँछ शव भन्न सकिन्न,’ कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ, ‘तपाईँहरु लामो समयसम्म पीडामा बस्न नपरोस् भनेर भनेका हौं, हामीलाई शव ल्याइदिनुस् नै भन्नुहुन्छ भने, अन्तर्राष्ट्रिय उडान नखुलदासम्म कुर्नुहोस्, अर्को विकल्प छैन ।’

जहाज चार्टर्ड गरेर ल्याउन सम्भव छैन  

दिनहुँ शवको सङ्ख्या बढ्नु र कोरोनाको जोखिम पनि उत्तिकै भएकाले अहिले जहाज चार्टर्ड गरे शव ल्याउन सकिने अवस्था पनि नरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।

अन्य देशले आफ्ना नागरिक लगेको देख्दा धेरैलाई त्यसैगरी शव झिकाउन सकिने लागे पनि समस्यामा परेका नेपालीको त उद्धारका लागि जहाज चार्टर्ड नभएको सन्दर्भमा अहिले बोर्डले त्यसबारे नसोचेको र सम्भावना पनि नभएको उहाँको भनाइ छ । 

उहाँका अनुसार अहिले विदेशमा आफन्त गुमाउनेका परिवारसँग दुईवटा मात्र विकल्प रहेका छन् । पहिलो, अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म कुर्ने । दोस्रो चाहिँ गन्तव्य देशमा अन्त्येष्टिका लागि अनुमति दिने नै हो । कोरोना बाहेक अन्य कारणले मृत्यु हुनेका परिवारलाई मिलेसम्म गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमित दिन र मिल्दैन भने धैर्य गर्न उहाँले आग्रह गर्नुभयो । 

गन्तव्य देशमा अन्त्येष्टि हुँदा पनि सरकारी राहत पाइन्छ

विदेशमा अन्त्येष्टि गरे पनि श्रम स्वीकृति लिएर गएका मृतकका परिवारले आर्थिक सहायता पाउने श्रेष्ठले बताउनुभयो । 

बोर्डले मृतकका परिवारलाई राहत क्षतिपूर्तिस्वरुप ७ लाख रुपैयाँ र बालबच्चालाई छात्रवृत्ति लगायत सहयोग गर्छ । यस्तै बोर्डले बीमा समितिलाई विदेशमै अन्त्येष्टि गर्नेका परिवारलाई बिमा वापतको रकम नघटाइ दिन आग्रह गर्दै पत्र लेखेको छ ।

विदेशै अन्त्येष्टि गरेकाको हकमा एक लाख रुपैयाँ घटाएर रकम प्रदान गर्ने कुरा आए पनि बोर्डले पूरा रकम प्रदान गर्न आग्रह गरेको र पूरै रकम पाउने पनि श्रेष्ठले बताउनुभयो । 

अहिले लकडानका कारण बोर्डको सचिवालय बन्द भए पनि राहतका लागि मृतकका परिवारले पालिकामार्फत पनि निवेदन दिन सक्छन् । मृत्यु भएको एक वर्षभित्र निवेदन दिँदा पनि हुने भएकाले लकडाउन खुलेपछि बोर्डको सचिवालय वा पालिकामार्फत निवेदन दिन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • देवीलाल पौडेल

    May 14, 2020, 7:35 a.m.

    बिदेशमा ज्यान गुमाउनेका परिवारलाई बिदेशमा काम दिने कम्पनीले गराएको जीवन बिमाको पुरा रकम, कम्पनीले कम्पनिको तर्फबाट दिने राहत रकम, वैदेशिक रोजगार बोर्डले दिने रकम र नेपालमा गरिएको बिमाको पुरा रकम सबै संकलन गरेर मृतकका परिवारलाई एकमुष्ठ दिनुपर्छ / दिलाईदिनु पर्छ, कम्तिमा एक महिना भित्र । होइन भने वैदेशिक रोजगार बोर्ड र सम्बन्धित देशमा भएका दूतावासहरुले यसको पुरै जिम्मेवारी लिनुपर्छ।(मेरो विचारमा) धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया