पैसा प्यारो, तर त्यही पैसा पठाउने मान्छेलाई चाहिँ हेलाँ ?

 जेठ २, २०७७ शुक्रबार १६:२६:५४ | मेरो कथा मेरो भोगाई

उमानन्द भुसाल/अर्घाखाँची, हाल यूएई

काठमाण्डौ – मसँगै काम गर्ने साथीहरुलाई उनीहरुको देशको सरकारले स्वदेश फर्काइसक्यो । तर म एक महिना भयो कोठामा सुतेको सुत्यै छु । भनौं कोठाभित्रै कैद छु । 

आफ्ना देशका नागरिकलाई उचित व्यवस्थापन गर्न सरकारले चासो नदेखाउँदा यहाँको सरकारले पनि ध्यान दिन छाडिसक्यो । यहाँको सरकारले नेपालीहरुप्रति ‘मरे मरोस् बाँचे बाँचोस्’को मनस्थिति बनाएको देखिन्छ ।

यूएईले त झन् आफ्नो देशबाट नागरिकलाई फिर्ता लैजान सबै देशलाई आग्रह गरिसकेको छ । तर नेपाल सरकारसँग भने कुनै स्पष्ट धारणा नै छैन । योभन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ ?

यस्तै कुनै देशहरूले आफै विमान चार्टर गरेर तिम्रो नागरिक पठाइदिन्छौंं भनिरहँदा पनि नेपाल सरकारले उचित जवाफ दिन सकिरहेको छैन । त्यसैको प्रभाव अहिले परदेशमा रहेका लाखौं नेपाली श्रमिकलाई परिरहेको छ ।

मसँगै काम गर्ने धेरै भारतीय साथीहरु भारत सरकारले लिएको नीति कार्यक्रम अन्तर्गत सहभागी भइ अब केही दिनमै स्वदेश फर्किदै छन् । पाकिस्तानले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काउने भैसक्यो । तर हाम्रो देश भने हेरिरहेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्ने छाँटकाँट केही देखिएको छैन । क्या गज्जब को सरकार ! पैसा प्यारो तर त्यही पैसा पठाउने मान्छे हेलाँ । आखिर यस्तो कहिलेसम्म चल्ने हो ?

परदेशमा रहेका नेपाली श्रमिकहरुको अहिलेको आशा भनेको नेपाल सरकारले पनि हामीहरुलाई जतिसक्दो चाँडो स्वदेश फर्किने वातावरण मिलाओस् भन्ने हो ।

अहिलेसम्म विदेशबाट आउँदा रोग लिएर आउँछन्, सङ्क्रमण हुन्छ भन्ने गलत सोचाइका कारण नै हाम्रो सरकारले कुनै निर्णय लिन नसकेको जस्तो मलाई लाग्छ ।

हामीहरुको उचित व्यवस्थापन, कडा क्वरेन्टिन र निरन्तर स्वास्थ्य परीक्षण गर्ने व्यवस्थाका साथ स्वदेश फर्काउनुपर्छ । परदेशमा रहेका लाखौं नेपाली श्रमिकको अहिले नेपाल सरकारसँग यही माग छ ।

 

अन्तिम अपडेट: असार ४, २०७७

तपाईको प्रतिक्रिया