परदेशमा होइन, अब आफ्नै गाउँठाउँमा केही गर्ने सोच पलायो

 जेठ ३, २०७७ शनिबार १२:३५:३६ | मेरो कथा मेरो भोगाई

सौरभ बन्जाडे/नेपाल, हाल साउदी अरब

काठमाण्डौ – अहिले विश्वव्यापी फैलिरहेको कोरोनाले बेरोजगारी निम्त्याउने देखिन्छ । नेपालमा र परदेशमा रहनुभएका मजस्तै लाखौं नेपालीहरुको जागिर गुम्ने खतरा बढेको छ । यस्तो अवस्थामा अब हामीहरु स्वयंले गाउँठाउँमा केही गर्नुपर्छ ।

आ–आफ्नो समस्याले गर्दा म जस्ता धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई जहाजले उडाएर यो प्रदेशको मरुभूमीमा ल्याएर छोडिदियो । त्यसपछि बल्ल थाहा भएको हो मलाई, परदेश कस्तो हुदोरहेछ भनेर । सुरुका दुई, चार दिन यहाँको रमझमले राम्रै लागे पनि पछि बिस्तारै आफ्नै गाउँठाउँको याद आउन थाल्दो रहेछ ।

गाउँ बेसी अनि ती पाखापखेरा । आफू जन्मेको त्यो प्यारो गाउँ । साथीभाइहरुसँग रमाएको, बुवा आमाको माया परदेशी भएपछि बढी बुझिंदो रहेछ । यिनै कुराले दिमागमा डेरा जमाएर बसेको हुन्छ । 

परदेशीको जीवन पनि भोगियो । लाग्छ अब कति बस्नु यो प्ररदेशमा । अब स्वदेश फर्केर आफ्नै गाउँठाउँमा केही गर्न मन छ । कुटो कोदालो गरेर आफ्नै बाँजा खेतबारीमा अनेकथरी अन्न फलाउन मन छ । 

बुवाआमालाई पनि कति एक्लै बनाउनु, अब हामीहरुले केही सोच्नुपर्ने बेला भएको छ साथी हो । हो अब त केही सोच्नै पर्छ । सधैँभरी यसरी अर्काको देशमा अर्काको नोकरी गरेर कति बस्ने रु आखिर एक न एक दिन त फर्की जाने त्यहीँ गाउँ त हो नि । त्यसैले अब ढिलो नगरौं, हाम्रा घरआँगन, बाँझा बारीहरु र बुवाआमाका आँखाले हाम्रै बाटो कुरी बसेका छन् ।

हुन त परदेशले हामीलाई धेरै कुराको ज्ञान दियो । परदेशी हुनुपरेकोमा मन दुखाउनुपर्ने पनि केही छैन । अब परदेशमा सिकेको ज्ञान र सीपलाई  आफ्नै ठाउँमा, आफ्नै माटोमा लगाउने समय आएको छ । 

अब त केही गर्नैपर्छ । यो पैसा भन्ने चिज जति भए पनि कहिल्यै पुग्दैन । त्यसैले आफ्नो मनलाई फराकिलो पार्दै आफ्नै स्वदेश फर्किनुपर्छ । कमाइ कम होला तर परिवारसँगको माया र आफ्नै देशमा काम गरेको गौरव धेरै हुन्छ ।

त्यसैले म परदेशमा रहनुभएका सबै साथीहरुलाई स्वदेश फर्किन विनम्र अनुरोध गर्न चाहन्छु । गाउँमा गएर त्यहाँका युवा दाजुभाइ दिदीबहिनी सबैसँग मिलेर छलफल गरौं । सबैको सहमतिमा समाज र देशको लागि हित हुने कुनै गुरुयोजना तयार गरौं र त्यसैमा काम गरौं ।

अब हामीहरुले हाम्रो गाउँलाई नमुना गाउँको रुपमा परिवर्तन गर्नुपर्छ । काम गरेर देखाउने समय यही हो । हाम्रो देशको माटो उर्बर छ । जे फलाए पनि फल्छ । तर काम गर्दा राजनीति मिसाएर होइन पसिना मिसाएर गर्नुपर्छ ।

मेलमिलापले नै हामीहरुलाई सफल बनाउने हो । अब हामीले जे गरे पनि एकजुट भएर आफ्नै देशमा गर्नुपर्छ ।

 

अन्तिम अपडेट: जेठ ३२, २०७७

तपाईको प्रतिक्रिया