मे ३० सम्म कतारमा सबै व्यापारिक क्रियाकलाप बन्द

 जेठ ६, २०७७ मंगलबार १६:१८:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारमा आजदेखि मे ३० सम्म सबै पसल र व्यापारिक क्रियाकलापहरु बन्द हुने भएका छन् ।

त्यहाँको स्थानीय पत्रिका द पेनिन्सुला कतारका अनुसार सोमबार बसेको कतारको मन्त्रीपरिषदको बैठकले खाद्य, क्याटरिङ पसल, औषधि पसल र होम डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सबै व्यापारिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषदले प्रत्येक नागरिकलाई मोबाइलमा एहतराज ( EHTERAZ ) एप इन्स्टल गर्न पनि निर्देशन दिएको छ । कुनै कारणबस घरबाट बाहिर निस्किंदा यस एपले सहयोग गर्ने र यो निर्देशन मे २२ देखि अर्को सूचना जारी नआएसम्म लागू हुने जनाइएको छ । 

यस्तै मन्त्रीपरिषदको निर्णयअनुसार अब एउटा गाडीमा सवारी चालकसहित दुईजना भन्दा बढी बस्न नपाउने भएका छन्  । तर ट्याक्सी वा लिमोजिनमा यात्रा गर्दा वा परिवारका सदस्यले गाडी चलाइ निजी गाडीमा यात्रा गर्दा भने बढीमा तीनजनासम्म यात्रा गर्न मिल्नेछ ।

यी निर्णको पालना नगरेमा तीन वर्ष जेल सजाय र दुई लाख सम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने जनाइएको छ ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया