कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो

 जेठ ८, २०७७ बिहिबार १८:४०:९ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गएको छ । धनुषाका एक युवकको कोरोनाको कारण ज्यान गएको र अरु सङ्क्रमितको कतार सरकारले नै उपचार गरिरहेको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताउनुभयो ।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक भन्ने कुरा आए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ भनेर दूतावासलाई जानकारी छैन।

सङ्क्रमित भएका झण्डै ६० जनाले दूतावासमा सम्पर्क गरेर आफ्नो बारेमा जानकारी गराएको र उनीहरुको स्वास्थ्य अवस्था लागायत अस्पतालले दिएका सेवा सुविधाबारे दिनहुँ फोनमार्फत जानकारी लिने काम भैरहेको राजदूत भारद्वाजले बताउनुभयो ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले भने कतारमा २५ सय नेपालीमा कोरोना सङ्क्रमण भएकाे जनाएको छ । सङ्क्रमितमध्ये निको भएर काममा फर्कने धेरैले दूतावासमा सम्पर्क गर्ने गरेका छन् ।

उनीहरुसँग दूतावासले कतार सरकारले दिएको स्वास्थ्य उपचार लगायतबारे सोधपुछ गर्दा उपचारमा भेदभाव नगरेको पाइएको राजदूत भारद्वाजले बताउनुभयो ।

‘अहिले यहाँ कोरोना सङ्क्रमण पिकमा पुगेको छ, विज्ञहरुका अनुसार अब घट्दै जानेछ,’ राजदूत भारद्वाजले भन्नुभयो, ‘सङ्क्रमित नेपालीको सङ्ख्या पनि निकै हुनसक्छ तर उपचार राम्रो भइरहेको छ, निको हुनेको सङ्ख्या पनि बढी नै छ ।’

कतारले सुरुका दिनमा कोरोनाको कारण मृत्यु हुनेको शव व्यवस्थापन २४ घण्टाभित्र गरिसक्ने भनेको थियो । तर कोरोनाका ज्यान गुमाएका धनुषाका युवकको शव भने अहिलेसम्म कतारले सुरक्षित साथ राखिदिएको छ ।

अन्त्येष्टिका लागि परिवारसँग अनुमति लिनको लागि दूतावासले वैदेशिक रोजगार बोर्डलाई भनेको छ । परिवारले अनुमति पत्र पठाएपछि कतारमा शव व्यवस्थापन हुन्छ ।

कतारमा यो दुई महिनाको अवधिमा ज्यान गुमाएका मध्ये ४० जनाको शव छ । एक जना महिलाको भने श्रीमान उतै भएकाले सदगत भैसकेको छ । ४० जनामध्ये ६ जनाका परिवारले कतारमा सदगत गर्न अनुमति दिएको राजदूत भारद्वाजले जानकारी दिनुभयो ।

परिवारले अनुमति दिएमा कतारमै सदगतको लागि दूतावासले समन्वय गर्ने र नभए लकडाउन नखुल्दासम्म कुर्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया