आर्थिक वृद्धिदर १ प्रतिशतमा सीमित हुन सक्ने, रेमिट्यान्समा २० प्रतिशतले कमी आउने

 जेठ ११, २०७७ आइतबार २०:३५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको आर्थिक वृद्धिदर एक प्रतिशतमै सीमित हुन सक्ने एक अध्ययनले देखाएको छ । नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले लकडाउनको अवस्था लम्बिँदै गएमा आर्थिक वृद्धिदर एक प्रतिशतमा सीमित हुन सक्ने जनाएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘तथ्याङ्क विभागले गएको महिना गरेको प्रक्षेपण अनुसार यो वर्षको वृद्धिदर २ दशलमलव ३ प्रतिशत हुने भए पनि लकडाउन लम्बिँदै गएको अवस्थाले गर्दा लगभग एक प्रतिशतमा झर्ने अनुमान हुन थालेको छ । होटल, रेस्टुरेन्ट, यातायात, उद्योग र निर्माण क्षेत्रको वृद्धिदर नकारात्मक हुनेछ ।’

यस्तै कोरोना महामारीको गम्भीर असर विदेशी मुद्रा आर्जनमा पनि पर्ने अध्ययनले जनाएको छ । कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भाग ओगट्ने रेमिट्यान्समा ठूलो गिरावट आउने अध्ययनले देखाएको छ ।

गत वर्ष ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आयात भएकोमा यो वर्ष २० प्रतिशतसम्म कमी आउने विशेष समितिको निष्कर्ष छ ।

नेपाली कांग्रेसले पूर्व अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले, जगदीशचन्द्र पोख्रेल, गोविन्द पोख्रेल, पृथ्वीराज लिगललगायतका अर्थशास्त्री समेटेर विशेष समिति बनाएको थियो ।  

अन्तिम अपडेट: असार ९, २०७७

तपाईको प्रतिक्रिया