सन्दीप र कुशल २० वर्षमुनिका उत्कृष्ट खेलाडीकाे सूचीमा

 जेठ १२, २०७७ सोमबार १६:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका 'द नेशनल'ले सार्वजनिक गरेकाे विश्वका युवा खेलाडीकाे सूचीमा नेपालबाट दुई जना खेलाडी परेका छन् । पत्रिकाले सार्वजनिक गरेकाे २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीकाे सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्ल परेका हुन् ।  

याे सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीकाे बाहुल्यता रहेकाे छ । यस्तै एसाेसिएट क्रिकेटबाट याे सूचीमा पर्ने खेलाडीमा यूएई र स्कटल्यान्डका एक–एक जना समावेश छन् । पत्रिकाले जनाए अनुसार यो सूचीमा भारतबाट धेरै खेलाडी परेका छन् । यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् ।

उत्कृष्ट खेलाडीको सूचीमा परेका भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवी बिस्नोइ, कार्तिक त्यागी, प्रियम ग्राग रहेका छन । यी सबै १९ वर्षका रहेका छन् । यी खेलाडीमा यशस्वी यो सिजनको आईपीएलमा पनि बिक्री भइसकेका खेलाडी हुन् भने ग्राग भारतको यू–१९ क्रिकेटका कप्तान हुन् र पहिलो श्रेणीमा दोहोरो शतक बनाएका खेलाडी हुन् ।

यस्तै त्यागी पनि आईपीएलमा छनोट भएका यू–१९ का खेलाडी हुन् । उनले भारतबाट विश्वकप पनि खेलेका छन् । रवी बिस्नाेइ भारतका युवा बलर हुन्, जसले दक्षिण अफ्रिकामा भएको विश्वकपमा धेरै विकेट लिएका थिए ।

नेपालबाट परेका सन्दीप लामिछाने एक चर्चित युवा क्रिकेटर हुन् । विश्वका प्रायः सबै फ्रेन्चाइजी लिग खेलेका सन्दीप नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट लिने पहिलो खेलाडी हुन् । यसका साथै उनी एकदिवसीय क्रिकेटमा पनि नेपालका लागि धेरै विकेट लिने बलर हुन् ।

कुशल मल्ल एक अलराउण्डर हुन् । उनले एकदिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । यसका साथै उनी एक किफायती बलर पनि हुन् । उनले घरेलु मैदानमा भएकाे त्रिकाेणात्मक एकदिवसीय सिरिजमा अमेरीकाविरुद्ध डेब्यू गरेका थिए । यस्तै टी-२० अन्तर्गत सिङ्गापुरमा भएकाे त्रिकाेणात्मक सिरिजमा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।

अफगानिस्तानबाट यो सूचीमा पर्ने खेलाडीमा मुजिब उर रहमान र साफिकुल्लाह घफारी रहेका छन । यस्तै पाकिस्तानबाट हइदर अली र रोहित नाजिर रहेका छन् । दक्षिण अफ्रिकाबाट ब्रास पार्सन्स छन् भने स्कटल्याण्डका टम माकिन्टोन र इङ्ग्ल्याण्डका हमिदुल्लाह कद्री सूचीमा परेका छन् ।

बङ्गलादेशका रोसिफुल इस्लाम र रकिबुल हसन उत्कृष्ट युवा खेलाडीको सूचीमा छन् । अस्ट्रेलियाका तनविर संघा र यूएईका जोनाथन फिगी तथा वेस्ट इण्डिजका जयडेन सिल्स युवा उत्कृष्ट खेलाडीको सूचीमा परेका छन् ।

द नेशनलले यो सूची उमेर समूहमा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनकाे आधारमा तयार गरेको हो । यसमा प्रायः सबै खेलाडी १९ वर्षको हाराहारीमा रहेका छन् । नेपालका कुशल मल्ल र स्कटल्याण्डका टम मात्र सबैभन्दा कम उमरेका रहेका छन् । दुवैको उमेर १६ वर्ष उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया