वैदेशिक रोजगार, कोरोना र अबको बाटो

 जेठ १६, २०७७ शुक्रबार ११:४४:३६ | रमेशबहादुर शाहु

रोजगारीका लागि विदेश जाने पुरानो चलन हो । इतिहास हेर्दा कोही पढ्न त कोही अन्य कुनै निहुँमा हिन्दुस्तान गएको उदाहरणहरु पढ्न र सुन्न पाइन्छ । पाकिस्तानको लाहोरमा सैन्य क्याम्पमा भर्ना हुन नेपालीहरु जाने प्रचलनले गर्दा नै नेपालीहरुलाई तत्कालीन समयमा लाहुरे भनी सम्बोधन गर्ने गरिन्थ्यो । जुन चलनचल्तीको भाषामा अहिले पनि छ । 

बिस्तारै नेपालीहरु बेलायत र भारतको पल्टनमा भर्ना हुन थाले । योसँगै औपचारिक रुपमा कामका लागि नेपालीहरु विदेश जाने परम्पराले स्थान पायो ।  हिन्दुस्तान बाहेकका देशहरुमा सन् १९९० को दशकको अन्त्यतिर नेपालीहरु वैदेशिक रोजगारका लागि गएको पाइन्छ । पहिलो गन्तव्य हिन्दुस्तान भए पनि पछिल्लो समय मलेसिया र मध्यपूर्वका विभिन्न देशहरु नेपालीको रोजगारीको पहिलो रोजाइ बनेको छ ।

अहिले नेपालले ११० देशलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ, भने व्यक्तिगत तवरले झण्डै १७० देशमा नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् ।

विशेषगरी साउदी अरब, यूएई, कतार, कुवेत र मलेसिया धेरै नेपालीहरु जान्छन् ।

तर यी देशमा अदक्ष श्रमिक नै धेरै जाने गरके सरकारी तथ्याँक छ । यिनै देशबाट नेपालीले कमाएर पठाएको पैसा (रेमिट्यान्स)ले नै देशको अर्थतन्त्र धानेको छ । घर घरको चुलो बलेको छ । नेपाली देश छाडेर परदेश जानुको कारण एक मात्र छैनन् । 

भौगोलिक विविधता अनि निर्वाहमुखी कृषि व्यवसाय ग्रामीण नेपालीहरुको रोजगारीको मुख्य पाटो हो ।

विगत केही वर्षयता कृषि व्यवसायबाट जीवन निर्वाह गर्न धौधौ परिरहेको छ । शिक्षा प्रणाली पनि रोजगारमुखी छैन । 

सरकारले पनि युवा वर्गलाई छुनेगरी कार्यक्रमहरु तय गर्न नसक्नु र युवाहरुमा छिट्टै सम्पन्न हुने महात्वाकांक्षी अभिलाषा, देशभित्रको राजनीतिक अस्थिरता, स्वदेशमा रोजगारीका अवसरको कमी र महत्वहीन राजनीतिक गतिविधी जस्ता कारणले वैदेशिक रोजगारी छनौटको विषय बनेको छ ।

अहिले नेपालले ११० देशलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ, भने व्यक्तिगत तवरले झण्डै १७० देशमा नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् ।

ग्रामीण होस वा सहरी, न्युन आयस्तर होस वा उच्च हरेक नेपालीहरुका लागि रोजगारीको गन्तव्य क्षेत्र विदेश नै भएको छ । वैदेशिक रोजगार धेरैका लागि बाध्यता र थोरैका लागि रहरको विषय हो ।

परिवेश जस्तो सुकै भएता पनि यसले नेपालीहरुको जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान पुगेको छ । तर संसारभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणले यो क्षेत्रलाई पनि प्रभाव पारेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली र कोरोनाको प्रभाव

अहिले वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकमा धेरै समस्या देखिएको छ । मानसिक समस्या, शारीरिक समस्या, औषधि उपचारको समस्या जस्ता कैयौं समस्याहरुले प्रताडित छन् नै । योसँगै काम नहुँदा रोजगारबिहीन हुनु वा कामबिहीन हुनु, कम्पनीले बेतलवी बिदामा राखिदिनु, खान र बस्नको उचित व्यवस्थापन नगरिदिनु र अमानवीय व्यवहार देखाईदिनुले झनै हैरानी थपिएको छ ।

आममाफीमा सहभागी भएकाहरु घर फर्कने दिन कुरिरहेका छन् । कतिपय देश र कम्पनीले त नेपालीलाई तिम्रो बिमानस्थलसम्म पुर्‍याइदिन्छौं समेत भन्न थालेका छन् ।

यस अलवा आफूसँगै काममा रहेको कुनै अमुक देशको नागरिक उसको सरकारले ससम्मान घरफिर्तीको व्यवस्था गरेर घर फर्किरहँदा आफू घर फर्कन नपाउनु अर्को चोटिलो समस्या हो । उनीहरुमा कोरोनाले मरिन्छ भन्ने भन्दा पनि खान र बस्नुको चिन्ता छ । अपमान र घृणाको पीडा छ । 

आममाफीमा सहभागी भएकाहरु घर फर्कने दिन कुरिरहेका छन् । कतिपय देश र कम्पनीले त नेपालीलाई तिम्रो बिमानस्थलसम्म पुर्‍याइदिन्छौं समेत भन्न थालेका छन् ।

तर खै सरकार कहाँ अल्झिरहेको छ ? सरकारले जति ढिला गर्‍यो त्यति नै विदेशमा रहेका नेपालीमा समस्या थपिंदै जानेछ । त्यसैले यसतर्फ ध्यान दिन जरुरी छ । नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य देश खाडीमा कोरोनाको कारण नेपालीको ज्यान समेत गइसकेको छ ।

त्यहाँ रहेको नेपाली दूतावासका अनुसार साउदीमा मात्रै ७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । यस्तै, कतारमा एक जनाको कोरोनाको कारण ज्यान गएको छ । यूएईमा १८ जना नेपालीको कोरोनाको कारण ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्याँक छ । 

अबको बाटो

अहिले युवा वर्ग धेरैजसो बेरोजगार बस्न विवश छन् कि त कमाउन भन्दै विदेश गइरहेका छन् । उनीहरुमध्ये थोरैले मात्रै विदेशमा सम्मानजनक काम पाईरहेका छन र थिए । जब विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस फैलिन थाल्यो सबैलाई कुनै न कुनै रुपमा प्रभावित पार्न थाल्यो ।

अहिले घर फर्कनले बाटो बन्द हुँदा विदेशमा कतिबेला जहाज चल्ला र स्वदेश फर्कौंला भनेर लाखौं नेपाली कुरिरहेका छन् । कोरोनाकाल लम्बिदै जाने हो भने पक्कै पनि थुप्रै नेपाली युवा रोजगारी गुमाएर फर्कने पक्का छ । फर्कन मात्र नपाएका होइनन्, अहिले जान पनि पाएका छैनन् । 

सरकारी तथ्याँकलाई हेर्ने हो भने दिनहुँ झण्डै एक हजार युवा रोजगारीका लागि उड्थे । अहिले कोरोनाको कारण उनीहरु ठाउँठाउँमै छन् । त्यसैले अब हाम्रो जस्तो विकासोन्मुख देशले जनसांख्यिक लाभको भरपुर उपयोग गर्दै उत्पादनमुलक क्षेत्रमा युवा जनशक्ति परिचालनको लागि रणनीति तय गर्नुपर्छ । विदेश गएका युवालाई स्वदेश फर्काउने र स्वरोजगार बन्न प्रेरित गर्ने यो महामारी अवसर पनि बन्न सक्छ ।

तत्कालका लागि विदेशबाट फर्किएका युवालाई उत्पादनशील काममा  लगाउने, उनीहरुको अनुभवको सहि सदुपयोग गर्ने, कृषि व्यवसायलाई निर्वाहमुखी होइन, व्यवसायीकरण हुने वा औधोगिकरणमा बदल्ने गरी रणनीतिक कार्यक्रमहरु तय गर्ने, युवाहरुको सक्रियतालाई स्थानीय परियोजनामा जाड्दै अघि बढ्नु पर्छ । 

नेपालमै स्वरोजगारका कार्यक्रमहरु ल्याउने, बन्द भएका कलकारखानाहरुमा उपयुक्त लगानी लगाई सञ्चालनमा ल्याउने गर्नुपर्छ । अब यो जनसंख्यालाई स्वदेशमै कृषि, उद्योग, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्दछ ।

साथै वैदेशिक रोजगारबाट फर्किएकाको क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर सिर्जना गर्दै त्यही आधारमा रोजगारमुलक काममा खटाई राख्न उपयुक्त वातावरण (अनुदानका कार्यक्रम, सहुलियत, छुट सुविधा, ऋण सहुलियत) तयार गर्नुपर्छ ।

नेपालमै स्वरोजगारका कार्यक्रमहरु ल्याउने, बन्द भएका कलकारखानाहरुमा उपयुक्त लगानी लगाई सञ्चालनमा ल्याउने गर्नुपर्छ । अब यो जनसंख्यालाई स्वदेशमै कृषि, उद्योग, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्दछ ।

सरकारले तय गर्ने आगामी आर्थिक वर्षको बार्षिक बजेटमा कृषि, जलविद्युुत, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका जनसंख्यालाई आकर्षण गर्ने नीति ल्याउन सक्नु पर्दछ । कृषिमा विविधीकरण, व्यावसायीकरण, आधुनिकीकरण गर्दै जान ठोस कदम चालिनु पर्दछ । 

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ उपदफा २ मा, नेपाली रहेको देशमा युद्घ, महामारी, प्राकृतिक विपत्तीमा परी कामदारलाई तत्काल फिर्ता गर्न नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारीमार्फत श्रमिक फिर्ता गर्ने व्यवस्था मिलाउने छ भनी उल्लेख छ ।

सोही अनुसार पहिलो कदम अहिले वैदेशिक रोजगारमा रहेका र समस्यामा परिरहेका नेपाली श्रमिकलाई यथाशीघ्र नेपाल ल्याउनेतर्फ चालिनुपर्छ भने तत्पश्चात उनीहरुको क्षमता र अनुभवका आधारमा रोजगार वैकल्पिक मार्गको व्यवस्था गरेर स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्दै देशको विकासमा अगाडि बढ्नु पर्छ । 

दीर्घकालीन रुपमा नेपालको अर्थतन्त्र परनिर्भर हैन नेपाली मौलिकतामा निर्भर हुने गरी तय हुनु पर्दछ । अहिलेको माहामारी र भावी दिनमा हुन सक्ने यस्तै अन्य महामारीबाट हाम्रा आयआर्जनका क्षेत्र र हाम्रो आर्थिकस्तर प्रभावित नहुने गरी नेपाल सरकारको कदम अगाडि बढोस्, त्यस कार्यमा हामी सबैको साथ र सहयोग अवश्य हुनेछ ।

अन्तिम अपडेट: भदौ ७, २०७७

रमेशबहादुर शाहु

रमेशबहादुर शाहु प्रवासी नेपाली समन्व्य समिति(पीएनसीसी) मा कार्यक्रम अधिकृत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया