बुन्डेसलिगा : बायर्नको लगातार तेस्रो जित

 जेठ १८, २०७७ आइतबार ९:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुन्डेसलिगामा शिर्ष स्थानको बायर्न म्युनिखले कोरोना भाइरसको सङ्क्रमणपछि फेरि सुरु भएको लिगमा लगातार तेस्रो जित निकालेको छ ।

आज भएको खेलमा बायर्नले रेलिगेसन जोनमा रहेको फर्च्युना डुसलडर्फलाई ५-० गोलले हरायो ।

घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । जितसँगै बायर्नले आफ्नो उपाधिको यात्रालाई निकै बलियो बनाएको छ ।

एकतर्फी जस्तो बनेको खेलको १५ औं मिनेटमा बायर्नले उपहार गोलमा अग्रता बनायो । फोरटुनाका जोरगेनसेनले आत्मघाती गोल गर्न पुगे । त्यसपछि २९ औं मिनेटमा पाभार्डले उत्कृष्ट गोल गर्दै टिमको अन्तर दुई शुन्यमा पुर्याए । उनले किमिचको पासको सदुपयोग गरेका थिए ।

खेलको ४३ औं मिनेटमा बायर्नले तेस्रो गोल गर्यो । यसपटक उसका लागि रोबेर्ट लेवान्डोस्कीले गोल गरे । उनले थोमस मुलरको पासको सदुपयोग गरेका थिए ।

पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा दुई गोल थप्यो । ५० औं मिनेटमा फेरि लेवान्डोस्कीले गोल गर्दै अन्तर चार शून्यमा पुर्याए । त्यसपछि ६२ औं मिनेटमा डाभिसले बायर्नका लागि पाँचौ गोल गरे ।

बाँकी समयमा दुबै टिमबाट थप गोल हुन सकेन र बायर्नले जारी सिजनमा २१ औं जित निकाल्यो । यो जितसँग उसले तालिकाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता बनाएको छ ।

एक खेल कम खेलेको डर्टमण्डको ५७ अंक रहेको छ । यो जितले बायर्नको उपाधि यात्रा निकै बलियो भएको छ भने रेलिगसेनमा रहेको फर्च्युनाको दोस्रो डिभिजनमा झर्ने खतरा बढेको छ । उसको २७ अंक रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया