कर्णाली प्रदेश : पालिकाहरुमै आइसोलेशन कक्ष बनाउने तयारी

 जेठ २०, २०७७ मंगलबार ६:५७:३० | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा पालिकामै आइसोलेशन कक्ष बनाउने तयारी गरिएको छ । 

कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा आइसोलेशन कक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशका २४ ठाउँमा एक हजार ६० बेडको आइसोलेशन कक्ष बनाउने  निर्णय गरेको समाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशमा सोमबारसम्म एकसय २३ जनाका कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुने प्राय गाउँकै क्वरेन्टीनमा बसेका छन ।  सरकारले स्थानीय तहमै उपचारको व्यवस्था गर्नका लागि तयारी थालेको मन्त्री रावलले जानकारी दिनुभयो । 

उहाँले यसका लागि तत्तकाल  चार करोड ९३ लाख  बजेट स्थानीय स्तरमा निर्माण गरिने आइसोलेशनका लागि पठाउने निर्णय भएको बताउनुभयो ।  
लक्ष्ण नदेखिएका सङ्क्रमितलाई स्थानीय स्तरमै उपचार गर्ने र क्रिटिकल अवस्थामा आएकालाई विशिष्ट अस्पतालमा ल्याउने गरी सरकारले तयारी थालेको उहाँको भनाई छ ।

उहाँका अनुसार सल्यान कुपिण्डेमा देवस्थलमा एकसय बेड, बागचौर २ मा  र  कपुरकोट ३ मा धनबाडा स्वास्थ्य चौकीमा ५०-५० बेडको आइसोलशन बनाइनेछ । 

यस्तै जाजरकोटमा दुई ठाउँ छेडागाडको दशेरा स्वास्थ्य चौकी र त्रिवेणी नगरपालिकाको दल्ली प्राथमिक स्वास्थ्य केन्द्र ५०-५० बेडको आइसोलशन कक्ष र  रुकुमपश्चिम आठबिसकोट नगरपालिकामा ५० बेडको आइसोलेशन कक्ष बनाउने तयारी गरिएको छ । 

सुर्खेतको पञ्चपुरीको सालकोटमा ५०, चौकुने गाउँपालिका ३०, गुर्भाकोट नगरपालिकाको मेहेलकुना अस्पतालमा ५०, चिनगाड गाउँपालिकाको अवलचिङमा ५०  र वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एउटा भवनमा ५० बेडको आइसोलेशन कक्ष बनाउने तयारी  गरिएको छ । 

 दैलेखको नारायण नगरपालिकाको नारायण  क्याम्पसमा, ठाटीकाँध गाउँपालिकाको लकान्द्रा प्राथमिक स्वास्थ्य केन्द्रमा  र  आठबिसकोट गाउँपालिकाको राकम  कर्णाली स्वास्थ्य चौकीमा,  र  दुल्लु नगरपालिकाको दुल्लु अस्पतालमा ५०-५० बेडको आइसोलेशन कक्ष तयार गर्ने भनेर निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । 

कालिकोटको पचलाझरना गाउँपालिकाको राम्नाकोट स्वास्थ्य चौकी, तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिकामा ५०-५० बेडको आइसोलन बनाउने तयारी  छ । 

जुम्लाको तातोपानी गाउँपालिका र  सिजा गाउँपालिकामा ५०-५० बेडको आइसोलशन कक्ष बनाउने तयारी गरिएको छ । तत्काल कोरोना परीक्षणका लागि ६ हजार किट किन्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । 

सोमबार प्रदेशसभामा बोल्दै मन्त्री रावलले अझै पनि कोरोना नियन्त्रण गर्न सकिने भन्दै सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । समुदायमा कोरोना सङ्क्रमण नफैलिएकोले समुदायमा हुन नदिन सबैको सहयोग आवश्यक रहेको उहाँको  भनाई छ ।  

मन्त्री रावलले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकार प्रयत्न गरिरहेको बताउनुभयो । हालसम्म प्रदेशमा पाँच सय ५० आइसोलेशन बेड तयारी अवस्थामा रहेको छन ।

‘भारतबाट नागरिक आफ्नो ठाउँमा आउन थालेपछि कोरोना सङ्क्रमण सँगै आयो । सरकार रोकथाम, नियन्त्रण र उपचारमा लागिपरिरहेको छ’ उहाँले भन्नुभयो,  ‘ यसका लागि सिंगो सरकार, सदन र नागरिकको सहयोग आवश्यक छ । 

तयारी ढिलो भएको होइन  । हामीले आंकलन गरे भन्दा पनि बढी नागरिक आएपछि हाम्रो क्षमताले नभ्याएको हो । अब हामी सबैको सहयोगको आवश्यक छ ।’ उहाँले  कोरोना प्रतिकार्यकै लागि हालसम्म प्रदेश सरकारले१६ करोड २५ लाख बजेट उपलब्ध गराइसकिएको जानकारी दिनुभयो । 

रोजगारीको  लागि भारत गएका  फर्किन थालेपछि कर्णालीमा कोरोनाको जोखिम बढेको छ । हालसम्म २२ हजार ८३ जना क्वरेन्टीनमा छन् । क्वरेन्टीनमा  २९ हजार ३७  बेड संख्याको क्वारेन्टीन, प्रदेश भर ४४ वटा आईसियू तयारी अवस्थामा छन् ।

हाल प्रदेशमा तीन वटा पीसीआर मेसिन  भएकाले  अब दुई वा मेनिस थप्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सुर्खेत र  दैलेखमा पीसीआर मेसिन थप्ने तयारी गरिएको उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया